देशका लागि वर्ष ०७२ दु:खदायी रह्यो, तर चलचित्र क्षेत्रका लागि भने यसले मिश्रित परिणाम दिएर गयो । राम्रो तरिकाले बनाइएको चलचित्र चल्छ भन्ने उदाहरण यो वर्ष मज्जाले देख्न पाइयो ।
ड्रिम्स
निर्देशक : भुवन केसी
सदाबहार नायक भुवन केसीद्वारा निर्देशित चलचित्र ‘ड्रिम्स’मा उनका सुपुत्र अनमोल केसी नभएका भए के हुन्थ्यो ? वा अनमोलको स्थानमा अरू कुनै नायक भएका भए ? ‘ड्रिम्स’ले सफलता पायो, त्यसको श्रेय अनमोल केसीलाई जान्छ ।
वडा नं.६
निर्देशक : उज्ज्वल घिमिरे
टेलिश्रृंखला ‘तीतो सत्य’ बन्द गरिनु र यही बेला चलचित्रमा सफल भै स्थापित हुनु दीपकराज गिरी तथा दीपाश्री निरौलासहितको टिमका लागि सकारात्मक संकेत हो । अघिल्लो वर्षको चलचित्र ‘छ एकान छ’ले पाएको सफलताभन्दा बढी सफलता चलचित्र ‘वडा नम्बर ६’ ले पायो ।
कबड्डी–कबड्डी
निर्देशक : रामबाबु गुरुङ
अघिल्लो सफल चलचित्र ‘कबड्डी’को सिक्वेलका रूपमा आएको चलचित्र ‘कबड्डी–कबड्डी’ले सफलताको झन्डा गाड्यो । मुस्ताङको गाउँमा फुपुकी छोरीसँगको मायालाई अभिव्यक्त गर्न नसकेका काजी तथा काजीको उद्देश्यमा व्यवधान खडा गर्न आएका बमकाजीको कथालाई दर्शकले रोचक माने ।
Advertisement
परदेशी
निर्देशक : नारायण रायमाझी
यो चलचित्रलाई ‘रेमिट्यान्स दर्शक’ले नै सफलताको चुचुरोमा पुर्याए । वैदेशिक रोजगारीको विषयमा तयार पारिएको यो चलचित्रमा देखाइएको बिषयले धेरै दर्शकको मन छोयो । इन्डियन आइडल प्रशान्त तामाङलाई नायकका रूपमा लिएर यसअघि चलचित्र ‘गोर्खा पल्टन’बाट सफलताको स्वाद चाखेका निर्माता राजेश वंशल तथा निर्देशक नारायण रायमाझीले फेरि एकपटक सफलताको स्वाद चाखे ।
पशुपतिप्रसाद
निर्देशक : दीपेन्द्र के. खनाल
लगभग पशुपतिनाथ क्षेत्रकै दृश्य भएको, गीत र फाइट नभएको, थोरै कलाकारबाट कम लगानीमा बनाइएको चलचित्रले पनि विषय र प्रस्तुति राम्रो भएको खण्डमा सफलता पाउँछ भन्ने उदाहरणका रूपमा यो वर्ष ‘पशुपतिप्रसाद’ देखापर्यो ।
प्रेमगीत
निर्देशक : सुदर्शन थापा
‘म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्’ चलचित्र ‘प्रेमगीत’को यो गीतको दृश्यांकनका साथै गीतलाई पनि दर्शकले मनपराए । त्यसको असर चलचित्रको व्यवसायमा पर्यो । चलचित्रका नायक प्रदीप खड्का तथा नायिका पूजा शर्माको जोडी पनि रुचाइयो ।
भैरव
निर्देशक : निखिल उप्रेती
एक्सन नायक निखिल उप्रेतीले चलचित्र ‘भैरव’मा अभिनय, एक्सनका साथै निर्देशन पनि गरे । उनका ती तिनैवटा स्वरूपलाई दर्शकले रुचाए । दक्षिण भारतीय शैलीको चलचित्र भैरवमा दर्शकले निखिलको रूपलाई यति रुचाए कि उनको ‘कमब्याक’ निकै सफल ठहरियो ।
क्लासिक
निर्देशक : दिनेश राउत
अघिल्लो वर्ष चलचित्र ‘नोभेम्बर रेन’बाट सफलता पाएका निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी, नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठको टिमले यस पटक त्यही शैलीको चलचित्र ‘क्लासिक’ तयार पार्यो । चलचित्रमा नेत्रविहीन युवा–युवतीको भूमिका निर्वाह गरेका आर्यन र नम्रताको केमेस्ट्रीलाई दर्शकले फेरी एकपटक रुचाए ।
रेशम फिलिली
निर्देशक : प्रनव जोशी
संभवत: पहिलो पटक एकै वर्ष दुई पटक रिलिज भएको चलचित्र हो ‘रेशम फिलिली’ । अघिल्लो वर्ष नै अत्याधिक चर्चामा आएको यसको गीत ‘जालमा’ले गर्दा पनि चलचित्र बहुप्रतिक्षित बन्न पुगेको थियो । वैशाख ११ गते प्रदर्शनमा आएपछि दर्शकहरू यो चलचित्र हेर्न ओइरिए, तर वैशाख १२ गतेको भूकम्पपछि यसको प्रदर्शन रोक्न बाध्य हुनुपर्यो ।



0 comments:
Post a Comment