Second Menu

त्यो क्षण सम्झन चाहन्नँ– बिन्दु परियार

नेपाली पोर्न स्टारका रूपमा प्रचार गरिएकी पोखराकी युवती बिन्दु परियारको पक्षमा अमेरिकी अदालतले फैसला गर्दै उनको पूर्वश्रीमान् टम रान्डेल सेवेलवाट ७२ लाख अमेरिकी डलर क्षतिपूर्ति गराएको छ । बिन्दुलाई नेपालबाट अमेरिका पुर्‍याई जबरजस्र्ती पोर्नस्टार बनाएको ठहर गर्दै उनको पूर्वश्रीमान् बिरुद्ध अदालतले उक्त फैसला गरेपछि उनले आफ्नो ब्यक्तिगत जीवन र आफुले भोगेका पिडाका दिनहरुका वारेमा यसरी बताईन् ।

मिडियामा आफ्ना बारेमा चर्चा भैरहेको कस्तो लागिरहेको छ ?
म यसलाई अन्यथा मान्दिनँ, सत्य कुरा बाहिर आएकोमा बरु मलाई ढुक्क लागेको छ । मेरो जीवनमा जे भएको थियो त्यो बाहिर आइदिएर मलाई दुख बिसाएझैं महसुस भएको छ ।

तपाईंको पक्षमा कस्तो फैसला भयो ?
अहिलेसम्म अपलोड गरिएका सबै भिडियो तथा तस्बिर हटाउने र क्षतिपूर्तिस्वरूप ७ दशमलव २५ मिलियन अमेरिकन डलर मैले पाउने भन्ने फैसला अदालतले गरेको छ ।

अदालतले गरेको फैसलाले तपाईंप्रति न्याय गरेजस्तो लाग्छ ?
अदालतले मेरो पक्षमा फैसला गरेकोमा खुसी छु । किनभने मैले आफ्नो इज्जत गुमाएको महसुस गरिरहेको अवस्थामा अदालतले सही निर्णय गरेर मप्रति न्याय गरेको छ । हुनत मेरो इज्जत फर्केर आउँदैन, तर वकिलसँग मिलेर भिडियो र तस्बिर हटाउन पाए मैले आफूलाई खुसी राख्न सक्ने थिएँ ।

तपाईंको वशमा भएको भए टमलाई कस्तो सजाय दिनुहुन्थ्यो ?
समातेर जेल हाल्न अपराध अनुसन्धान गर्नुपर्छ, अहिले त्यो सम्भव छैन । यद्यपि उसले अरू भिडियो वा तस्बिर अपलोड गर्‍यो भने ऊ सीधा जेल जान्छ ।

पोखरा हेम्जाको आफ्नो बाल्यकाल सम्झँदा के–के कुरा तपाईंका मनमा आउँछन् ?
म सानैदेखि नाच्न निकै सौखिन थिएँ । निकै नाच्थेँ पनि । कक्षा १ देखि १२ सम्म पढेँ पोखरामा, तर म आमाबुबासँग कहिल्यै बस्न पाइनँ । आठ वर्ष होस्टल बसेँ । सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा खुबै नाच्थेँ । अभावका बाबजुद पनि मेरो जीवनमा यत्रो ठूलो पहिरो गएको थिएन ।

टमसँग तपाईंको सानैदेखिको चिनजान हो ?
हो, मेरो परिवार र मेरो जीवनमा उसले ठूलो भूमिका खेलेको थियो । कक्षा १ देखि १२ सम्म पढ्न उसैले मद्दत गरेको हो । म उसलाई धेरै विश्वास गर्थें । मेरी ममीकी बहिनीसँग विवाह गरेको थियो उसले । उहाँहरूबीच डिभोर्स भयो । त्यसपछि मर्छु भन्यो हाम्रो परिवारका अगाडि । मैले नै उसलाई पढेर बुढेसकालमा सहयोग गर्छु पनि भनेकी हुँ ।

अमेरिका जाने योजना कसरी बन्यो त ?
कक्षा १२ को अध्ययन सकेपछि अमेरिका जाने मेरो योजना थियो । म सानैदेखि अमेरिका जाने सपना पालेर बसेकी थिएँ । त्यहाँ गएर नर्सको अध्ययन पूरा गर्ने मेरो योजना टमलाई थाहा थियो । जब विद्यार्थी भिसामा जाने कुरा उसलाई भने, उसले मानेन । कुनै पनि कुराले समस्या नहुने भनेपछि ऊसँग नक्कली कागजी विवाह गरेर म अमेरिका आएकी हुँ ।

त्यसपछि अमेरिकामा कसरी दिन बित्न थाले ?
सुरुमा चाहिँ म अमेरिकाको मन्टेन सहर पुगें, जुन नेपालजस्तै छ । त्यहाँका डाँडाकाँडा नेपालकै जस्तो लाग्यो । खुसी लाग्यो, आफ्नो सानैदेखिको सपना अब पूरा हुने भयो भनेर म मख्ख थिएँ, तर अमेरिका आइपुगेको दुई महिनापछि नै टमले ममाथि अत्याचार गर्न थाल्यो । सुरुमा एक जना वृद्धाको हेरचाह गर्ने काममा लगायो । पछि त पैसा कम भयो, भएन, तैँले आफूले खर्च गरेको पैसा पनि उठ्दैन, गाडीमा तेल हाल्न पनि पुग्दैन भन्दै मलाई होटलमा काम गर्न पढाउन थाल्यो । यसैगरी घरमा पनि ब्याचलर पार्टी भन्दै विभिन्न प्रकारका केटाहरू आउन थाले । टम पनि रातभर पिउन थाल्यो । मलाई उनीहरूसँग सेक्स गर्न र भिडियोमा भनेअनुसार पोज दिन लगाउन थाल्यो । नगरौं त मेरो ज्यानको रिमोट नै उसको हातमा थियो । मलाई त्यहाँका बारेमा केही पनि थाहा नभएपछि के गर्ने भन्ने कुरा पनि दिमागमा आएन ।

अन्य कस्तो दुव्र्यवहार सहनुभयो ?
धेरै छन्, उसले मलाई अमेरिकामा स्तन सर्जरी अनिवार्य छ भन्दै थाइल्यान्ड पुर्‍यायो । त्यहाँ मैले स्तन सर्जरी पनि गराएँ ।

स्तन सर्जरी किन गर्नुभएको नि ?
मैले आफ्नो इच्छाले गराएकी होइन । राम्रो भएन, आकार पनि मिलेन भन्यो । मैले हँुदैन, गर्दिनँ, मलाई नेपाल पठाइदिनु भन्दा पछि फेरि निकाल्न मिल्छ भन्यो । म बाध्य थिएँ । अझ थाइल्यान्डमा मलाई विभिन्न क्लबमा नाच्न अर्‍हायो, मैले उसका सबै कुरा मानेँ । नमानेर धर पनि थिएन । कसरी नेपाल फर्कने, कुनै सम्भावना नै थिएन ।

तपाईंलाई कहिलेदेखि अब चाहिँ लड्नुपर्छ भन्ने लाग्यो ?
टम मलाई नराम्रोसँग कुटेर भाग्यो । क्लबका मान्छेले प्रहरी बोलाएपछि प्रहरीले नै मलाई अस्पताल पुर्‍यायो । पछि त्यहाँका डाक्टर तथा सुरक्षाकर्मीले काउन्सिलिङका लागि बोलाए, जहाँ फेमिली सेन्टरमा काम गर्ने कर्मचारी नेपाली महिला हुनुहुन्थ्यो । उहाँले मलाई महिला हिंसाविरुद्ध केस फाइल गर्न सल्लाह दिनुभयो । सोहीअनुरूप ममाथि भएको हिंसासम्बन्धी सबै कुरा यथार्थ हो भन्ने भएपछि कुरा बाहिर आयो । त्यसपछि, बिस्तारै केस अदालतसम्म पुग्न सकेको हो ।

कति वर्ष टमले तपाईंमाथि हिंसा गर्‍यो ?
म माथि पूरा दुई वर्ष हिंसा भयो, जसका सबै कुरा म शब्दमा व्यक्त गर्न सक्दिनँ । नारकीय जीवन भोग्न बाध्य भएँ म ।

तपाईंलाई आफूले कहिल्यै गलत गरें भन्ने भन्ने लागेको थियो कि ?
थियो, कसैप्रति धेरै विश्वास गर्नु हँुदैन भन्ने लागेको थियो । यसैगरी नेपालमा बसेर अमेरिकाको सपना देख्नु गलत थियो भन्ने लाग्थ्यो । धेरै छन् यस्ता कुरा, जुन म भन्न पनि सक्दिनँ ।

नेपाली युवती अमेरिकामा गएर पोर्न स्टार भइन् भन्ने खबरचाहिँ कसरी थाहा पाउनुभयो ?
जब मैले केस फाइल गरेँ त्यसपछि उसले मलाई धम्क्याउँदै फोटो तथा भिडियो अपलोड गर्दाे रहेछ, पछि एक दिन मिडियामार्फत नै मैले यो कुरा थाहा पाएँ । म पागलजस्ती भएँ । नेपालमा भएका मेरा बाआमाको इज्जत माटोमा मिल्यो भन्ने लाग्यो । अहिले त्यो क्षण सम्झन पनि चाहन्नँ ।

परिवार तथा आफन्तले के सोचे होलान् जस्तो लाग्यो, जब तपाईंको भिडियो भाइरल भयो ?
यो मान्छेले यसरी भिडियो अपलोड गर्ला भन्ने त कल्पना पनि गरेकी थिइनँ । भिडियोमा भनेझैं नगरौं त उसको डर थियो । कुटपिट अति नै गथ्र्याे । एक दिन किन यसरी भिडियो बनाएको भन्दा तैँले मलाई छोडिस् भने आफूलाई हेर्नका लागि बनाएको भनेको थियो । मेरो जीवनमा यति ठूलो घात गर्ला भन्ने त सोचेकै थिइनँ ।

तपाईंले परिवारलाई सोचेजस्तो सहयोग गर्न सक्नुभयो त ?
पहिलो पटक काम गर्दा १ लाख पठाउन सकें । पछिचाहिँ टमले मलाई नै पैसा दिन छाड्यो । मैले कमाएको सबै उसैले लिन्थ्यो ।

त्यसपछिका दिनहरूमा कसरी अमेरिकामा टिक्नुभयो ?
एक जना अमेरिकी नागरिकले रुँदै होटलमा बसेको देखेर सोध्यो, मैले आफ्नो सबै वृत्तान्त सुनाएपछि उसैको सहयोगमा कहिले सेल्टर त कहिले क्लबमा बस्छु । काम गरिरहेकी छु । नर्सिङ पढ्न पनि थालेकी छु ।

अहिलेचाहिँ तपाईंको परिवारको प्रतिक्रिया कस्तो छ ?
मैले मुद्दा जितेकोमा आमाबुबा खुसी हुनुहुन्छ । धैर्य गरेर बस, हाम्रो साथ कहिल्यै टुट्दैन भन्नुहुन्छ । मैले पनि बाँचुन्जेल न्यायका लागि लड्ने अठोट गरेकी छु ।

अबको तपाईंको योजना ?
काउन्सिलिङ, मेडिकेसन र अपलोड गरिएको भिडियो मेटाउन लाग्ने खर्च हो ७ दशमलव २५ मिलियन डलर । मैले कमाएको ३ करोड रुपैयाँ टमले नै खाइदियो । हामी दुईबीच एक जना मर्नुपर्छ भन्दै धम्की दिएको छ । म पनि सास रहुन्जेल लड्न तयार छु ।

नेपाल कहिले आउने ?
दसैंमा आउने योजना थियो सकिनँ । अहिले पढिरहेकी छु । केही पैसा जम्मा गरेर अनि नर्स बनेर मात्र नेपाल फर्कन्छु ।

No comments:

Post a Comment