रंगमञ्च : संख्या बढ्यो गुणस्तर उही

    अनामनगरस्थित मण्डला थिएटरमा ‘योजना पार्क’ शीर्षकको नाटक मञ्चनले बेफुर्सदिलो बनाएको छ, बुद्धि तामाङलाई । चलचित्र कबड्डीमा ‘हैट’ थेगोबाट चर्चा बटुलेका बुद्धिले पहिलो पटक आफ्नो निर्देशनमा यो नाटक तयार गरेका हुन् । अस्ट्रेलियन अर्थशास्त्री फ्रेडरिक अगस्ट हायकको कृति ‘द रोड टु सर्फडम’बाट प्रभावित यो नाटकमा राजनीतिको गन्ध मिसाइएको छ ।

  केही समयअघि सोही थिएटरमा खगेन्द्र लामिछाने ‘दाँतका डोबहरू’ लिएर प्रस्तुत भएका थिए । लेखक तथा निर्देशक लामिछानेले यसमा ग्रामीण परिवेशमा हुर्किएका बालबालिकाको मनोभाव सजीव ढंगले उतार्ने प्रयास गरेका थिए ।

  ठीक यही समय नेपाली रंगमञ्चमा फरक परिदृश्य प्रस्तुत गरिरहेका छन्, रंगकर्मी राजन खतिवडाले । उनको परिकल्पनामा ‘जूनकीरी’ नामक मोबाइल थिएटर सञ्चालनमा ल्याइएको छ । ट्रकलाई रंगमञ्चको स्वरूपमा उतारेर नाटक मञ्चन गर्दै देश दौडाहमा निस्किएको छ, जूनकीरी टिम ।

    बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शेक्सपियरको सुपर फ्यान्टासी नाटक ‘द मिडसमर नाइट्स सपना’ ले धुम मच्चाइरहेको छ । रंगकर्मी सुनिल पोखरेलको निर्देशनमा तयार यो नाटक प्रेमकथामा आधारित छ ।

यी केही प्रतिनिधि घटना हुन्, जसले नेपाली रंगमञ्चको चलायमान वर्तमान झल्काउँछन् । राजधानीका थिएटरमा प्रतिस्पर्धात्मक रूपले नाटक मञ्चन भैरहेका मात्र छैनन्, सहरिया दर्शकहरू यसमा अभ्यस्तसमेत हुँदैछन् । नाटक हेर्न टिकट काउन्टरमा देखिने दर्शकको भीडले यसैलाई पृष्टि गर्छ ।

चलचित्रकै झझल्को दिने गरी नाटकको बाढी आयो, रंगमञ्चमा । यो वर्ष मात्र दर्जनांै त्यता नाटक मञ्चन भए, जुन प्रशंसायोग्य थिए । मण्डलामा ‘कथा एक्सप्रेस’, ‘तीन एकान्त’, ‘र माइलो’, ‘योनिका कथाहरू’ थिएटर भिलेजमा ‘येर्मा’, ‘सिहंदरबारको टेन्डर’, ‘मान्छे बन्ने रहर’, शिल्पीमा ‘लाटो पहाड’ आदि नाटकले रंगमञ्चमा एक किसिमको तरंग ल्याए । यस पटक रंगमञ्चले धेरैजसो सामाजिक विसंगतिलाई उठान गरेको पाइयो । समाजका स–साना पाटोलाई रंगशिल्पीमा ढाल्ने काम भए ।

भारतीय लेखक निर्मल बर्माका तीनवटा कथालाई एक ठाउँमा ल्याएर तयार गरिएको ‘तीन एकान्त’ले भिन्न स्वाद चखायो । एकान्तमा रहेका पात्रको मनोसंवादवाट नाटकको रचना गरिएको थियो ।

चलनचल्तीको भन्दा भिन्न शैलीमा नाटक ‘पीत हास्य’ प्रस्तुत गरियो । थिएटर मलमा मञ्चित उक्त नाटकमा तीन महिना अवधिको कथावाचनमा कार्यशालाका प्रशिक्षार्थीहरूले आफ्नो भोगाइलाई नाटकको कथा बनाएका थिए । यता पुराना नाट्यकर्मी अशेष मल्लले सर्वनाममा नयाँ प्रयोग गरे, ‘१० मिनेट नाटक मेला’ आयोजना गरेर । मेला सुरु भएको उद्घोष हुनासाथ सहभागी २५ मध्ये ६ वटा नाटक मञ्चन भए । ‘सम्झौता’बाट सुरु भएको नाटक शृंखला ‘स्त्री लम्पट’, ‘नयाँ बाटो’, ‘बार्‍है टक्का’ हुँदै ‘यथास्थिति’सम्म पुगेर समापन भएको थियो ।

मण्डला थिएटरमा दर्शकबाट कथा लिने अनि त्यही प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने नयाँ अभ्यास पनि गरियो । ‘चौतारी नाटक’ शीर्षकको यो नाटकमा रंगकर्मीले उपस्थित दर्शककै कथा प्रस्तुत गरेका थिए । नाटक मञ्चनसँगै रंगमञ्चको आयतन पनि फैलिएको छ । थिएटरको संख्या बढ्दो छ । यसपालि काठमाडौंका रंगकर्मीहरू ‘मान भर्सेज मती’ लिएर पोखरा पुगे । 

एकताकाका चर्चित अभिनेता सरोज खनालदेखि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसम्म मञ्चमा पर्दापण हुनुलाई पनि सुखद आश्चर्य मान्नुपर्छ । खनालले सर्वनाम नाटकघरमा पाँच मिनेटको एकल अभिनय गरे । सृष्टिलाई नाटक ‘ह्याम्लेट’ले मञ्चमा उतार्‍यो ।

कतिपय रंगकर्मी अहिले पूर्णकालीन रूपमा यसैमा होमिएका छन् । रंगमञ्चमा आउन चाहने युवाहरूको लर्को पनि उत्साहजनक छ । ‘मिड समर नाइट्स सपना’ नाटक मार्फत सुनिल पोखरेल मञ्चमा देखा परे । चलचित्रमा जतिसुकै व्यस्त भए पनि दयाहाङ राईले ‘र’माइलो’ मा अभिनय गर्न भ्याए । चलचित्र पशुपतिप्रसादले उधुम मच्याइरहेका बेला खगेन्द्र लामिछानेले थिएटर भिलेजमा ‘दाँतको डोबहरू’ देखाए ।
‘जिम्दा सपना’, ‘जिरो जिरो जेड’, ‘हारजित’, ‘थर्टी डेज इन सेप्टेम्बर’, ‘कोही बरबाद नहुन्’, ‘चौतारा लक्ष्मीनारायण’ जस्ता विविध विषय र भिन्न प्रस्तुतिका साथ नाटक मञ्चन गरिए । यस हिसाबले हेर्दा रंगमञ्च वर्षभरि नै चलायमान रह्यो । एकपछि अर्को नाटकको सिलसिलाले रंगमञ्चमा रित्तता महसुस गर्न दिएन । यद्यपि संख्यात्मक हिसाबले नाटक बढेपनि गुणस्तरमा भने औला ठड्याउने ठाँउ रह्यो । रंगकर्मी भोलाराज सापकोटाको टिप्पणी छ— ‘नाटकभित्र जुन गुदी हुन्छ, त्यो पाउन छाडियो । नाटकहरू नाटकभन्दा बढी प्रहसनजस्ता हुन थाले ।’

दयाहाङ राई, सौगात मल्लजस्ता रंगमञ्चबाटै खारिएर आएका रंगकर्मीहरू मूलधारको चलचित्रमा जम्न थालेपछि यसतर्फ युवाहरूको स्वत: आकर्षण बढेको सापकोटाको बुझाइ छ । एक हिसाबले यसलाई सकारात्मक परिवर्तन मान्न सकिन्छ । ‘अहिले रंगमञ्चलाई चलचित्रमा फड्को मार्ने प्लेटफर्मका रूपमा बुझ्न थालिएको छ,’ सापकोटा भन्छन्– ‘यो सही बुझाइ होइन । दयाहाङ, सौगातहरू अहिलेका स्टार हुन्, तर उनीहरूमा रंगकर्मप्रति कति समर्पण र त्याग छ भन्ने कुरालाई अहिलेको पुस्ताले बिर्सनु हुँदैन ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects