समुन्द्रको बृहत पौभा प्रदर्शनी


बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा १ सेन्टिमिटर x १ सेन्टिमिटर ३ मिलिमिटरका ‘मिनियचर पेन्टिङ’ देखि ६ फिटसम्मका ठुला पेन्टिङहरुको एकल चित्रकला प्रदर्शनी भैरहेको छ ।

पौभा चित्रमा दख्खल भएका चर्चित कलाकार समुन्द्रमान सिंह श्रेष्ठका पौभा चित्रहरुको बृहत प्रदर्शनीमा उनले सिर्जना गरेका ७१ वटा चित्रहरु छन् । बोधिसत्व ग्यालरीको आयोजनामा भएको प्रदर्शनी नेपाली परम्परागत कला क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रूपमा लाग्दै आएका कलाकार समुन्द्रमानको यो पहिलो एकल कला प्रदर्शनी हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सम्पन्न दर्जनौं सामूहिक कला प्रदर्शनीमा सहभागी समुन्द्रमानले कैयन पुरस्कार र सम्मान पनि पाइसकेका छन् ।

प्रदर्शनीमा कलाकार समुन्द्रमानले दुई दशक अघिदेखि बनाएका कलाकृतिहरु प्रदर्शित छन् । परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो । यस्तो परिवेशमा आफ्नो ७१ कलाकृतिहरुको एकैचोटि प्रदर्शनी गर्नु पनि निकै कठिन कार्य भएको उनी बताउँछन् । बोधिसत्व ग्यालरीले भने उक्त कार्यलाई सहज बनाइदिएको छ । ग्यालरीका सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यको संकलनमा रहेका ४४ वटा चित्र र बाँकी चित्र अन्य सातजना कला संकलकबाट कलाकृतिहरु ल्याई प्रदर्शनीमा राख्ने कार्य बोधिसत्वले गरेको छ ।
ती कलाकृतिहरुमध्ये ९ वटा चित्र नेपालका संकलक तथा अरु चित्रहरु बेलायत, जर्मनी, अमेरिकाका कला संकलकसँग रहेका थिए । जसलाई बोधिसत्व ग्यालरी सञ्चालकले खरीद गरी ल्याएका हुन् । प्रदर्शनीमा ‘बज्रपाणी भैरव’, ‘नृत्य मुद्राको शिवशक्ति’, ‘निराकार’, ‘महाँकाल भैरव’, ‘नृत्यमुद्राको गणेश’ लगायतका चित्र छन् । प्रदर्शनी जेठ २७ सम्म रहनेछ ।




0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects