सिनेमाबारे दयाहाङ र ऋचा : चल्ने र चलाउनेको पछि लाग्दा राम्रो सिनेमा बनेन



भृकुटीमण्डपमा जारी अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीसँगै विविध विषयमा बहसको कार्यक्रम पनि सुरु भएको छ । विहिवारबाट सुरु भएको बहस कार्यक्रमको पहिलो श्रृंखलामा ‘आजको नेपाली सिनेमा’ विषयमा बहस भयो । कवि संगीतश्रोताले सहजीकरण गरेको कार्यक्रममा निर्देशक नवीन सुब्बा, सिनेमा क्रिटिक्स यज्ञश, अभिनेता दयाहाङ राई र अभिनेत्री ऋचा शर्मा सहभागी थिए । सिनेमाबारे कलाकारको मत जान्न चाहने पाठकलाई मध्यनजर गर्दै यहाँ ऋचा र दयाहाङले व्यक्त गरेको मतको महत्वपूर्ण अंश प्रश्नोत्तरकै शैलीमा प्रस्तुत गरिएको छ :



संगीत : सिनेमालाई पहिले के ठान्नुहुन्थ्यो, अहिले कस्तो पाउनुभएको छ ?

ऋचा : म स्कूलबेलादेखि नै स्कूल थिएटरमा सहभागी थिएँ । त्यसपछि एसएलसी गर्दागर्दै मोडलिङ र टेलिभिजन हुँदै सिनेमासम्म आएँ । मेरो घरपरिवारमा पनि चलचित्रप्रति झुकाव धेरै छ । हिन्दी, नेपाली र अंग्रेजी चलचित्र हेरिन्थ्यो । त्यसैले यस क्षेत्रमा प्रोत्साहन त छँदै नै थियो, ममा पनि अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास थियो । अभिनय भनेको के हो, कति गहिराइमा गर्नुपर्छ भन्ने त थाहा थिएन, तर पनि अभिनय गर्न सक्छु भन्नेचाहिँ थियो । त्यसैले एउटा प्रक्रिया सुरु गरियो । मिस नेपालमा सहभागी भइयो । त्यसपछि टेलिभिजनमा काम गरियो । त्यसपछि म्युुजिक भिडियो गरियो । त्यसपछि सिनेमा गरियो । त्यसै क्रममा बुझाइ फरक पर्दै गयो । पहिले धारणा बनाएको र आफू काम गर्दा बन्ने धारणा अर्कै हुँदोरहेछ भन्ने अनुभूति भयो । यसै क्रममा ममा अभिनयको भोकचाहिँ एकैचोटि होइन, बिस्तारै बढ्दै गएको हो ।


तर अर्को भोक पनि छ । जस्तो कि, दयाहाङकै कुरा गर्ने भने धेरै राम्रो अभिनेता हो । तर ऊ अहिलेको चर्चित र व्यस्त अभिनेता भएको छ । यस हिसाबले हेर्दा बाँच्नका लागि लाग्ने भोकका कारण पनि हामी आफूलाई काम गर्न मन नलागेको सिनेमा पनि गछौं । ब्रेड र बटर नै यही प्रोफेसनलाई मानेपछि जानेर पनि भनेजस्तो गर्न सकिँदैन कि जस्तो लाग्छ । तथापि केही नयाँ त भइरहेको छ । तृप्ति नाड्कर वा कृष्टि मैनालीका पालाका सिनेमा हेर्दाको अनुभव र अहिले आफूले नै गरेका सिनेमा फस्र्ट लभ, लुट, टलकजंग भर्सेस टुल्के, बाटोमुनिको फूल–२ जस्ता सिनेमा हेर्दा प्राविधिक रूपमा हामीले ठूलै फड्को मारिसकेका छौं जस्तो लाग्छ । अहिलेको पुस्ताले जसरी काम गरिरहेका छौं, त्योचाहिँ संक्रमणकालीन अवस्था हो भन्ने लाग्छ मलाई । अहिले हामी मूल धार भन्छौं, कोही अलग धार भन्छौं । कसैले धार नै छैन पनि भन्छन् । यति हुँदाहुँदै पनि नेपाली सिनेमाको भविष्यचाहिँ सकारात्मक देख्छु ।
संगीत : हिजोको मूलधारमा जसरी नै अभिनय गर्दै जाने वा आफ्नो भूमिकालाई नयाँ धारमा लैजाने भन्नेमा चाहिँ तपाईंलाई नयाँ नै गरौं भन्ने लाग्छ उसोभए ?

ऋचा : अभिनेताको रूपमा अभिनयको धेरै विधा हुँदैन । चरित्रहरू हुन्छन् । त्यसमा तपाईंको भूमिका कति छ भन्ने कुराले खासै फरक पार्छ जस्तो लागेन मलाई । तपाईंको चरित्रको ‘मार्क’ आफैंले छाड्ने हो । हामीमा विश्वस्तरीय सिनेमा गर्ने भोक छ । तर त्यो भोकलाई वास्तविक भोकले ‘ओभरस्याडो’ गर्दोरहेछ ।

संगीत : निर्देशक नवीन सुब्बाले दयाहाङ पनि अर्को राजेश हमाल भएर निस्कने भयो भन्ने आशयको लेख नै लेख्नुभयो । दयाहाङ सिनेमामा आउँदै गर्दा मिडियादेखि क्रिटिक्ससम्मले एउटा नयाँ चरित्र सिनेमामा आयो भनेर प्रशंसा गरेको हो । त्यो कुन अर्थमा भने भरत नाट्यशाश्त्रअनुसार चलिरहेको सिनेमा क्षेत्रमा पनि धिरोधात्त नायक हुनुपर्ने, नायक हुन क्षेत्रीको छोरो हुनुपर्ने, कुल खानदानको हुनुपर्ने, उचाइ मिलेको हुनुपर्ने थियो । अनि पञ्चायतकालदेखिकै सिनेमामा त्यस्तो देखिएको थियो । राजेश हमाल दरबारको नाती भएकाले सिनेमामा आउने, भुवन केसी पनि क्षेत्रीको छोरो भएर आउने । यस्तो अवस्थामा दयाहाङलाई चाहिँ धेरैले प्रशंसा गरेका थिए । तर हुँदै आउँदा तपाईं पनि उही मार्काको ‘स्टार‘ बनेर निस्कने ट्रेजेडी होलाजस्तो देखियो । मैले एउटा कवितामा संकेत पनि गरेको थिएँ । तपाईंलाई जाँदै गरेको बाटो कहाँ पुग्दैछ जस्तो लाग्छ ?



दयाहाङ : नवीन दाइले पनि लेखि नै सक्नुभयो । तपाईंले पनि कवितामार्फत भनि नै सक्नुभयो । जे होस्, दुवै जना सही हुनुहुन्छ । व्यक्तिगत रूपमा हेर्दा मचाहिँ दुविधामा छु ।

नवीन दाइले भन्नुभएजस्तै मैले दासढुंगापछाडिका सिनेमालाई गर्वले मेरो सिनेमा भन्न अलि अप्ठ्यारै छ । एक हिसाबले लोकप्रिय भएँ होला, त्यो अलग कुरा हो । किन दुविधामा छु भने मैले सिनेमा चिन्न थालेको लामो समय भएको छैन । मैले सिनेमा हेरेको नै निकै पछाडि हो । त्यो सिनेमा हेर्दा जादूजस्तो लागेको थियो । मैले राजेश हमाल दाइकै सिनेमा हेरेको थिएँ कसम भन्ने । हिन्दी सिनेमा बुझिनँ । अनिल कपूरको सिनेमा थियो त्यो । सिनेमा हेर्दा मलाई आकर्षण त गर्यो तर सिनेमामा काम गर्छु भन्ने हिसाबले आकर्षण गरेन ।

तर जो कसैको मनभित्र एक किसिमको अहम् हुँदो हो । अथवा तपाईंले भनेजस्तो आफू हिरो हुन खोज्ने प्रवृत्ति हुँदो हो । त्यसले पनि काम गर्यो होला । नवीन सुब्बाको ‘नुमाफुङ’ हेरेपछि म दुविधामा परेँ र ठानेँ, हाम्रो पनि त सिनेमा हुँदोरहेछ नि । त्यसपछि मैले आफूलाई आफैंले खोज्न थालेँ । अभिनय गर्न थालेँ, सिक्न थालेँ, बुझ्न थालेँ । तर जति बुझेको छु, त्यो पर्याप्त होइन । जति देख्नुभएको छ, त्यो सम्भावना बढी देख्नुभएको हो । जुन समयमा आम मानिसले एक किसिमले फरक अनुहार देख्दा अचानक राम्रो भएको जस्तो लागेको हो कि ! अथवा अचानक आकर्षण बढेको हो कि ! तर मैले कति गर्न सक्छु भन्ने मेरो क्षमता र मेरो बुझाइले अरू कुरा निर्धारण गर्छ होला । म जति बुझ्छु, त्यो कुरा पनि निकाल्न सक्दिनँ । किनकि आफैंले आफैंलाई फ्याँक्ने प्रक्रियामा म कमजोर छु होला । यो संगत, बहस हुँदा पनि म आत्तिएको हुन सक्छु । मेरो आफ्नो कुरा भयो हो ।

मैले गरेको सिनेमामा भएका त्रुटी विशेषतः समयको कुरामै भएको छ । समय भनेको सिनेमाभित्रको समय पनि र त्यसको मेकिङ गर्दै गरेको समय पनि ।


एकजना मेकर आउनुहुन्छ हल्लाको भरमा, दयाहाङलाई लियो भने फिल्म चल्छ भनेर । चल्नेको पछाडि लाग्नुहुन्छ । भन्नुहुन्छ, ‘यो त तपाईंबाहेक कसैले गर्न सक्दैन ।’ तर यस्तो होइन, किन गर्न नसक्ने ? मैले गर्नेचाहिँ के छ ?

हामी साथीहरूबीच पनि छलफल हुन्छ, हामीले यो कथा किन भन्ने त, यो कथाचाहिँ ठिक छ कि छैन त, कुन तरिकाले भन्ने त, हामीले कसरी स्थापित हुने त भनेर । तर यो बहसमात्रै हुन्छ, पेपरमा निस्किन्न । हाम्रो दिमागमा हुन्छ, तर काम गर्दै जाँदा बनिरहेकै जस्तो नियमित सिनेमाले तानिरहेको हुन्छ । सायद, यस्ता कुरामा म पनि अडिग छैन, मेरा साथीहरू पनि । अर्को कुरा, ऋचाले भनेको भोकको कुरा पनि हो ।

यहाँ ९० प्रतिशत सिनेमामा चर्चित भइन्छ, नाम पनि आउँछ, दाम पनि आउँछ आइरहेका हुन्छन् । विशेष गरी लगानी गर्नेहरू त्यसरी आउनुहुन्छ । उहाँहरू भन्छुहुन्छ, ‘मैले त हेर्नुस् यसरी यति लाख लिएर आएको छु । यो जसरी पनि उठाउनुपर्छ ।’ अनि हामी पनि कसरी उठाइदिने भन्ने सोच्छौं । अनि अरू त गर्न सकिन्न, हिजो त दर्शकले यो कुरा मन पराउनुभएको थियो, त्यही गर्ने भन्ने सोच्छौं र हामी दर्शकको पछाडि लाग्छौं । यही कुराले धेरै त्रुटी भइरहेको छ ।

मैले यो कुरा बहसमा ओकल्छु होला, टिममा गएर पनि गर्छु होला । तर अर्को कुरा हाम्रो चिया गफ यस्ता धेरै कुरा सिध्याइदिन्छ । मूख्य कुरा त सिनेमालाई हाम्रो समाजले राम्रो तरिकाले हेर्दैन । अर्को कुरा, हामीले हाम्रो समाजलाई सिनेमा के हो भनेर बुझाउन सकेका छैनौं । त्यही कुराले गर्दा होला, सायद हामीले हाम्रो समाजको हाम्रो सिनेमा बनाउन नसकिरहेको ।



संगीत : स्क्रिप्ट राइटर राम्रो नआएको कारण पनि सिनेमा यस्तो बनेको हो कि भन्ने प्रश्न पनि छ, तपाईं के भन्नुहुन्छ ?

ऋचा : हामीलाई धेरै लागेको कुरा हो यो । धेरै नेपाली कथा छन्, जुन ‘अनएक्सप्लोरर्ड’ छन् । हाम्रैवरिपरि छन् । हामी अझै पनि अरूको कथा खोजेर नै सिनेमा बनाइरहेका छौं । हामीसँग धेरै स्क्रिप्ट राइटर पनि हुनुहुन्छ । तर चल्न र चलाउनकै लागि सिनेमा बनाउनेको भीड ठूलो भएको छ उद्योगमा । किनभने जो पनि आएर सिनेमा बनाउन सक्ने स्थिति छ, अभिनेत्री–अभिनेत्री बन्न सक्ने स्थिति छ । कुनै क्राइटएरिया छैन । डाक्टर बन्नलाई एमबिबिएस गर्नुपर्ने भन्नेजस्तो क्राइटएरिया नेपाली सिनेमामा छैन । त्यसैले गर्दा पनि हामीले गुणस्तरीय काम गर्न नसकेको हो कि भन्ने लाग्छ । सिनेमाको आत्मा कथा हो, त्यसैमा हामी चुकिरहेका हुन्छौं ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects