माघ ५, २०७२- राति छिमेकीको घरमा चोर पस्यो । टो.लभरि होहल्ला । भागदौड, चिच्याहट, डाङ्डाङ–डुङडुङ, हार–गुहार । अन्त्यमा चोर समातियो । नजिकैको प्रहरी चौकीमा खबर गरियो । दुई जना पुलिस आए र चोरलाई लगे ।
यो त भयो एउटा घरभित्र पसेको चोर, जो भौतिक सामान चोर्न गएको छ ।
अब म प्रश्न राख्न चाहन्छु— के र कति चोर्नेलाई चोर मान्ने ?अथवा नमान्ने ? गल्लाबाट दुई रुपैयाँको ढ्याक चोर्ने पनि चोरै हो, घर फोरेर, दराजबाट सुनचाँदी चोर्ने पनि चोरै हो । चोर त आखिर चोर हो ।
मलाई यहाँ कुरा गर्न मन लागेको चोरी भने अलिक नौलो चोरीको हो । त्यो हो— सिर्जनाको चोरी । भौतिक सामान चोर्ने चोरजत्तिकै अपराधी हो कसैको सिर्जनाको चोरी गर्ने मान्छे, तर हाम्रो समाजले सिर्जनाको उचित कदर गर्न सकेको छैन र जहाँ जुन चीजको कदर हुँदैन त्यसको चोरीलाई चोरी नमान्ने परम्परा बस्नु अस्वाभाविक पनि होइन ।
हामी फेसबुक चलाउँछौँ, ट्वीटर चलाउँछौँ, सबैलाई केही न केही लेख्न मन लाग्छ । लेख्न मन लाग्ने मात्र होइन, आफूले लेखेको कुराले वाहवाही पाउँदा खुसी लाग्छ । कसैलाई तस्बिर हाल्न मन लाग्छ । फेसबुकमा धेरै भन्दा धेरै लाइक, कमेन्ट वा सेयर पाउन मन लाग्छ, ट्विटरमा रि–ट्विटको वर्षात् होस् भन्ने लाग्छ । यही लोभले धेरै मान्छेलाई चोर बनाएको हुन्छ । कसैले मेहनत गरेर लेखेको पंक्ति चोरेर हालिदिन्छ र वाहवाही खान्छ । कसैले अरूले दु:ख गरेर खिचेको तस्बिरलाई आफ्नै हो झैँ सार्वजनिक सञ्जालमा चोरेर हालिदिन्छन् अनि पाएको वाहवाहीको जवाफमा ऊ लाज पचाएर धन्यवाद पनि भनिरहेको हुन्छ ।
सम्भवत: हामीमा संस्कार नभएको हुन सक्छ । अर्काको सिर्जना चोरेर आफ्नो सिर्जना बनाउनु भनेको ठ्याक्कै मैले माथि उल्लेख गरेको चोरीभन्दा फरक छैन । यो चोरी सजिलो किन भैदियो भने रातारात पुलिस बोलाएर पक्राउने कानुन भएन । भोलि सत्य कहीँबाट चुहिन्छ । कानुन छैन, त्यसैले त्यसको फन्दाबाट आफूलाई त मान्छेले जसरी बचाउला, तर अलि–अलि भएको लाजसरम कसरी पचाउला ?
कसैको भनाइ राम्रो लागे, कसैले खिचेको तस्बिर राम्रो लागे, कसैले बनाएको चित्रले मन छोए पक्कै पनि त्यो कुरा आफूले प्रयोग गर्न पाउनुपर्छ, तर त्यसका सर्जकलाई उल्लेख गरेर । यो भनाइ फलानोको हो अथवा यो चित्र फलानोको हो, यसले मेरो मन छोयो है भन्दा कोही पनि सानो हुँदैन । सानो वा गिरेको त त्यतिबेला ठहर्छ जब कसैले उसको चोरी पक्रिन्छ तर चोरी पक्रिइँदा पनि मान्छेहरू ‘राम्रो लागेर प्रयोग गरेको’ भनेर पन्छिन खोज्छन् । कसैलाई तपाईंले २० हजार रुपैयाँ हालेर किनेर ल्याएको घरको बैठक कोठाको भित्तामा टाँगिएको पेन्टिङ मन पर्ला, त के ? उसले खुसुक्क तपाईंको बैठक कोठामा छिरेर उठाएर लगिदेओस् ?
मैले देख्ने गरेको छु, यहाँ धेरै लेखक, पत्रकार वा वरिष्ठ कहलिएका मानिसहरू छन् जो अरूको सिर्जनालाई खुसुक्क चोरेर आफ्नो नाउँको खोल हालेर (वा नहालेरै) बिकाइरहेछन् । सम्मान पाउनलाई सम्मान दिन जान्नुपर्छ, चाहे अरूको व्यक्तित्वको सम्मान गरेर होस् वा सिर्जनाको । सकिन्छ आफैँ सिर्जना गर्ने प्रयास गरौँ, सकिँदैन अरूको सिर्जनाको सापटी लिए पनि पुछारमा उसको नाउँ हालिदिएर उसको सम्मान गर्ने गरौँ ।
तपाईंले महिनाभरि लगाएर मेहनत गरेर कमाएको पैसा अरूले चोरिँदिँदा कस्तो लाग्छ ? हो, ठ्याक्कै त्यस्तै हुन्छ एउटा सर्जकलाई निकै समय लगाएर बनाएको उसको सिर्जनालाई कसैले आफ्नो भनेर फैँलाउँदा । एउटा सर्जकको वास्तविक सम्पत्ति भनेकै उसको सिर्जना हो । अरूको सिर्जनाको कदर गरौँ ।



0 comments:
Post a Comment