दुलही बन्दैछिन् रीमा


आश्विन ८, २०७२-
सुन्दर, शिक्षित तथा अनुशासित नायिकाका रूपमा सुपरिचित रीमा विश्वकर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । २३ वर्षअघि गुलरिया, बर्दियामा जन्मिएकी रीमाले धरानका स्थायी बासिन्दा रोबर्ट ल्वागुन (विश्वकर्मा) सँग लगनगाँठो कस्न लागेकी हुन् । रोबर्ट र रीमा पर्सि आइतबार काठमाडौंको बौद्धस्थित हयात होटलमा सम्पन्न हुने वैवाहिक समारोहपछि औपचारिक रूपमा दुलाहा–दुलही बन्नेछन् ।
विगत १४ वर्षदेखि बेलायतमा बस्दै आएका रोबर्टसँग रीमाको भेट एक वर्षअघि भएको हो । रीमा र रोबर्टकी साथी सञ्जु कालीकोटेमार्फत उनीहरूको चिनजान भएको हो । ‘सञ्जुमार्फत चिनजान भएको छोटो समयमै हामीले एक–अर्कालाई मन पराउन थाल्यौं, मंगलबार राति साप्ताहिकसँग कुरा गर्दै रीमाले भनिन्— ‘प्रेममा परेपछि हामी दुवैले आ–आफ्नो परिवारमा कुरा राख्यौं । हामी दुवैको परिवारका सदस्यहरूबीच कुराकानी भएपछि अन्तत: विवाह गर्ने निर्णयमा पुग्यौं ।’ रीमाका अनुसार उनीहरूको विवाहलाई ‘लभ प्लस एरेन्ज’ भन्न सकिन्छ । बेलायतको रिडिङमा बसोबास गर्ने रोबर्टले गणितमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । रिडिङकै प्रतिष्ठित भेरिजन इन्टरप्राइजेजमा ट्रान्सफर्मेसन प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत रोबर्ट रीमासँग विवाह गर्न एक साताअघि नै काठमाडौं आइसकेका छन् ।
विवाहलगत्तै बेलायत जाने कि नजाने भन्ने विषयमा रीमाले अहिले नै कुनै निर्णय गरिसकेकी छैनन् । ‘तुरुन्तै त जान्नँ,’ रीमा भन्छिन्— ‘म सधैंका लागि त जाँदै जान्नँ ।’ विवाह गरेपछि पनि अभिनय कर्मलाई निरन्तरता दिने रीमाको योजना छ । ‘म नेपाल र बेलायत आउने–जाने गरिरहन्छु,’ रीमाका अनुसार अहिले पनि उनले करिब आधा दर्जन चलचित्रको काम पूरा गर्न बाँकी नै छ । ती सबै काम पूरा भएपछि मात्र उनी श्रीमान्लाई भेट्न बेलायत पुग्नेछिन् ।
पछिल्ला केही महिनायता रीमाले प्रेमका बारेमा आकर्षक अभिव्यक्तिहरू सार्वजनिक गर्दै आएकी थिइन् ।
‘प्रेम संसारको सबैभन्दा सुन्दर अनुभूति हो, पछिल्लो पटक रीमाले प्रेमलाई परिभाषित गर्दै भनेकी थिइन्— ‘विवाहचाहिँ त्यही प्रेमलाई अघि बढाउने र कसैप्रति प्रतिबद्ध हुने अनुपम माध्यम ।’ रोबर्टसँग प्रेमसम्बन्ध गाँसिसकेपछि उनका यी अभिव्यक्तिहरू सार्वजनिक भए पनि रीमाले आफ्नो प्रेम तथा विवाहका बारेमा आफ्ना नजिकका सहकर्मीहरूलाई समेत कुनै जानकारी दिएकी थिइनन् ।
रोबर्ट र रीमा विगत एक वर्षदेखि नै फेसबुकमा साथी भएको देखिन्छ, तर रमाइलो कुरा के छ भने दुवैले आफ्नो फेसबुकमा एक–अर्काका बारेमा कुनै पनि तस्बिर तथा सामाग्री पोष्ट गरेका छैनन् । पछिल्लो एउटा पोस्टमा रोबर्टले ‘लञ्च विद रीमा विश्वकर्मा’ लेखे पनि
आफ्नो मात्र तस्बिर राखेका छन् ।
रीमा विश्वकर्मा नेपाली मनोरञ्जन क्षेत्रमा अलराउन्डरका रूपमा चिनिन्छिन् । २०५४ सालमै नेपाल टेलिभिजनको बाल कार्यक्रम ‘जाँदाजाँदै’ मार्फत प्रस्तोताका रूपमा आफ्नो करियर प्रारम्भ गरेकी रीमाले केही वर्ष सञ्चारकर्मीका रूपमा समेत काम गरिन् । पत्रकारितामा स्नातक रीमाको अभिनय कौशललाई दर्शकले रुचाएका छन् । ‘सफल नायिका बन्न राम्री भैरहनु नपर्ने तर अभिनय गर्न सक्ने क्षमता हुनुपर्छ भन्ने धारणा व्यक्त गर्ने रीमा कुनै पनि युवती राम्री भए पनि अभिनय गर्न आउँदैन भने चलचित्र क्षेत्रमा नआएकै राम्रो भन्ने सुझाव दिन्छिन् ।
टेलिभिजनकर्मीका रूपमा केही वर्ष काम गरेपछि रीमा ५ वर्ष अघि म्युजिक भिडियोमार्फत ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी हुन् । प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘स्वर’बाट नायिकाका रूपमा पदार्पण गरेकी रीमाले यो अवधिमा ‘भिजा गर्ल’, ‘ऋतु’, ‘भाले फाइट’, ‘सिक्स फिट लाइफ’, ‘स्केप’, ‘बाटोमुनिको फूल–२’ आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् । रीमाले अभिनय गरेको पछिल्लो चलचित्र ‘भाले फाइट’ आज शुक्रबार नै प्रदर्शनमा आउँदैछ । संयोग कस्तो परेको छ भने ‘भाले फाइट’ मा रीमा र अभिनेता बाबु बोगटीबीच पनि विवाह भएको दृश्य समावेश छ । दुवैले विवाह गरेको चलचित्रको उक्त दृश्य गत बुधबारमात्र सार्वजनिक भएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects