(निशा राई )
टोलको एकजना शुभचिन्तक आन्टी प्रायः सोधिरहन्छिन्– हैन तिमी
बिहेचाहीँ कहिले गर्ने नि?
म अलि फिल्मी पारामा स्टाइल मारेर जवाफ दिन्छु– मन परेको मान्छे पो
लोग्ने बनाउने नत्र सिंगलै ठीक।
एकदिन आन्टीले ममीलाई भनेकी थिइन् रे, ‘तपाईंकी छोरी उत्ताउली छे, टेढो
टेढो जवाफ दिन्छे।’
हो, म उत्ताउली भएँ। किनकी जीन्दगीको महत्वपूर्ण निर्णय बिहेलाई कसैले
शालीनतासँग जोडेर प्रश्न सोध्यो, मैले त्यसको सिधा जवाफ मात्र दिएको
हो।
पछिल्लोपल्ट शितल दाहालले लेखेको मेरो बिहे किन हुँदैन? लेखले मलाई असाध्यै
छोयो। मैले पनि एकपल्ट जिस्क्याएर उनलाई सोधेकी थिएँ– ए दिदी बिहे नगर्ने?
कि धनी केटा खोज्दै हो? उनले हाँस्दै जवाफ फर्काएकी थिइन्–मजस्तो आफैं
काम गरी खानेले के धनी केटा खोज्नुपर्यो। मलाई बिहे गर्ने केटा चैँ धनी हुन्छ
बुझ्यौ। उनको जवाफपछि हामी मरीमरी हाँसेका थियौ। ठट्यौली गफको
मिठो सन्देश असाध्यै चित्तबुझ्दो थियो– लोग्नेको भरमा नपर्ने जीवन रोज्ने।
तर समाजको आँखामा यस्ता ठट्यौली गफ दिने केटीहरू वेशरमी हुन्छन्। शालीन
केटीहरू त खुरु खुरु सुन्छन् जवाफ फर्काउँदैनन्। झण्डै दुई वर्षअघि मेरो एकजना
साथीको बिहेको कुरा चलिरहेको थियो। केटापक्षले केटी शील स्वभावकी छ
कि छैन भनेर अफिसमा चेकबुझ गर्न पठाएछन्। पत्रकारिता गरिरहेकी बोलक्कड
स्वभावकी मेरी साथीले सुईको पाइछे अनि केटाको घरमै गएर भन्दिछे-मेरो
सयजना केटा साथी छन्, मुश्किलले दश जना होलान् केटी साथी। पहिले एउटा
ब्वाईफ्रेन्ड पनि थियो अहिले ब्रेक अप भइसक्यो। बाहुनकी छोरी हुँ जड्याँहा त
होइन तर वाइन अलि अलि खान्छु।
केटीको त्यत्रो आँट देखेर केटापक्षले बिहेको प्रस्ताव तुरुन्तै रोके। पोथी जो
बासेकी थिई त्यसमाथि ब्वाईफ्रेन्ड पनि बनाइसकेकी। बिग्रेकी केटीको ट्याग
पनि भिरिसकेकी थिई उसले। महिनौ दिनसम्म घरमा गाली खाई। तर ऊ खुसी
थिई। उसको शालीनता चेक जाँच गर्न आउनेलाई घरमै गएर गतिलो जवाफ
दिएकी थिई। मेरी साथी अहिले अमेरिकामा पढ्दैछ। भलै केटापक्षका लागि ऊ
बिग्रेकी साबित भई तर अहिले अमेरिकामा पढाईसँगै मस्त जीन्दगी बाँचेकी छे।
मेरो ममीको एकजना मिल्ने साथी थिइन्। अग्लो सलक्क परेको शरीर अनि
लामो कपाल भएकी। सानो हुँदा उनले फरर अंग्रेजी बोलेको देख्दा हामी दंग
परेर हेर्थ्यौ। अझ देब्रे हातले चुरोट समाएर रातो लिपिस्टक लगाएको ओठमा
घुसारेर फ्वाँ फ्वाँ धुँवा उडाको देख्दा त क्या बोल्ड केटी हुँदी हो भन्ने
लाग्थ्यो मलाई। उनको घरमा विदेशी कुईरे साथीहरू आइरहन्थे। चारतारे
होटलमा नौ-पाँचको जागिरे भएपनि सिलाई बुनाईको काम गर्थिन्। साह्रै
मिहनेती थिइन्। सानो छँदै आमा बितेको, बाबु जड्याँहा थिए रे। आन्टीले
आफनो भाइहरुलाई छोरा मानेर स्याहारेकी थिइन्। सधैँ घर व्यवहार चलाउन
पैसा कमाउनपर्छ भन्थिन्। सानो सानो थैली सिउँथिन् अनि विदेशमा बेच्थिइन्।
चालीस वर्षसम्म मनले खाएको मान्छे नपाएर विहे नगरेपछि उनलाई टोलमा
बिग्रेकी महिला भनेर कुरा काट्नेहरु धेरै थिए। उनी अरू महिलाभन्दा अलिक
फरक थिइन्। राम्रो अंग्रेजी भाषाकै कारण धेरै विदेशी साथीहरु भए। मिहनेती र
मिजासिलो स्वभावले धेरै साथीहरुको मन जितेर देश-विदेश चहारिन्। बिहे
उनको पहिलो रोजाईमा कहिल्यै परेन। तर बिहे नगरेकै कारण मान्छेहरू उनलाई
बिग्रेकी आईमाई भन्थे।
धेरै कुइरे साथीहरुसँग हिँड्छे, घुम्छे त्यो चरित्रहीन छे भन्थे। राम्रै कमाईका कारण
उनी भनेको जस्तो लाउन खान सक्ने हैसियतकी भइन्। डेढ वर्षअघि मात्रै
आन्टीको बिहे भयो ४५ वर्षको उमेरमा। समाजका लागि ढिलो उमेरमा बिहे
गर्ने उनी बिग्रेकी आईमाई थिइन् तर जीन्दगी आफ्नै मर्जीमा रमाईलो गरी
गरी बिताउन पाइन्। त्यो उनको मनको रमाइलो सत्य हो।
के वेपरवाह जीवन बिताउने यीनीहरूले सानो कुरामा खुसी हुने हर्कतको मूल्य
चुकाउन बिग्रेकी केटीको ट्याग भिर्नैपर्छ? त्यही पात्र जब हामी टेलभिजनमा
देख्छौं वाह वाह गरेर ताली पिट्छौ। तर किन वास्तविक जीवनमा
यीनीहरुलाई फ्लप पारिन्छ।
उहिले बाल्मिकीको रामायणमा पवित्रताको अग्निपरीक्षा सीताले
दिएकी थिइन्। एक्काइसौं शताब्दीमा आफै काम गरी खान्छु भन्ने केटीहरूले
पवित्रताको परीक्षा क–कसलाई दिनपर्ने हो?



0 comments:
Post a Comment