म नेता बन्छु

मार्टिन लुथर किङ जुनियरले भनेका छन्— सच्चा नेताले सहमतिको खोजी गर्दैन, बरु आफैं सहमतिको साँचो बन्छ ।

त्यसैगरी म्याक्सवेल भन्छन्— जसलाई बाटो थाहा छ, जो त्यही बाटोमा हिंड्छ र बाटो पनि देखाउँछ त्यही नै नेता हो ।

हामी हरदिन गुनासो गरिरहन्छौं यो देश नेताहरूले बिगारे । गतिला नेता कोही भएनन् । यसले चाहिँ केही गर्ला कि भनेको यो पनि उही ड्याङको मुला निस्कियो । हामीले धेरै व्यवस्था फेर्‍यौं, धेरै नेता फेर्‍यौ तर कसैले पनि जनताको आशाअनुसार काम गर्न सकेनन् । आखिर दोष कसको ? हामी जनताको ? कि हामीले नै चुनेका नेताको ? सत्तामा नपुगुन्जेल यो र त्यो गर्छु भन्ने तर पुगेपछि आफू, आफन्त, परिवार र पार्टीको बाहेक मुलुकको हित हेर्न सक्ने दूरदर्शी नेता यो समाजले किन जन्माउन सकेन ? असल नेता हरसाँझ–बिहान जन्मिरहँदैनन् । एउटा महान् नेता जन्मन एक युग पनि लाग्न सक्छ ।

सत्तामा पुगेपछि जुनसुकै नेता पनि कलंकको टीका नलगाई किन अवतरण हुन सक्दैन । के हाम्रो राजनीतिक प्रणाली नै दोषी छ ? हामीले चुनेका नेताहरूको पृष्ठभूमि र योग्यता कस्तो छ ? हामी नेता चुन्न भोट हाल्ने बेलामा के मापदण्ड बनाउँछौं ? गतिलो नेता चुन्न नसक्नुमा हाम्रो दोषको हिस्साचाहिं कति होला ? हामी तिनै नेतालाई धिक्कारि पनि रहन्छौं र किन उनीहरूलाई जिताइ पनि रहन्छौं ?
यो भयो राजनीतिक नेताका कुरा । त्यसैगरी कुशल नेताको खाँचो सामाजिक क्षेत्रमा, आर्थिक एवं कर्मचारीतन्त्र आदिमा पनि उत्तिकै छ । सम्बन्धित क्षेत्रको विकास र हकहितको कुरा गर्नुपर्नेमा कसरी राजनीतिक झन्डा बोकेर आफ्नो अभीष्ट पूरा गर्ने भन्ने दाउ सबैको हुन्छ । पेसागत हकको पैरवी र विकासका लागि चुनिएका हरेक संगठनका नेताहरू यहाँ राजनीतिक झन्डामा विभाजित छन् । हुँदाहुँदा पत्रकार, मानवअधिकारवादी, नागरिक समाजका अगुवा, डाक्टर, वकिलसमेत यो पार्टी र त्यो पार्टीका भनेर खुलेआम हिंडेको देख्नु र सहनुपरेको छ । आफ्नो विवेकलाई बन्धकी राखेर, पेसागत मर्यादा र धर्मलाई लिलाम गरेर पार्टीको हन्डी खानेहरूले सारा संगठन कब्जा गरेका छन् र तहसनहस पारेका छन् ।

राजनीतिक पार्टीका आधारमा पेसागत संगठनहरूमा प्रजातन्त्रको दुहाई दिंदै खुल्ने अनेकखाले कर्मचारी संघ, विद्यार्थी संघलगायतलाई एकमात्र संगठनभित्र प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा गर्नुपर्ने विधिको निर्माण नगरेसम्म झन्डाको राजनीतिबाहेक केही होला भनेर आशा गर्न सकिने ठाउँ छैन । दादागिरी गरेको भरमा वा बाहुबलको भरमा जन्मिने नेताबाट हामीले के अपेक्षा राख्ने ? नेता बन्न चाहिने आधारभूत गुण के–के हुन सक्छ ? हर कुनै संगठनको नेतृत्व गर्न आधारभूत मापदण्ड किन नतोक्ने ? कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण नभै स्थानीय स्तरमा र स्नातक उत्तीर्ण नभै केन्द्रीय तहमा जान नपाइने विधि र प्रक्रिया बनाउने हो भने पनि कम्तीमा शिक्षित व्यक्तिले नेतृत्व पाउने थिए । पढेलेखेको हुँदैमा ज्ञानी, सभ्य, स्वच्छ चरित्र भएकै हुन्छ भन्ने होइन तर एउटा सकारात्मक पाइलाचाहिं चालिने थियो ।

हरेक आमाबाबु पढे–लेखेर आफ्ना छोराछोरी डाक्टर, इन्जिनियर वा अरू कुनै प्रतिष्ठित पेसा रोजून् भन्ने चाहन्छन् तर विरलैले चाहलान् कि भविष्यमा असल नेता बनून् । किनभने नेता भनेका चोर–फटाहा हुन्, राजनीति गर्नेहरू खराब हुन् भन्ने अवधारणा छ । नेता भएपछि घूस खान्छन्, सुविधामात्र भोग्छन्, आन्दोलनमात्र गर्छन् भन्ने छाप नयाँ पुस्तामा परेको छ । कक्षाकोठामा उभ्याएर सोध्यो भने कतिजना मेधावी विद्यार्थीले भविष्यमा असल नेता बनेर देश बनाउँछु भन्लान् त ? हामी असल नेता बन्ने सपना किन देख्दैनौं वा देखाउन सक्दैनौं ? आजका बदमास भनिएका नेताहरूलाई विस्थापन गर्न अहिलेदेखि नै किन तयारी नगर्ने ? आफ्ना सन्तानलाई असल नेता बन्नुपर्छ भनेर मार्गदर्शन गर्ने कि नगर्ने ? यो देशको अभिभारा तिमीहरूले लिनुपर्छ भनेर प्रोत्साहित गर्ने कि नगर्ने ? म असल नेता बन्छु वा असल नेता रोज्छु भनेर आजको पुस्ता लागे परिवर्तन चाँडै देखिनेछ । पढेर असल नेता भएस् भनेर आशीर्वाद दिने दिन कहिले आउला ? यो देश बनाउने नेता कतैबाट आयात गरेर ल्याउने होइन, यही समाजमा जन्मिने वा विकास हुने हो । असल नेता जन्माउन असल जनता हुनु पनि जरुरी छ । जनता भेडा भए नेता पनि भेडै जन्मिन्छ । शिक्षित युवापुस्ताले विवेकले काम गरे नयाँ असल नेतृत्व जन्माउन सक्छ । असल नेताका उदाहरण पनि दिन सके नयाँ पुस्ताले सक्षम नेता बन्ने सपना देख्नेछ ।

गायक शिशिर योगीले विश्वनाथ प्रेमको शब्दमा गाएझैं यो देश भनिरहेछ—
छाडेर काम सारा
एक काम रोजिरहेछु
यो देशमा म एउटा
मानिस खोजिरहेछु ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects