१५ वर्षको भयो विकिपेडिया

विश्वको सबैभन्दा बृहत् नि:शुल्क इन्टरनेट इनसाइक्लोपेडिया विकिपेडिया १५ वर्ष पुगेको छ । सन् २००१ को जनवरी १५ मा जिम्मी वेल्स र ल्यारी सेन्गरले स्थापना गरेको विकिपेडिया विश्वभरका स्वयंसेवीहरूले नि:शुल्क रूपमा योगदान गर्ने वेबसाइट हो । विकिपेडियामा अहिलेसम्म ३ करोड ६० लाख आलेख अर्थात् पेज छन् । विकिमिडिया फाउन्डेसनका अनुसार विश्वका ८० हजार स्वयंसेवीले विकिपेडियामा सूचना तथा जानकारी थप्न वा संशोधन गर्न सहयोग गरिरहेका छन् ।

विकिपेडिया अहिले विभिन्न २ सय ९० भाषामा उपलब्ध हुनुका साथै मासिक रूपमा यसका १ करोड ८० लाख पेज भ्यू तथा ३ करोड ७४ लाख युनिक भिजिटर्स छन् । विकिपेडिया विश्वमै सबैभन्दा बढी पढिने वेबसाइट हो । विकिपेडियामा ८ लाख ७१ हजार फाइल अपलोड भएका छन् भने यसका २ करोड ७२ लाख भन्दा बढी दर्तावाल प्रयोगकर्ता छन् ।

जर्ज डब्लु बुसलाई गरियो सबैभन्दा धेरै संशोधन

पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस दुई पटक अमेरिकी राष्ट्रपति बने भने इराक र अफगानिस्तानमा युद्ध सुरु गर्दै कथित आतंकवाद विरुद्धको युद्धमा नयाँ इतिहास कोरे । यद्यपि उनी अब फेरि इतिहास लेख्ने हैसियतमा छैनन् । तथापि उनको नाउँमा इतिहास लेखिदिनेहरूको भने कमी छैन । बुसले इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियामा अरुकै कारण नयाँ इतिहास बनाएका छन् । उनी विकिपेडियामा सबैभन्दा धेरैपटक संशोधन हुने व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् ।

आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा विकिपेडियाले सार्वजनिक गरेको तथ्यांकअनुसार जर्ज डब्लु बुसको विकिपेडिया पेजमा विकिपेडियाका स्वयंसेवीहरूद्वारा सबैभन्दा बढी पटक संशोधन भएको छ ।
सन् २००१ देखि २००८ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका बुसको विकिपेडिया पेज ४५ हजार ८६२ पटक इडिट भएको छ । बुसले विकिपेडियामा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामादेखि लिएर गायिका ब्रिट्नी स्पेयर्ससम्मलाई निकै पछि पारेका छन् ।

सबैभन्दा बढी पटक संशोधनमा पर्ने पेजको सूचीको दोस्रो स्थानमा रेस्लिङ प्रतियोगिता डब्लु डब्लु ई का खेलाडीहरू सम्मिलित छन् । रेस्लिङ खेलाडीहरूको पेजभन्दा बुसको पेज ३ हजार बढी पटक संशोधन भएको छ ।

विकिपेडियामा सबैभन्दा बढी संशोधन हुने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका छ । चौथो स्थानमा विकिपेडिया आफैं छ । त्यस्तै माइकल ज्याक्सन, जिसस तथा क्याथोलिक चर्च नामक पेजहरू पनि सबैभन्दा बढी पटक संशोधन हुनेमा परेका छन् ।

विश्वभर फैलिएकास्वयंसेवीहरूबाट विकिपेडिया अहिलेसम्म ८० करोड ८१ लाख ८७ हजार ३६७ पटक संशोधन भएको तथ्यांकले देखाएको छ ।

विकिपेडियामा सबैभन्दा बढी  सम्पादन भएका पृष्ठ :

    जर्ज डब्लु बुस : ४५ हजार ८ सय ६२ पटक
    डब्लु डब्लु इ खेलाडीको सूची : ४२ हजार ८ सय ३६ पटक
    संयुक्त राज्य अमेरिका : ३५ हजार ७ सय ४२ पटक
    विकिपेडिया : ३३ हजार ९ सय ५८ पटक
    माइकल ज्याक्सन : २८ हजार १ सय ५२ पटक
    क्याथोलिक चर्च : २६ हजार ४ सय २१ पटक
    फिलिपिनो टेलिभिजन एबीएस सीबीएनले प्रसारण गर्ने कार्यक्रमको सूची : २५ हजार १ सय ८८ पटक
    जिसस क्राइस्ट : २५ हजार ८४ पटक
    बाराक ओबामा : २४ हजार ६ सय १२ पटक
    एडोल्फ हिटलर : २४ हजार ६ सय १२ पटक
    ब्रिट्नी स्पेयर्स : २३ हजार ८ सय २ पटक
    दोस्रो विश्वयुद्ध : २३ हजार ७ सय ३९ पटक
    सन् २०१३ का मृत्युहरू : २२ हजार ५ सय २९ पटक
    दि बिटल्स : २२ हजार ३ सय २९९ पटक
    इन्डिया : २२ हजार २ सय ७१ पटक

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects