सूर्योदय हेर्न पटकेडाँडा

धनकुटा र तेर्‍हथुमको सीमा पटकेडाँडामा सूर्याेदयको दृश्य हेर्न आउनेको भीड बढ्दो छ । सूर्योदयको मनोरम दृश्य देखिने पटकेडाँडा एवं धार्मिक महत्वको मार्गापोखरी एकै स्थानमा भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको हो ।

२ हजार ७ सय २७ मिटरको उचाईमा रहेको पटके डाँडाबाट सूर्योदयको दृश्य हेर्न भारतको विहारसम्मका पर्यटक आइरहेका छन् । बेलुका सिंधुवा, चित्रे र वसन्तपुर बजारमा बास बस्ने पर्यटकहरू बिहानको झिसमिसेमै मनोरम सूर्योदयको दृश्य हेर्न पटकेतर्फको उकाले लाग्छन् ।

दुई वर्षअघि धनकुटाको सिंधुवामा ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड धनकुटा, राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति तेर्‍हथुम एवं सगरमाथा दुग्ध चिस्यान तथा वितरण संस्था लिमिटेड सिंधुवाले पटकेलाई पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थिए । यो क्षेत्रलाई पर्यटकीय विकास गर्न धनकुटाका–३ र तेर्‍हथुमका ९ गरी १२ गाविसवासी लागिपरेका छन् । यो क्षेत्रको पर्यटकीय विकासका लागि धनकुटाको सिंधुवादेखि पटकेडाँडासम्म केबुलकार सञ्चालन गर्ने योजनासमेत छ । सिंधुवा बजारदेखि पटकेडाँडासम्म केवुककार सञ्चालन गर्न सके भारतको विहार र दार्जीलिङसम्मका पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।

पटकेडाँडामा भ्यू टावरको निर्माण, नयाँ पदमार्गको विकास, पर्यटकको सुविधाका लागि पानी ट्याङ्की र टहरा निर्माण एवं सुरक्षा पोस्टको व्यवस्थाजस्ता काम भैरहेका छन् । यो डाडाँबाट सूर्योदयको दृश्य १५ मिनेटसम्म हेर्न सकिन्छ । स्थानीय बासिन्दाले यो क्षेत्रको वनक्षेत्र संरक्षणका लागि वैकल्पिक ऊर्जामा अनुदान दिनसमेत माग गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects