चलचित्र विकास बोर्डले साप्ताहिकलाई उपलब्ध गराएको तथ्यांकअनुसार वर्ष २०७२ मा ६७ वटा नेपाली चलचित्र प्रदर्शन भए । विगत केही वर्षको तुलनामा गत वर्ष प्रदर्शन भएका चलचित्रको संख्या घटेको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्पपछि करिब तीन महिना एउटा पनि चलचित्र प्रदर्शन नभएकाले वर्ष २०७२ मा चलचित्रको संख्या घटेका थियो । वर्ष २०७३ मा कुनै प्राकृतिक विपत्ति तथा राजनीतिक संकट नआए गत वर्षको तुलनामा केही बढी चलचित्र प्रदर्शनमा आउने सम्भावना छ । २०७३ सालमा प्रदर्शन हुने चलचित्रमध्ये केही चलचित्रले सफलता पाउने पक्का छ । त्यसबाहेक केही चलचित्रमार्फत प्रतिभाशाली कलाकारले चलचित्र क्षेत्रमा पदार्पणसमेत गर्नेछन् ।
नयाँ वर्ष २०७३ को प्रारम्भमै अर्थात वैशाख १० गते प्रदर्शनमा आउने चलचित्र ‘हाउ फन्नी’ मार्फत महिला निर्देशक नीलु डोल्मा शेर्पा निर्देशन विधामा पदार्पण गर्दैछिन् । यो हास्य प्रधान चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही आदि कलाकारले अभिनय गरेका छन् । माल्भिका सुब्बाद्वारा निर्मित यो चलचित्रले व्यवसायिक सफलता हासिल गर्ने सम्भावना छ ।
वैशाख १७ गते प्रदर्शनमा आउने चलचित्र ‘जंगे’ ले पनि व्यवसायिक सफलता हासिल गर्न सक्छ । उत्कल थापाको निर्देशनको यो चलचित्रमा अभिनेता सुरज सिंह ठकुरी ‘जंगे’ को भूमिकामा प्रस्तुत भएका छन् । सुशन प्रजापतिको यो चलचित्रको छायांकन वीरगन्जका विभिन्न स्थानमा गरिएको छ । चलचित्र जंगेमा सुरजसँगै ऋचा शर्मा तथा शिखा शाही पनि महत्वपूर्ण भूमिकामा छन् ।



0 comments:
Post a Comment