जाडोसँग डराउने नम्रताले शुटिङ छुटाइन्

काठमाडौं । जाडो कहिले सकिएला र मज्जाले काम गरौंला जस्तो भएको छ नायिका एवं मोडल नम्रता सापकोटालाई । जाडोमा औंला सुन्निने समस्याले उनी हैरान छिन् । जाडोकै कारण शुटिङ छुटाउँदा उनले आर्थिकरुपमा समेत घाटा व्यहोरेकी छिन् ।

हरेक वर्ष क्रिसमस सुरु भएलगत्तै जाडो बढेको महसुस हुन्छ उनलाई । यसपालि पनि त्यस्तै भयो । ‘यसपालि पनि क्रिसमस सुरु भएपछि जाडो बढेको जस्तो लाग्यो ।’ अनलाइनखबरसँग नम्रताले भनिन् ‘अहिले त अभिनयको कामै छाडेर बसेकी छु ।’

हरेक वर्ष जाडोयाममा दुई हप्ता कामै छाडेर बस्ने गरेकी छिन् उनी । जाडोकै कारण जनवरी फष्टमा पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन सकिनन् जसले गर्दा चारवटा म्युजिक भिडियोको प्रस्ताव अस्वीकार गर्नुपर्‍यो । उनी भन्छिन्- ‘चारमध्ये दुईटा म्युजिक भिडियोको सुटिङका लागि नैनीताल जानुपर्छ भन्नुभएको थियो, मलाई त जाडोमा आँटै आएन ।’ नेपालमै सुटिङ गरिने अरु दुई भिडियो पनि उनले जाडोकै कारण छोडिन् ।

औंला सुनिने समस्या

प्रायः जाडोयाममा एलर्जीले गोडा र हातका औंला सुन्निने समस्या छ नम्रताको । अहिलेसम्म घरेलु उपचारले नै काम गरेको छ । आमाले बनाइदिएको आयुर्वेदिक औषधीले समस्या समाधान हुने गरेको उनी बताउँछिन् । उनी झोल कुरा प्रशस्त खान्छिन् ।

नम्रता अरुलाई पनि जाडोबाट बच्न सुझाब दिंदै भन्छिन् ‘चिसोवाट जोगिन तातो झोलिलो कुरा प्रसस्तै खानुपर्छ ।’

ग्यासको अभावले ग्यास हिटर बाल्न नपाएकी नम्रताको घरमा लोडसेडिङ धेरै हुँदा इलेक्टि्रक हिटरको पनि प्रयोग कम भएको छ ।

जाडो भगाउन भन्दै हरेक साँझमा कौशीमा दाउरा बाल्ने गरेकी छिन् उनले । एकछिन कौशीमै आगो ताप्ने गरेकी नम्रता कोइला बलेपछि मकललाई कोठामै ल्याउँछिन् । तर, राति मकल बालेर सुत्नुहुँदैन भन्नेमा उनी सचेत छिन् ।

फोटोसुट गर्दा बिरामी

फोटोसुट गर्दा एक हप्ता बिरामी परेको घटना नम्रता कहिल्यै बिर्सन्नन् । दुई वर्ष अगाडि हो । फोटोसुटको प्रस्तावमै सहजै स्वीकारिन् । स्टुडियोमै फोटो सुट गर्दा खासै गार्‍हो हुँदैन जस्तो लागेको थियो उनलाई ।

बिहान साँढे पाँच बजे नै घरवाट निस्किइन् । बाहिर अँध्यारै थियो । फोटोसुट पनि सहजै गरिन् । बेलुका यस्तो गार्‍हो भयो, बिहानको चिसोले सताएको कुरा बेलुका मात्रै थाहा पाइन् ।

त्यसपछि एक हप्तासम्म ओछ्यान लगाएरै सुत्नुपरेको थियो । उनी भन्छिन् ‘त्योबेला निकै गार्‍हो भयो, एक हप्ता घरबाट बाहिर निस्कनै सकिँन ।’

नम्रताको अनुभवले भन्छ, जाडोबाट जोगिन खानपान र लवाइमा विषेश ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म धेरै झोल पदार्थ खान सुझाब दिने नम्रता बाक्लो लुगा लगाएर हिँड्न आग्रह गर्छिन् ।

प्राय स्कुटीमा हिँड्ने गरेकी यी नायिकाले जाडोको दुई महिना बाक्लो ज्याकेट नछुटाउन सुझाव दिइन् ।

जाडो भन्दा गर्मी नै ठीक

त्यही कारण हो अचेल अत्यधीक चिसो भएको बेला कामै छाडेर बस्छिन् । गर्मीयाम उनलाई त्यति अप्ठयारो लाग्दैन । जाडोको तुलनामा गर्मी धेरै सहज हुन्छ जस्तो लाग्छ उनलाई । उनको बुझाइमा गर्मीमा विकल्पहरु धेरै हुन्छन् । घरमै बस्दा फ्यान चलाउन पाइन्छ । बाहिर सुटिङमा जाँदा पनि शीतलमा बसेर आराम गर्न पाइन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects