माघ २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘चलेछ बतास सुस्तरी’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणपक्षले प्रदर्शनको ठिक एक महिना अगाडि प्रचारको सुरुवात गरेको हो ।
कार्यक्रममा नायिका सुष्मा कार्कीले आफ्ना लागि यो चलचित्र विशेष भएको बताइन् । उनले चलचित्रमा काम गर्दा आफूले नजानेका थुप्रै कुराहरु पनि सिकेको बताइन् । यो चलचित्रमा आफूलाई राम्री देखिएको भन्ने प्रतिक्रिया पाउँदा खुशी लागेको उनको भनाई थियो ।
चलचित्रका नायक प्रमोद भारद्धाजले अन्य चलचित्रसँग जुध्दा पनि आफूलाई कुनै असर नपर्ने र धेरै जनासँग दौडिएर जित्दा रमाइलो हुने बताए ।
प्रेमकथाको यो चलचित्रलाई दुई महिला निर्देशकले निर्देशन गरेका छन् । अनिला खड्का र सवु सुवेदीको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रदिप भारद्धाजले निर्माण गरेका हुन् । उनले यो चलचित्र यो बर्षकै सबैभन्दा ठूलो खेल भएको दाबी गरे । अन्य दुई चलचित्र ‘क्लासिक र प्रेमगीत’सँग जुध्नु परेपनि आफू व्यापार गर्न नआएको उनको भनाई थियो । उनले भने-‘म व्यापारी होइन, सर्जक हुँ । व्यापारीले चलचित्रको व्यापार हेर्छ, सर्जकले सिर्जना ।’
उनले दुई चलचित्रसँग जुध्न आउनुको कारणबारे भने-‘मेरो चलचित्रको प्रचार निःशुल्क भैरहेको छ । यसैले पनि मैले अन्य दुई चलचित्रका कारण ५० लाखको प्रचार खर्च जोगाएको छु ।’
क्रश फिन्गर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई प्रेम दिवसको अवसर पारेर प्रदर्शन गरिदैछ । चलचित्रको ‘सिम सिम’ बोलको गीत चर्चित बन्ने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment