Second Menu
▼
मेरो डायरी : ब्ल्यू टी–सर्टवालाको म्यासेज
‘उ––– त्यहाँ बसेको छ नि रेड सर्टवाला ! हो, त्यही हो मेरो ब्वाइफेन्ड’
उसले इसारा गर्दै देखाई मलाई । कालो¬–कालो हिस्सी परेको, हाँस्दा गालामा डिम्पल देखिने । उसले देखाएको मान्छे एकै नजरमा मलाई पो मन परेजस्तो भयो ।
‘ह्याण्ड्सम रै’छ’, मैले यतीमात्रै भनेकी थिएँ, ऊ झन् मख्ख परी । स्नातक पहिलो वर्षमा पढ्दै थियौं हामी । अंग्रेजी विषयको ट्युसन पढ्न जाँदा भएको कुरा थियो त्यो । उसलाई चिनेको धरै बर्ष भइसकेको थियो । मभन्दा ७¬–८ वर्ष जेठी होली । उसका सबै साथीको विवाह भइसकेको थियो । अलि चञ्चले स्वाभावकी थिई । अग्लो थिइ, जिउ चट्ट मिलेकौ थियो, तर पनि रुपमा ‘आहा’ भनिहाल्न सकिनेचाहिँ थिइन ।
उसले मलाई ‘ब्वाइफ्रेण्ड’ भनेर चिनाएको मान्छेले हाम्रै ट्युुुसन सेन्टरमा पढाउँछ भनेर पनि मलाई उसैले भनेकी । उसले नै त हो मलाई त्यो ट्युसन सेन्टर लगेकी पनि ।
‘मान्छे राम्रो रै’छ । बिहा गर्दा भो नि त !’ म भन्दै थिएँ । उसले अकमकाएर भनी, ‘यहाँ अलि सम्भव छैन । बाहिर गएर सेटल हुने सोच्दैछौं ।’
‘किन ? के छ र त्यस्तो ?’, मैले सोधेँ ।
‘छ कारण’, उसले यति मात्रै भनी ।
जे होस् उसको रोजाइ मलाई राम्रो लाग्यो । थुप्रै पटक हाम्रो भेट हुँदा पनि ऊ मुसुक्क मुस्काउँथ्यो मात्र । मलाई अचम्म त के लाग्थ्यो भने मेरै साथी र ऊ बोलेको पनि त्यति देखेकी थिइनँ । ट्युसन सेन्टरमा थुप्रै सरहरु थिए तर सबै भन्दा भलादमी त्यही सर लाग्थ्यो ।
एकजना सर त मलाई फिटिक्कै मन पर्दैनथ्यो । उमेर भने ३५ काटेको होला । हामीलाई नपढाए पनि काम भएजस्तो बहाना पारी कक्षामा आउँथ्यो । हाम्रो क्लासमा आउने, जिस्क्याउने गथ्र्यो । पछि त मेरो नम्बर मागेर दिक्कै पारेको ! त्यो सरको त अगाडिबाट हिँडन पनि मन लाग्दैनथ्यो । जे होस् थुप्रै पात्र थिए त्यहाँ ।
मेरो साथी भने मसँग त्यही सरको कुरा गर्थी । उनीहरुको प्रेम कहानी सुन्दा¬–सुन्दा वाक्कै लाग्न थालिसकेको थियो मलाई । मलाई पढाइको कुरा गर्न मन लाग्थ्यो । ऊ भने कोर्सबुक भन्दा फेसबुकमा बढी रमाँउथी ।
०००
एकदिन हामी ट्युसन सेन्टरअगाडिको चिया पसलमा चिया पिइरहेका थियौं । मैले उसको ‘ब्वाइफ्रेन्ड देखेँ र जिस्काउँदै भनेँ, ‘तिम्रो हिरो त्यहाँ उभिरहेको छ त !’
उसले फर्केर हेरी र सोधी, ‘खोइ कहाँ ?’
‘त्यहीँ छ त ह्वाइट सर्ट लगाएर उभिरा’को’, उसले नदेखेको देखेर भनेँ ।
‘कहाँ भनेको ?’, ऊ त नजर डुलाउन पो थाली । उसले मलाई जिस्क्याएको हो कि झुक्याएको केही बुझ्नै सकिनँ ।
‘ए, देखेँ, देखेँ । ह्वाइट सर्ट भनेर हेरेकी त ब्लू टिसर्टमा पो रहेछ ।’, उसले उत्साहित हुँदै केही छिनमा भनी । म भने छक्कै परेँ ।
ब्लू टिसर्ट लाको मान्छे हेरँे । त्यो त त्यही मेरो नम्बर मागेर हैरान बनाउने अधबैंसे सर पो थियो ।
म त हेरेको हेर्यै भएँ ।
‘हँ… ?’, उसको कुरा सुनेर म हेरेको हेर्यै भएँ ।
‘लौ, उहाँ नै त हो नि अस्ति मैले देखाएको मान्छे ।’, उसले त सहजै भनी, ‘तिमीले को भनेको ?’
हरे, अस्ति उसले देखाएको र मैले बुझेको मान्छे नै पो फरक परेछ ।
‘ऊ त अलि उमेर गा’को देखिन्छ त, बिहा भा’को छैन र ?’, मैले अप्ठ्यारो मान्दै सोधेँ । ‘अँ––– छ, एउटा छोरी पनि छ’, उसले सहजै उत्तर दिई ।
‘तिमीलाइ पहिले नै थाहा थियो ?’
‘थियो, त्यसैले त हामी बाहिर सेटल हुने भनेको नि’, उसले भनी ।
‘त्यसरी अरुको घर बिगार्नु हुन्न यार’, मलाई चिन्ता लाग्यो ।
‘मलाई उसको बुढी र बच्चासँग के मतलब ? मलाई त उसँग मतलब छ । उसले मलाई माया गरे भइहाल्यो नि । त्यही पनि प्रेम र युद्घमा जे पनि जायज हुन्छ बुझिस्’, उसले मलाई बुझाउन खोजी । तर त्यति सुनेपछि मलाई त्यहाँ बस्न मन लागेन । त्यहाँबाट हिडेँ ।
हिजोसम्म प्रेम र युद्घमा जे पनि जायज हुन्छ भन्ने वाक्य मलाई पनि संसारकै प्रिय वाणी लाग्थ्यो । आज त्यही शब्द कसैको घर भाँड्न बनाइएको षड्यन्त्रजस्तै लाग्यो । कहिल्यै नभेटिएकी त्यो सरकी श्रीमतीको साह्रै माया लागेर आयो । त्यस्तै बच्चीको चित्र आँखामा नाच्यो ।
कसैलाई माया गर्नु पाप त होइन तर त्यो मायाले अरुलाई असर पर्छ भन्नेसम्म ध्यान नराख्नु मलाई ठीक लागेन । त्यस दिनभरि मैले उसैका कुरा सम्झिरहेँ । सबै कुरा प्रस्ट हँुदाहुदै पनि विवाहित पुरुषको सम्बन्धमा ऊ के आधारले खुसी हुन सकेकी होली ? मैले उत्तर पाइनँ ।
०००
भोलिपल्ट बिहान सातबजे तिर क्लास जाँदा उसलाई चिया पसलमा देखेँ । मलाई देख्ने बित्तिकै उसले हाँस्दै भनी, ‘चिया पिउने ?’
‘अँ, हुन्छु’, चिया पसलको टेबलमा उत्साहहीन बस्दै भनेँ ।
‘क्या तनाव छ यार’, उसले कुरा सुरु गरी ।
‘के भयो र ?’, मलाई खासै सुन्न त मन थिएन तर पनि सोधेँ ।
‘उसलाई म्यासेज गरेको, हिजो उसको बूढीले फोन गरेर नानाथरी भनी भन्या’, उसको अनुहारमा रिस देखियो ।
‘उसलाई रिस उठ्नु स्वाभाविक हो नि’, मैले झन् भनिदिएँ ।
‘म पछि लाग्या हो र ? उसैको बुढाले मन परा’को त हो नि । आफ्नै सिक्का खोटो छ अरुलाइ केको दोष !’
‘अनि उसले मन पराउँदैमा तिमीले पनि सहमति जनाउनु पर्छ भन्ने केही थियो र ?’, मैले मौका पाएजसरी भनेँ, ‘तिमीले आफ्नो मात्रै होइन त्यो सर, उसको बूढी र छोरीलाई समेत चोट पु¥याउने काम गर्दैछौ । भविष्यमा पछुताउने काम नगर ।’
‘तर केही छैन । अब त्यस्तै हुन्छ । कसैको जीवन बर्बाद हुँदैन ।’, उसले मुस्कुराउँदै भनी । ‘के उसलाई छोड्छेस् ?’ मैले सोधेँ ।
‘मैले होइन, उसले चाहिँ उसको बुढीलाई डिभोर्स दिँदै छ । अनि उसको बूढीले नि अर्को पाइहाल्छे नि । त्यसपछि सबै जना खुसी ।’, उसको मुस्कानमा मैले नीचता देखेँ ।
‘अनि छोरी नि ?’
‘छोरी पनि उसैले लान्छे नि । अब के म अर्काको छोरी च्यापेर बस्छु र ? पैसा दिने हो पढ्न । उसैले राख्छे’, उसको स्वार्थ बोलीमै मिसिएर ह्वास्सै गनायो ।
प्रेम अन्धो हुन्छ भनेको उसले प्रमाणित गरिरहेकी थिइन । तर अन्धो हुनु भनेको यति निर्दयी हुनु त पक्कै होइन होला । त्यहाँ कसैको सपनाले कसैको संसार उजाड हुँदै थियो । उसको सपना देखेर छक्क परेँ म । उ अरुको सिन्दुर खोसेर आफ्नो सिँउदो भर्ने सपना देख्दै थिई । दोस्रो विवाह र विवाहेत्तर प्रेम सम्बन्धमा एकजनाको मात्र दोष देखाउनु व्यर्थ छ । त्यसको दोषी दुवैजना हुन्छन् ।
ऊ मसँग त्यही सरको कुरा गर्दै थिई । मैले अन्तिम प्रयास गर्न भनें, ‘आज उसले तिम्रो लागि आफ्नो श्रीमती छोड्दै छ । भोलि अरुको लागि तिमीलाई छोड्यो भने के हुन्छ ?’
‘त्यस्तो छैन ऊ । मलाई जति माया अरु कसैलाइ गर्दैैन । जिस्कनेमात्रै हो, केटीलाई सम्मान गर्छ ।’
त्यो दिन हाम्रो क्लास सकिने दिन पनि थियो । त्यसपछि ऊसँग भेट हुन्थ्यो वा हुन्नथ्यो थाहा थिएन । त्यसैले मैले ज्यादा सम्झाएर उसको लागि नराम्रो हुन चाहिनँ । अझ, उसको अन्धो विश्वासको अगाडि मेरो केही चलेन ।
०००
निकै दिनपछिको एक साँझ । ल्यापटप अन गरेर फेसबुक खोलेँ । एउटा फ्रेन्ड रिक्वेस्ट र म्यासेज आएको रहेछ । त्यही सरले पढाएको रहेछ, नाम र फोटो हेरेर थाहा पाएँ । एसेप्ट गरिनँ । म्यासेज हेरेँ । त्यहाँ लेखिएको थियो, ‘त्यत्रो दिन नम्बर माग्दा पनि नदिने निष्ठुरीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको छु । एसेप्ट गर है । तिमीलाई पहिलो क्लासदेखि नै मैले नोटिस गरिरा’थेँ । तिमी साह्रै राम्रो लाग्यो मलाई । तिमीले नम्बर नदिए पनि मेरो छोड्दैछु । मन लागे कल गर ल । होप वी विल मिट अगेन । सी यू ब्युटीफुल !’

No comments:
Post a Comment