माछा बेच्ने मछिन्द्र


कुन क्षेत्रमा करियर बनाउने ? अहिलेका तन्नेरीहरूसँग सोध्ने हो भने जवाफ
अनेक खालको आउन सक्छ । जस्तो कसैलाई राम्रो आम्दानी हुने बैंकिङ वा
चिकित्सा क्षेत्रले तान्न सक्छ । कोही नाम र प्रतिष्ठाका निम्ति
कलाकारिता वा राजनीतिमा भविष्य बनाउन चाहन्छन् । विरलै तन्नेरी
यस्ता होलान्, जो कृषिकर्ममा होमिन चाहन्छन् । तिनै विरलै तन्नेरीमा
पर्छन्— मछिन्द्र उप्रेती ।
निर्वाहमुखी खेतीमै अल्झिरहेकाहरूमाझ मछिन्द्र किन फरक छन् भने उनले
यो कर्मलाई उन्नत र अनुकरणीय ढंगबाट गरिरहेका छन् । रोचक त के छ भने
उनी त्यस्ता तन्नेरी हुन्, जो अस्ट्रेलियाको पिआर (स्थायी बसोबास
अनुमति) त्यागेर खेती–किसानीमा लागे ।
उप्रेतीले चितवन, भण्डारास्थित आफ्नै घरजग्गामा माछा पालेका छन् ।
त्यही सग्लो माछा काठमाडौं ल्याउँछन् र जिउँदै बिक्री गर्छन् । अथाह
लगाव र परिश्रमबाट उनी उपभोक्तामाझ ‘ताजा माछा’ पस्किरहेका छन्

मरेको माछा बिक्री हुने बजारमा उनको प्रवेश आफैंमा स्वागतयोग्य
थियो । यसमा उनी सफल पनि भए । यो सफलताको पछाडि रोचक कथा
लुकेको छ ।
विद्यार्थी राजनीतिमा जमिरहेकै बेला मछिन्द्र बिदेसिएका थिए,
विद्यार्थी भिसा बोकेर । पढाइको बहानामा कमाउन ग्रिस पुगेका
उप्रेती तीन साता नबित्दै घर फर्किए । यद्यपि बिदेसिने मोहभंग भएन ।
उनी पुन: अस्ट्रेलिया उडे । यसपालि भने उनको भाग्य बलियो थियो ।
‘त्यहाँ दुईवर्षे कम्युनिटी वेलफेयर वर्क कोर्स सिध्याएपछि क्याजुअल
वर्करका रूपमा काम गर्न थालें,’ साप्ताहिकसँगको कुराकानीमा
मछिन्द्रले भने– ‘सँगै स्नातकोत्तर पनि गरें ।’ ठीक त्यही बेला उनले काम
गरिरहेको संस्थाले नयाँ शाखा सञ्चालन गर्ने भयो, जसले मछिन्द्रका
निम्ति रोजगारीको ढोका खोलिदियो । अन्तत: उनी नयाँ शाखामा
राम्रै ‘पोजिसन’मा काम गर्न थाले । आकर्षक कमाइ, सेवा–सुविधा, सबै
पुग्दो थियो । त्यससँगै उनले अस्ट्रेलियामा स्थायी बसोबासका लागि
अनुमति (पिआर) पाए ।
अस्ट्रेलियामा जमिरहेकै बेला बिदा लिएर उनी नेपाल आए, चीनको
बाटो हँुदै । एक चिनियाँ साथीको इंगेजमेन्टमा निम्त्याइएका उप्रेती
केही दिन सांघाईमा अल्झिए । त्यही अल्झाइले उनको वाटो
मोडिदियो ।
‘त्यहाँको बजारमा जिउँदो माछाको कारोबार भैरहेको देखेर मलाई
अनौठो लाग्यो । किनभने काठमाडौंमा त मरेको माछा मात्र बेचिन्छ,
त्यो पनि फर्मालिन हालेर’ मछिन्द्रले भने– ‘मलाई जिउँदो माछा बेच्ने
काइदा गजबको लाग्यो ।’ अन्तत: उनी काठमाडौंमा पनि यसरी जिउँदो
माछा बेच्न सकिन्छ कि भनेर घोत्लिन थाले ।
नेपाल आएपछि उनले परिवारलाई त्यही सल्लाह दिए, जुन उनले सांघाईको
बजारमा देखेका थिए । सुरुमा कसैले पत्याएनन् । बिस्तारै उनले परिवारको
मन पगाले र चितवनस्थित आफ्नै १० बिघा जग्गामा डेढ दर्जनजति पोखरी
बनाए । त्यसमा माछाका भुरा हाले अनि अस्ट्रेलिया फर्किए ।
‘जिउँदो माछा बेच्ने’ सोच एवं अवधारणा जति–जति परिपक्व हुँदै गयो,
उत्तिनै उनलाई नेपालले तानिरह्यो । आखिर उनी घर फर्किए, केही
समयको छुट्टी मिलाएर । ‘काठमाडौंको जडीबुटीमा सानो सटर
भाडामा लिए, इनडोर पोखरी बनाए,’ उनले सम्झिए । अब मुख्य काम
बाँकी रह्यो, माछालाई जिउँदै चितवनवाट काठमाडौं ल्याइपुर्याउने ।
उनले यस विषयमा स्वअध्ययनवाट थोरबहुत ज्ञान लिएका थिए, तर
व्यवहारिक अनुभव शून्य थियो । ‘सांघाईमा जिउँदो माछाको बजार
देखेको थिएँ,’ उनले भने– ‘त्यसलाई जिउँदै भण्डारण गरेर बिक्री गरिने
प्रविधिका सम्बन्धमा सामान्य जानकारी पनि थियो तर त्यो पर्याप्त
थिएन ।’ उनले इन्टरनेटबाटै उक्त प्रविधिका सम्बन्धनमा अध्ययन गर्न थाले
अनि, आफ्नै हिसाबले माछालाई जिउँदै ढुवानी गर्ने प्रविधि बनाउन
कस्सिए ।
प्लास्टिकको ट्यांकीमा अक्सिजन प्रवाह गराए । त्यसभित्र माछा हाले
। अनि भाडाको गाडीका काठमाडौं ल्याए । यो प्रयास त्यति
फलदायी भएन । सय किलोग्राम जति माछा मरे । बचेका केही माछा पनि
किन्ने ग्राहक आएनन् । केही समय यस्तै अवस्था कायम रह्यो ।
उनले चाबहिलको खाली जग्गा भाडामा लिएर पोखरी र टहरा बनाए ।
त्यहाँ केही ‘ठूलाबडा’ उनको काम देखेर प्रभावित मात्र भएनन्, प्रचारसमेत
गरिदिए । ग्राहकहरू आउन थाले । त्यसले राम्रै प्रतिफल दिन थालेपछि उनले
बानेश्वरको थापागाउँमा अर्को सटर लिएर माछा बिक्री गर्न थाले ।
यतिबेलासम्म उनको परिकल्पनाले मूर्त रूप लिइसकेको थियो । जिउँदो
माछा बजारमा पुर्याउने कुरामा उनी अनुभवी भैसकेका थिए । अहिले
उनको ‘चितवनको जिउदो माछा’ले छुटै ब्रान्ड बनाइसकेको छ

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects