दुर्गा खरेल, गायिका
०६२ सालमा नेपाली ताराको पहिलो सिजनका सहभागीहरूमध्ये धेरैले चर्चा पाए । तपाईंको चर्चा किन भएन ?
चर्चा केलाई भन्ने ? मैले पहिलो एल्बमको गीत ‘बैंसजस्तो बादल’ गाएर छिन्नलता पुरस्कार पाएँ । दुईवटा एल्बम निकालिसकेँ । दर्जनौं चलचित्रमा पाश्र्वगायन गरिसकेँ । केही गीत हिट पनि भएका छन् । यति चर्चाले पुग्दैन र ?
तैपनि सहकर्मीहरूले नाम र दाम धेरै कमाए नि ?
एउटी गायिका गायनबाट चिनिनुपर्ने हो । मलाई मेरा गीतले चिनाएकै छन् । म दौडनेभन्दा पनि बिस्तारै हिँडेर गन्तव्यमा पुग्न रुचाउँछु ।
अरूको दाँजोमा तपाईं किन पछाडि पर्नुभयो ?
पहिलो एल्बम ‘दिल’पछि अहिलेको दोस्रो एल्बम ‘युग’ बजारमा आउन सात वर्ष लाग्यो, त्यसैले पनि होला ।
गाएर जीविकोपार्जन हुन्छ ?
अहिलेसम्म भैरहेकै छ । गाउनेबाहेक म अनुराग संगीत विद्यालयमा प्रशिक्षण पनि दिन्छु ।
तपाईंको गायकीलाई धेरैले आशा भोसलेसँग दाँजे, के भन्नुहुन्छ ?
कोकिलकण्ठी विख्यात गायिका आशा भोसलेको समधुर स्वरसँग मेरो स्वर जसले दाँज्नुहुन्छ, म उहाँहरूप्रति नतमस्तक छु ।
तपाईंका हिट गीत ?
‘किन–किन उनीलाई’, ‘रिमझिम रिमझिम’, ‘छुट्छ कि साथ’, अहिले ‘काले केटाले’ ।
काले केटा त म्युजिक भिडियो बनाउनुभन्दा पहिल्यै हिट थियो, फेरि किन बनाउनुपर्यो म्युजिक भिडियो ?
युट्युबमा यो गीतको कभर भिडियो झन्डै डेढलाखले हेरिसके । यसको अफिसियल भिडियो पनि बनाउनुपर्छ भनेर बनाइएको हो ।
जान्नैपर्ने तर नजानेको काम ?
स्कुटर चलाउन, जानेकी भए समयमा गन्तव्यमा पुग्न सहज हुन्थ्यो । यद्यपि मलाई काठमाडौंको सडकमा स्कुटर कुदाउन सार्है डर लाग्छ ।
सेक्सी लाग्ने तीन नायक ?
अनमोल केसी, प्रदीप खड्का र आर्यन सिग्देल ।
कुन नायिकाका लागि पाश्र्वगायन गर्ने मन छ ?
रेखा थापाका लागि फेरि पनि गाउन मन छ भने प्रियंका कार्की र नम्रता श्रेष्ठलाई मेरो गायकी सुहाउँछ जस्तो लाग्छ ।
गर्न मन लागेको, तर गर्न नजानेको काम ?
डान्स, म यसमा साह्रै कमजोर छु । हल्का त नाच्छु, तर छमछमी नाच्ने रहर छ । अहिले सिक्दैछु ।
विवाह गर्ने बेला भएन र ?
घरबाट त कुरा आइरहेको छ तर म तयार छैन ।
किन कतै प्रेममा पर्नुभएको छ ?
मेरो प्रेमी भनेकै गायन हो, त्यसबाहेक मैले आफ्नो मन अरू कसैलाई दिएकी छैन ।
तपाईंको विवाह कस्तो होला, लभ कि एरेन्ज ?
लभ पर्यो भने लभ, नत्र एरेन्ज ।
श्रीमान् कस्तो होस् भन्ने चाहना छ ?
मलाई बुझ्ने, मेरो कामलाई बुझ्ने र गीत–संगीतलाई माया गर्ने ।
विवाहपछि कथंकदाचित श्रीमान्ले गाउन छाडिदेऊ भने भने ?
म बरु श्रीमान् छाडुँला तर गाउन छोड्दिन ।



0 comments:
Post a Comment