कुवेतका नेपालीहरूको कथा

मध्यपुर्वमा पर्ने कुवेत रोजगारीका लागि उपयुक्त गन्तव्य मानिन्छ । सुरक्षा र कमाइका हिसाबले अन्य मुलुकभन्दा कुवेत राम्रो भएको त्यहाँ बस्ने नेपालीहरूको अनुभव छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार झन्डै ९० हजार नेपालीले त्यहाँ रोजगारी पाइरहेका छन् । एक कुवेती दिनार बराबर नेपाली ३ सय ५४ रुपैयाँ ६३ पैसा हुन्छ । बढी कमाइ हुने भएकाले पनि धेरै नेपाली कुवेतप्रति आकर्षित छन् । रोजगारीका लागि कुवेत पुगेका नेपालीहरूको भोगाई उनीहरूकै शब्दमा :

नेपालको झझल्को
सन् २००४ को अन्त्यतिर म कुवेत आइपुगेको थिएँ । त्यतिबेला अरू देश जान धेरै पैसा चाहिन्थ्यो । त्यस बेला म एसएलसी परीक्षाको असफल नतिजापछि भौंतारिरहेको थिएँ ।
घर छोडेर एक दिन पनि बाहिर ननिस्किएको म विदेश कस्तो हुन्छ, कल्पनासम्म थिएन । काठमाडौंबाट दिल्ली हुँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा अनौठो लागेको थियो । एयरपोर्टमा हामीलाई लिन गाडी आयो । सीधै कम्पनीमा पुर्‍याएपछि बल्ल थाहा भयो, त्यो क्लिनिङ कम्पनी रहेछ । तीन दिनको तालिमपछि ड्युटीमा पठाए ।
महिनाको ७ हजार ५ सय तलब पाइयो । चार घन्टा दैनिक ओभरटाइमले मुस्किलले १२ हजार पुग्थ्यो । मेरो दाजु सुपरभाइजर भैसकेकाले नयाँ सम्झौताअनुसार ड्युटी परिवर्तन गरिदिनुभो । त्यो अमेरिकन कम्पनी रहेछ, जसमा शुक्रबार पनि काम हुन्थ्यो ।  मासिक १० हजार दिन्थ्यो । तलब र ओभर टाइम गरेर २०/२२ हजार कमाइ हुन्थ्यो । त्यो कम्पनी के कारणले हो बन्द भयो अनि त्यसपछि मलाई बैंकमा चिया बनाउने काममा पठाइयो ।

केही महिनापछि मैले नयाँ कम्पनीमा सर्ने मौका पाएँ । झन्डै ४५/४७ हजारजति तलब हुन्थ्यो । पानीजहाजसम्बन्धी काम थियो । ओभर टाइम नहुने, ड्युटी पनि ८ घन्टा मात्र, ठीकै थियो तर एक वर्ष नबित्दै पेट्रोलियम कम्पनीमा त्योभन्दा राम्रो अवसर पाएको हुँदा फेरि कम्पनी सरें, जुन कम्पनीमा अहिलेसम्म कार्यरत छु ।

ड्युटी मिलाएर इच्छुक कामदारहरूले पढाइलाई निरन्तर दिन पनि भ्याएका छन् । अर्कातर्फ विभिन्न राजनैतिक, सांस्कृतिक, समाजसेवी तथा जातीय संघसंस्थाहरू पनि भएकाले दूतावाससँग सहकार्य गरी विभिन्न कामहरू पनि हुँदै आएका छन् । कतिले आफ्नो रुचिअनुसारको संस्थामा आबद्ध भएर चर्चामा कमाएका छन् ।

अरु खाडी राष्ट्रको तुलनामा कुवेत राम्रै छ । राम्रोसँग ध्यान दिएर काम गरे आफैंले व्यापार गर्न सकिन्छ । धेरै नेपालीले यसरी नै व्यवसाय सञ्चालन गर्दै आएका पनि छन् । अहिले यहाँका सुपर मार्केटहरूमा सेल्स, क्यासियर, सेक्युरिटी, क्लिनर प्राय: नेपालीहरू नै भेटिन्छन् । पब्लिक बसमा प्राय: ड्राइभर नेपाली नै भेटिन्छन्, रेस्टुराँमा वेटर सेफ प्राय: नेपालीहरू नै छन् । रेस्टुराँ, पसल अनि क्रेन, कार्गोजस्ता व्यवसाय गरेर बसेका नेपालीहरू पनि प्रशस्तै छन् ।
दिलकुमार पाख्रिन केराबारी, मोरङ

नेपालीका लागि रोजगारीको राम्रो गन्तव्य

रोजगारीका लागि कुवेत निकै राम्रो गन्तव्य हो । त्यही रहरले म पनि नुवाकोटको देउरालीबाट ५ वर्षअघि कुवेत पुगें ।
यहाँको ग्लास सेन्टर भन्ने कम्पनीमा मैले म्यानेजरको जिम्मेवारी सम्हाल्दै आएको छु । परदेशमा भए पनि ड्युटीबाट आफ्नो समय बचाएर आफू जन्मिएको, हुर्किएको समाज र देशका लागि रचनात्मक, परोपकारी कामहरू गर्न पाउँदा गर्व र खुसी लाग्छ । भिन्न देशको भिन्न संस्कारमा रहँदा कहिलेकाहीं दु:ख–कष्ट पनि झेल्नुपर्दा आफ्नो देशको झल्झली सम्झना आउँछ ।
कुवेत बसाइले साथीभाइ धेरै कमाएँ जस्तो लाग्छ । मलाई ‘लामा भाइ’ भनेर सम्मान र माया गर्ने सबै जना मेरो जीवनकै सबैभन्दा ठूलो कमाइ हुन् । मैले रातदिन नभनी ड्युटीको समय मिलाउँदै एउटा अनलाइन (परदेशीखबर डटकम ) पनि चलाइरहेको छु । यो अनलाइनबाट सामाजिक विकास, परिवर्तन, उत्प्रेरणाजस्ता विषयका समाचार सम्प्रेषण गरिरहेको छु ।

कुवेतमा ड्युटी गर्दै समय मिलाएर अध्ययन गर्ने केही नेपाली पनि छन् । पढ्दै, काम गर्न गार्‍हो छ । यो कुरा सानो मेहनतले सम्भव छैन । इच्छाशक्ति, मेहनत, जाँगर, समय एवं आर्थिक व्यवस्थापन मिलाउनु उति सहज छैन । भारतीय विश्वविद्यालबाट सम्बन्धनप्राप्त केही इन्स्टिच्युटले अध्ययन गर्ने अवसर जुटाइदिए पनि नेपालको तुलनामा यहाँको शिक्षा निकै महँगो छ ।

कुवेत रोजगारी र आम्दानीको हिसाबले हामी नेपालीका लागि मध्यपूर्वको सबैभन्दा राम्रो गन्तव्य हो । सीप र अंग्रेजी भाषाको राम्रो ज्ञान छ भने राम्रो र आकर्षक रोजगारी प्राप्त गर्न सजिलो हुन्छ । यहाँ आउनुभन्दा पहिले सीप सिक्ने, भाषाको ज्ञान लिने, कडा मेहनत गर्छु भन्ने आत्मविश्वास लिएर आउने हो भने पछि पछुताउनु पर्दैन ।

कुवेत अरू खाडी मुलुकभन्दा राम्रै छ । मेहनत, सीप हुने र कामप्रति इमान्दार हुने हो भने बढुवा हुने सम्भावना हुन्छ । समयमा तलब भुक्तानी, बिमा, हप

कुवेत अरू खाडी मुलुकभन्दा राम्रै छ । मेहनत, सीप हुने र कामप्रति इमान्दार हुने हो भने बढुवा हुने सम्भावना हुन्छ । समयमा तलब भुक्तानी, बिमा, हप्तावारि बिदा, बिमारी बिदा, आकस्मिक बिदाजस्ता कुरा कामदारले पाउँछन् ।

मासिक तलबका आधारमा प्रतिघण्टा तलबको निर्धारण हुन्छ । कम्पनीको व्यवसायअनुसार अतिरिक्त समयको व्यवस्था हुन्छ । 

अहिले कुवेतमा दूताबास हुँदा श्रमिकहरूलाई हरेक समस्या समाधान गर्न सजिलो भएको छ । दुई देशबीच दौत्य सम्बन्धमा पनि केही प्रभाव परेको छ । यद्यपि आमनेपाली श्रमिकको अपेक्षाअनुसार भने काम हुन बाँकी नै देखिन्छ ।
लामा भाइ, कुवेत

कुवेतमा धेरै कुरा सिकियो

रोजगारीका लागि कहाँ जाने कुनै टुंगो थिएन । जागिर खोज्दै जाँदा कुवेतमा आउने अवसर पाइयो । यता आएको पाँच वर्ष भयो । हाम्रो देशमा देख्न–भोग्न नपाएको कुरा यहाँ सिक्न–भोग्न पाइयो ।
घर–परिवारसँग टाढा हँुदाको पीडा भैरहन्छ । चाडपर्वमा आफ्नो परिवारसँग टाढा हुँदा मनमा पीडा हुन्छ, तर कहिलेकाहीं काम गरेबापत स्याबासी पाउँदा भने खुसी मिल्छ । म इकोभर्ट एफएम कम्पनीमा सन् २०१० देखि साइट प्रोजेक्टको सिफ्ट सर्भिसेस कोर्डिनेटरका रूपमा कार्यरत छु ।
मैले काम गर्ने यो खाडी देशभित्रको एकमात्र क्यान्सर रोग लागेका बालबालिकाहरूका लागि चिकित्सकदेखि लिएर विभिन्न मनोरञ्जक सुविधाहरू भएको अस्पताल हो । यहाँ मेरो कम्पनीले दिएको पदको हकमा ५ कार्य क्षेत्र छन्, जसमा सेक्युरिटी, लेन्ड स्क्याप, लन्ड्री, क्लिनिङ र किचेनमा काम गर्नेहरूको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।

यहाँको गर्मी भने मलाई पटक्कै मन पर्दैन । यहाँको संस्कार हाम्रो भन्दा फरक छ । कुवेत आउन चाहनेहरूले आफू कुन कामका लागि आउन लागेको हो, राम्रोसँग बुझेर आउनु उपयुक्त हुन्छ । यहाँ बोलिने भाषा र सीप सिकेर आउनु राम्रो हुन्छ । कुवेतमा कम्पनीअनुसार सुविधा उपलब्ध हुन्छ । वर्षमा ३० दिन वार्षिक बिदा मिल्छ । कम्पनीले खान, बस्नदेखि सम्झौताअनुसारका सुविधाहरू उपलब्ध गराउँछ ।

सबै कम्पनीमा ओटीको व्यवस्था हुँदैन र भएकोमा पनि ओटी कम्पनीअनुसार प्रदान गरिन्छ ।
नैन कला राई, खोटाङ, दिक्तेल

कम्पनीले ठग्छन्
सन् २०११ मा म कुवेत आइपुगें । तीन वर्ष यतै काम गरें । त्यसपछि नेपाल गएर अहिले फेरी कुवेत आएको छु । कुवेत सानो देश भए पनि काम र कमाइको हिसाब सन्तोषजनक छ । कुवेत बस्दा नेपाली समुदायको बाक्लै उपस्थितिले खासै नियास्रो लाग्दैन । 
कुवेत सरकार र कानुन बलियो छ । कुनै पनि कम्पनीमा ३ वर्ष कामको अनुभव बटुलेपछि आफूलाई मन परेको कम्पनी रोजेर जान पाइन्छ । ऋण लिएर आउनेहरूको खासै कमाइ हँुदैन । सीप सिकेर, भाषा सिकेर आउँदा उपयुक्त हुन्छ । यहाँ कामदारको सुविधा दुई प्रकारका हुन्छन् । कम्पनीअनुसार आ–आफ्नै नियम हुन्छन् । ओभर टाइम पनि कम्पनीअनुसार हुन्छ । सामान्यत: ९ घण्टा काम गर्नुपर्छ । १२ घण्टा भए ओभर टाइम पाइन्छ । वर्षमा ३० दिन बिदा मिल्छ । बिरामी बिदा १५ दिन पाइन्छ तर कम्पनीले खासै छुट्टी दिँदैन । यहाँ दूतावास हुँदा धेरै सुविधाहरू पाएका छौं ।
हामीले भागेको समस्या तत्काल सुनुवाइ हुन्छ, तर अझै कामदारको हितमा सोचेजति काम भैरहेको छैन । कतिपय कम्पनीले कामदार ल्याउँदा बढी तलब दिने भने पनि पछि कम तलब दिन्छन् । यसरी ठग्दा हामीजस्ता सर्वसाधारण मर्कामा पर्छौं । यसमा दूतावासले पनि कामदारको पक्ष खासै पहल गर्न सकेको छैन ।
आङकाजी शेर्पा, ओखलढुंगा

कुवेतमा समाजसेवा
म कुवेत आएको चार वर्ष भयो । राम्रो रोजगारी, सुरक्षाका दृष्टिकोणले अन्य खाडी मुलुकभन्दा राम्रो भएकाले मैले कुवेत नै रोजें । मैले अपेक्षा गरेजस्तै यहाँको बसाइ सुखद रह्यो । कुवेतमा विभिन्न नेपाली संघसंस्था छन्, तिनकै माध्यमबाट समाजसेवा गर्न पाइएको छ । कलाकार भएको नाताले नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने काममा सानोतिनो योगदान दिइरहेको छु । कलाकारिता र उद्घोषण मेरो रुचिको विषय हो । म यहाँ नेपाली कार्यक्रमहरूमा उद्घोषण गर्छु भने गीत पनि गाउँछु । नेपाल तामाङ घेदुङ कुवेत, लालिगुराँस सांस्कृतिक परिवार एवं परदेशी खबरमा आबद्ध भएकाले यिनै संस्था र अनलाइनको माध्यमबाट समाजसेवा पनि गर्छु । 
सुरेश ग्याबा तामाङ, भीमेश्वर, दोलखा

छुट्टिएर बस्न नरमाइलो लाग्छ
म सन् २००६ मा म कुवेत आईपुगें । यहाँ सीप हुनेलाई राम्रो छ । अवसरको कमी छैन । म ट्याक्सी चालक हुँ । यहाँ कुनै अभावको सामना गर्न पर्दैन । आफ्नो योग्यताअनुसारको सुविधा छ । यहाँको कानुनअनुसार ओटीको भुक्तानी काम गरेको ओटीको १.२५ ले गुणा दिनुपर्छ । मैले काम गर्ने पुरानो कम्पनीमा सोहीअनुसार पाइन्थ्यो । अहिले त म तलबमा काम गर्दिनँ । 
कोशराज राई, भोजपुर, हाल : कुवेत

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects