हात वा गोजीमा मोबाइल छैन भने तपाईं अझै ‘ढुंगे युग’मै हुनुहुन्छ । कतिपय मानिसले मोबाइल नभएको व्यक्तिलाई गिज्याउन वा होच्याउन यस्तै व्यङ्ग्यका शब्दको वर्षा नै गराउँछन् । यस अर्थमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कार्यरत दिनेश बाँस्कोटा अगाडि छन् । मोबाइलका सौखिन दिनेशका लागि मोबाइल नबोक्ने व्यक्ति हप्तौंसम्म व्यङ्ग्यात्मक शब्दले उडाउने पात्र नै बन्छ ।
प्रविधिमा आएको विश्वव्यापी परिवर्तनसँगै नेपालीहरू पनि यसभित्र हराउन र रमाउन थालिसकेका छन् । स्कुले विद्यार्थीदेखि वयोवृद्धसम्मको हातमा मोबाइल छ । मजदुरदेखि मालिकहरूको हातमा सम्म थरीथरीका मोबाइल छन् । गाउँमा खेताला डाक्नदेखि खेतमा पानी लगाउन मोबाइलमै सल्लाह हुन्छ । सार्वजनिक कार्यक्रममा अथिति डाक्न निमन्त्रणा पत्र बोकेर धाउनुपर्ने बाध्यता मोबाइलले नै अन्त्य गरिदिएको छ ।
आजभोलि मोबाइल फोन पहिलेको फोनजस्तो कुराकानी गर्नमा मात्र सीमित छैन । मोबाइल फोनले गर्दा अहिलेसम्म सरकार र विभिन्न निकायबाट पाइरहेका सेवा, वस्तु र अवसर समयमै प्राप्त हुन थालेको छ । मोबाइल फोनले मनोरञ्जन, खेलकुद वा सार्वजनिक कार्यक्रम वा कार्यस्थलमा प्रवेश गर्ने प्रवेशपत्र वा टिकटको काम गर्न थालेको छ । बस र प्लेनको टिकट पनि मोबाइलमै आउँछ । मोबाइल बैंकिङ यसको एउटा उदाहरण हो । इमेल चेकिङ, इन्टरनेट बैंकिङ मोबाइलका अन्य फाइदाहरू हुन । नेपालमा मोबाइल प्रयोगकर्ताका बारेमा अध्ययन गरिरहेको संस्था आइसिटी नेपालका निर्देशक अखिल सिटौला भन्छन्– ‘हामीले नेपालका कुना–कन्दरासम्म पुगेर अध्ययन गर्दा मोबाइल नबोकेका मानिस फेला पार्ने मुस्किल भयो, बालबालिका र एकाध वृद्धबाहेक सबैको हातमा मोबाइल भेटियो । अध्ययनमा सामेल भएका प्रयोगकर्तामध्ये ७५ प्रतिशतले मोबाइलमै इन्टरनेटको सुविधा लिएको पायौं ।’
दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एक अध्ययनले २०१४ सम्मको तथ्यांकअनुसार नेपालमा ९८ दशमलव ४३ प्रतिशत मानिसमा दूरसञ्चार सेवा पुगेको छ । त्यसमध्ये ८७ प्रतिशत मानिस मोबाइल प्रयोगकर्ता छन् भनिएको छ । यही तथ्यलाई आधार मान्दा नेपालका हरेक वर्ग र समुदायमा मोबाइलको पहुँच सहजै पुगेको छ । दूरसञ्चार प्राधिकरणको प्रतिवेदनले नेपालमा हरेक महिना कम्तीमा २ लाख ५० हजार मोबाइल प्रयोगकर्ता बढिरहेको देखाउँछ । २०५६ सालमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा ल्याएपछि मोबाइलको प्रयोग प्रारम्भ भएको थियो । त्यसपछि यसका प्रयोगकर्ताहरू असीमित संख्या बढ्दै गए ।
हरपलको साथी
वास्तवमा मोबाइल हलपलको साथी नै बनेको छ । यदि आफ्नो मोबाइल हरायो वा कतै छुट्यो भने दिनभरको काम चौपट हुन्छ । दिनभरको कामका योजना लथालिंग हुन्छन् । कुनै दिन एकघण्टा मात्र सबै मोबाइल प्रदायक कम्पनीको सेवा अवरुद्ध भयो सिंगो राष्ट्रकै अर्थतन्त्रदेखि हरेक क्षेत्रमा ठूलो असर पर्छ । जावलाखेलका रेस्टुराँ व्यवसायी प्रेमराज अधिकारी एक घण्टा मात्र सेवा अवरुद्ध भए राष्ट्रले नै ठूलो क्षति बेहोर्नुपर्ने र त्यसको परिपूर्तिका लागि हप्तौं कुर्नुपर्ने बताउँछन् । स्मार्ट फोनका सौखिन अधिकारी भन्छन्– ‘मैले चौबीसै घण्टा मोबाइल मार्फत इन्टरनेट प्रयोग गर्नुपर्छ ।’
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालभर विभिन्न खालका फोन प्रयोग गर्ने उपभोक्ताको संख्या करिब साढे २ करोडजति छ । फिक्स टेलिफोन प्रयोगकर्ताको संख्या घटेको छ भने मोबाइल प्रयोगकर्ता बढेका छन् । करिब २ करोड ५० लाख मानिसको हातमा मोबाइल छ । त्यसमध्ये अधिकांशले स्मार्ट फोन मार्फत इन्टरनेट चलाउँछन् । जसमध्ये नेपाल टेलिकमका ५३ प्रतिशत उपभोक्ता छन् भने एनसेलका ४५ प्रतिशत छन् ।
नेपाली बजारमा करिब ८० ब्रान्डका स्मार्ट फोन पाइन्छन् । ती सबैमा इन्टरनेटमार्फत विश्व चिहाउन पाइन्छ । फेसबुक, भाइबर, टुइटर, स्काइपजस्ता सोसियल मिडियाहरू स्र्माटफोनमै प्रयोग गर्न पाइने भएपछि मानिसहरू इन्टरनेट एडिक्सन नै भएका छन्, जसमार्फत छिटो र छरितो सूचना आदनप्रदान गर्न सहज भएको छ । भर्चुअल संसारमा रमाउन चाहनेहरूका लागि त स्मार्टफोन र त्यसमा इन्टरनेट कनेक्सन अनिवार्य हुन्छ । नेपालमा मोबाइल सेटको बिक्री अत्यधिक बढेर जानु यसका प्रयोगकर्ताको संख्या बढेको कुराको पुष्टि हो । ५ हजारदेखि १ लाख रुपैयाँसम्मका सेटको बिक्री पाँच गुणाले वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
मोबाइलमै बन्छ चलचित्र
ठूलो मुभी क्यामेराबाट मात्र चलचित्र बनाउन सकिन्छ भन्ने भ्रम छ भने अब त्याग्ने बेला भएको छ । अब मोबाइलकै सहायताबाट लघु चलचित्र तथा म्युजिक भिडियो बन्न थालेका छन् । कतिपय ब्रान्डका मोबाइलमा एचडी र फूल एचडी क्षमताको क्यामेरासमेत हुन्छ । चलचित्र निर्माताहरूले सन् २००५ देखि नै स्मार्टफोनको सहायताले चलचित्र बनाउन थालेका हुन । ती चलचित्रलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवको आयोजनासमेत हुन्छ । ट्याब्लेट, स्मार्ट, फ्याब्लेटको सहायतामा राम्रो लघु चलचित्र तथा भिडियो बनाउने प्रतिस्पर्धा नै चल्न थालेको छ । नेपालमा पनि मोबाइलबाट खिचिएका लघु चलचित्रबीच प्रतिस्पर्धा गराउने क्रम प्रारम्भ भएको छ ।
एपको अर्कै संसार
स्मार्टफोनको प्लेस्टोरमा गएपछि एपहरूको संसार देख्न पाइन्छ । एप डाउनलोड गरेर प्रशस्त सुविधा लिन सकिन्छ । मोबाइल प्रयोगकर्तालाई नै ध्यानमा राखेर एप बनाउने प्रतिस्पर्धा पनि छ । नेपालमै निर्माण भएका एपहरू लाखौं मोबाइल प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । जसमध्ये नेपाल लोडसेडिङ, नेपाली पात्रो, केएमजी जस्ता एप धेरैको रोजाइमा पर्छन । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न स्मार्टफोनमा फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एप, गुगल, स्काइप आदि धेरै एप्सहरू उपलब्ध छन् । एपमा आन्तरिक ‘कल’मा पनि ‘फ्रि कल’को सुविधा मात्र नभइ डिक्सनरी, पात्रो, म्याप, अस्पताल, रेस्टुराँ, होटल, ट्याक्सी भाडा, बैंक अकाउन्ट, नेप्से, लोकेसनलगायतका सुविधा उपयोगी मानिन्छन् ।



0 comments:
Post a Comment