पाखण्ड

भारतको मध्यप्रदेश । त्यसको सामान्य रेल्वे स्टेसन, जवलपुर । त्यो सानो रेल्वे स्टेसनमा एक जना १७ वर्षको युवा रूसी शासक लेनिनले लेखेको एउटा प्रसिद्ध पुस्तक एक घन्टादेखि गम्भीर रूपमा पढिरहेको थियो ।

त्यो स्टेसनमा भारत कम्युनिस्ट पार्टीका संस्थापक मानवेन्द्र नाथ राय केही कार्यकर्तासँगै रेल कुरेर बसिरहेका थिए । उनको आँखा घरी–घरी त्यो पुस्तक र युवामाथि परिरहेको थियो । उनी त्यो युवकको पुस्तकप्रतिको तल्लीनता देखेर आश्चर्यचकित भैरहेका थिए । केही समयपछि उनी चुरोट सल्काउँदै युवकको अघि गएर भने, ‘बाबु, म तिमीलाई अघिदेखि ध्यान दिइरहेको छु । तिमीलाई थाहा छ, यो पुस्तक मेरो मित्र लेनिनले लेखेको हो ।’

युवकले आश्चर्यपूर्वक ती पौढ व्यक्तिलाई हेर्‍यो । युवकले ती व्यक्तिका बारेमा कतै पढेको थियो । युवकले भन्यो, ‘अँ मैले तपाईंलाई चिनेँ, सम्भवत: तपाईं मानववेन्द्र राय हुनुपर्छ ।’
‘हो, तिमीले ठीक भन्यौ ।’ रायले भने, ‘तिम्रो युवा जोस र अध्ययन देखेर तिमीलाई हाम्रो पार्टीमा आमन्त्रण गर्छु ।’

‘तपाईं जीवनमा असफल हुनुभएको छ, के मलाई पनि असफल बनाउन चाहनुहुन्छ ?’ युवकको प्रश्न ।
मानवेन्द्रलाई अनौठो लाग्यो । वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओका साथी पनि रहेका ती पौढलाई कसैले यति ठाडो रूपमा ‘असफल व्यक्ति’ भन्ने आँट गरेको थिएन । तैपनि वास्तवमा उनी असफल थिए । भारतमा चीन र रूसजस्तै कम्युनिस्ट शासन ल्याउने उनको धोको दिनानुदिन पर धकेलिँदै गएको थियो । भद्र मानिस भएकाले उनले सजिलै स्वीकार गरे ।

‘हो, मैले समाजमा जे परिवर्तन गर्छु भनेर लागेको थिएँ, त्यो सकिनँ तर मैले हार खाएको छैन । मलाई तिमीहरूजस्ता अध्ययनशील युवक चाहिएको छ ।’

‘यो समाजमा सफल हुन अध्ययनशील हुनुपर्दैन, पाखण्डी भए पुग्छ । म माक्र्सवादको सामान्य विद्यार्थी हुँ । त्यसैले तपाईंजस्तो महान् व्यक्तिको पछि लाग्ने हैसियत पनि छैन । मेरो उमेर पनि होइन । तैपनि तपाईंको व्यक्तित्व देखेर म एउटा सुझाव दिन चाहन्छु ।’
‘कस्तो सुझाव ?’ मानववेन्द्रले चासो देखाए ।

‘हाम्रो जस्तो समाजमा जो मानिस पाखण्डी हुन सक्दैन, ऊ सफल नेता हुन सक्दैन । जसरी गान्धीले सुट टाई छाडेर धोती लगाउन थाले र सफल भए, त्यसैगरी तपाईं पनि कुनै पाखण्डी पहिरन लगाउनुहोस्, पाखण्डी हाउभाउ देखाउनुहोस् । जस्तो तपाईं मेरा अगाडि चुरोट खाँदै हुनुहुन्छ । यो त तपाईंले ट्वाइलेटमा लुकेर खाने हो । अनि हामी जस्ता युवकलाई चुरोट खानु हुन्न भनेर अर्ती दिनुपर्ने हो । सम्भवत: तपाईं देखावटी काम गर्न सक्नुहुन्न, त्यसैले असफल हुनुहुन्छ ।’
०००

यो संवादपछि मानवेन्द्रले ती युवकलाई सधैंका लागि मार्गदर्शक माने । उनले कम्युनिस्ट पार्टी नै छाडिदिए । मृत्युअघि उनले भनँे, ‘कम्युनिस्ट दर्शन सुन्न र पढ्न राम्रो छ तर व्यवहारिक रूपमा यसलाई लागू गर्न कठिन छ । यो कुरा बुझाउन रेल्वे स्टेसनमा भेटिएको एउटा युवकले मलाई लामो समयपछि यथार्थता देखाइदिए । उनलाई धन्यवाद ।
ती युवाको नाम थियो— रजनीश ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects