दसैंको सातौं दिनलाई फूलपाती वा महासप्तमी भनिन्छ । सप्तमीका दिन बेलपत्र,
धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लव
दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । नयाँ पालुवाहरू
घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया)
तथा विभिन्न प्रकारका नकारात्मक कीटाणु एवं जीवाणुहरू औषधीय पालुवाको
प्रभावले घरमा रहन सक्दैनन् । उक्त दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप
केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका
पातलाई पूजी प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।
यी नौ पातमा क्रमश: ब्रहमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा,
कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक–एक गरी आव्हान गरेर
सोह्र सामग्रीले पूजिन्छ । गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती
काठमाडौँको जमलमा ल्याई बढाइँ गर्दै हनुमानढोका दरबारमा भित्र्याइन्छ्र
महाअष्टमी
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा गरिन्छ ।
पूजापश्चात् देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदिको बलि दिइन्छ ।
शाकाहारीले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्छन् ।
काठमाडौँको तलेजु भवानीको मन्दिर यसै दिन सर्वसाधारणका लागि खुल्ला
गरिन्छ भने दसैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र
त्यति नै बोका बलि चढाइन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई
कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
महानवमी
नवरात्रिको नवांै दिन सिद्धिदात्री देवीको पूजा हुन्छ । यसै दिन बिहान
कलपुर्जा, हातहतियार तथा सवारीका साधनहरू आदिमा बलि चढाउँदै
विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यसै दिन २ देखि १० वर्षसम्मका
नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको शास्त्रसम्मत अर्थ त्याग गर्नु हो ।
काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट— यी दस प्रकारका
विकारलाई त्याग्नु नै बलि दिनु हो । कामको प्रतीक बोका, क्रोधको प्रतीक
राँगा, लोभको प्रतीक भेडा, मद, मात्सर्यको प्रतीक कुखुरा र हाँसलाई मानिन्छ ।
यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानिसमा कामुकता, क्रोध, लोभ, मोह
एवं अहंकार उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ
अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो ।
विजया दशमी
भगवान् रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजयादशमी
भनिएको हो । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको नौ
दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न
तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसको बीचमा माटाका देवीका तीन
प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी,
दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आव्हान र सोह्र सामग्रीले पूजा
गरी यथाशक्ति हवन गरिन्छ । त्यसपछि जमराको पूजा गरी भगवती दुर्गा, अन्य
देवदेवीहरूलाई चढाई आरती एवं पुष्पाञ्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफू
माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि आवाहनं
नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी मन्त्र
पढ्दै चन्दन, अक्षता, फूल छर्कंदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई
विसर्जन गर्नुपर्छ । देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक
मन्त्र पढी जलाशयमा लगी सेलाएपछि घडाको जलले अभिषेक गरी देवीलाई
चढाइएको रातो अनि सेतो वस्त्रको कपडा प्रसादका रूपमा घाँटीमा लगाइन्छ ।
अन्त्यमा घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको
चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणाका साथ आशीर्वाद
दिइन्छ ।
टीका लगाइदिँदा दिने आशिष :
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो
श्रीसम्पत्ति प्राप्त होस् भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको
जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान,
सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र
युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको
जस्तो कीर्ति
प्राप्त होस् ।
यो अवसरमा लगाइने टीकाले मानिसको मस्तिष्कमा रहेको विकार हटाई
पराक्रमी पुरुषार्थी भावको विकास गर्ने मान्यता छ । मजिठोको रातो रङमा
गाईको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो
शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क एवं विचारलाई शुद्ध
चेतनायुक्त बनाउँछ ।
दसैंको टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि दसैं अन्त्य हुन्छ
। यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन
गर्दै वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।



0 comments:
Post a Comment