भूकम्पले कम दु:ख दिएको थिएन कि ? बाढी र पहिरोले दु:ख दिइरहेको छैन कि ? यद्यपि अपसोच लाग्छ– दु:ख दिनलाई यी प्राकृतिक प्रकोपहरूले पनि नपुगेर नेपालमा जनतालाई सबैभन्दा दु:ख दिने चीज राजनीति भएको छ । जनता त्रास, आतंक र दिग्दारीको वातावरणबाट उम्कन के खोज्दै थिए देसमा कहिल्यै नटुङ्गिने बन्द नामको कुसंस्कारले जनता डस्ने काम सुरु भैहाल्यो ।
अब त थाहा भैसकेको छ— जनतालाई बन्द किमार्थ स्वीकार्य छैन । कसैलाई अलोकप्रिय वा बदनाम हुनुछ भने बन्द गरोस् तर नबुझिएको कुरा, यस्तो अलोकप्रिय काम कुनै दल, समूह वा गुटहरू किन गरिरहन्छन् ?
यहींनेर कुराको चुरो छ । मानिसले नेपालमा रोजगारीको सबैभन्दा राम्रो सम्भावना राजनीतिमा देख्छ । कोही राजनीति किन गर्छ ? कसैलाई देश बनाउँm भन्ने छैन । कहाँबाट बढी फाइदा हुन्छ ? हरेक राजनीतिक दल वा त्यसका नेताको चासो त्यतिमात्र हो । नेपालमा सबैभन्दा कमाउ पेसा यदि केही हो भने, त्यो राजनीति नै हो भन्ने कुरामा कसैको दुईमत नहोला । यहाँ डाक्टर, इन्जिनियर, पत्रकार, लेखक, कलाकार, शिक्षक वा अरू रोजगारीभन्दा कमाउ पेसा राजनीति नै मानिन्छ । अरू कसैलाई आउँदैन, उनीहरूलाई मात्र बन्द र हड्ताल गर्दा पनि पैसा आउँछ । नेताहरू अस्थिर वातावरण सिर्जना गरेर आफ्नो पेसालाइ स्थिर बनाइरहेका हुन्छन् ।
देशको सबैभन्दा कमाउ पेसाप्रति अधिकांश व्यक्तिको आकर्षण बढ्नु अस्वभाविक होइन । वातावरण यस्तो बनिरहेको छ, कि हामी भविष्यमा गुण्डा, लिडर र भ्रष्ट मन्त्रीहरू उत्पादन गर्ने शिक्षा र संस्कारद्वारा परिवेष्ठित छौं ।
हरेक घरमा गएर सोधौं, त्यहाँका सबै सदस्य, कुनै न कुनै पार्टीसँग निकट हुन्छन् । फलानो त कांग्रेस हो नि, चिलानो त माओवादी हो वा कोही एमाले होलान् । हरेक मान्छे, कुनै न कुनै गुटमा, दलमा आबद्ध भएकै हुन्छ । नभए यो देसमा टिक्न पनि सकिँदैन ।
चार वर्ष युरोपमा स्कलरसिपमा पढेर आएका मेरा एक मित्र जागिर खान देशमा भएका विभिन्न आफन्तजनलाई भनसुन गर्दै हिँडिरहेका थिए । उनका भिनाजुले एक ठाउँमा कुरा गर्दिए । धेरैभन्दा धेरै एनजिओ चलाइरहेको पार्टीका एक नेताले सोधेछन्, ‘हाम्रै पार्टीको मान्छे हो कि होइन ?’
यस्तो छ देसको संस्कार । कुनै न कुनै पार्टीमा भएन भने हन्डर, ठक्कर खाएरै मरिन्छ कि भन्ने हुन्छ । पहिले–पहिले योग्य–योग्यका बीच प्रतिस्पर्धा हुन्थ्यो हिजोआज कसको सोर्स बलियो भनेर प्रतिस्पर्धा हुन्छ । कुनै सरकारी अस्पतालदेखि कुनै संस्थानसम्म कुनै बोर्डको सञ्चालक समितिको पददेखि देशको कुनै पनि निकायको पोस्टिङ, बढुवा वा सरुवा नै किन नहोस्, कसको पावर बलियो ? यहाँ चैँ हुन्छ खुब प्रतिस्पर्धा । हरेक क्षेत्रलाई राजनीतिले छ्याप्पै रंगाइदिएको छ । यसैले देसमा सबैभन्दा स्कोप भएको पेसा राजनीति नै भएको छ । गाउँ, सहर, टोल, वडा कुनै पनि ठाउँ अछुतो छैन । देशका सबै क्षेत्र राजनीतिले बिटुल्याइ दिएको छ । योग्यहरू फ्रस्टेड छन् । अयोग्यहरूको हालीमुहाली छ । अनि कहाँ बन्छ देश ?
कुन पार्टी ठीक– कुन बेठीक ? भन्ने कुरा मूल्याङ्कन गरेर भोट हाल्ने जनता एकदमै कम छन् । आफूलाई कुनले फाइदा दिन्छन् ? यहि हेरिन्छ । यसैगरी बसिरहेछ राजनैतिक कुसंस्कार । यहाँ जनताभन्दा नेता बढी छन्, संघ, संगठन त कति हो कति ? तीन जना मान्छे गफ गरेर बसिरहेका छन् भने तीमध्ये दुइ पक्कै कुनै संघ वा संगठनको कुनै पदाधिकारी हुन्छन् ।
राजनीति आफैंमा खराब र बदनाम चीज होइन । एउटा निश्चित दायरा र मर्यादामा बसेर गर्यो भने राजनीति देशका हरेक पक्षको व्यवस्थापन गर्ने सबैभन्दा बलियो संयत्र हो । देस बनाउने पनि यही संयन्त्रले हो, देश बिगार्ने पनि यही संयत्रले हो ।



0 comments:
Post a Comment