संघर्षको कथा: कुनै बेलाका सुकुम्बासी ओली यसरी बने मुलुककै कार्यकारी प्रधानमन्त्री

काठमाडौं, २४ असोज । उखानटुक्का प्रयोग गरेर भाषणलाई रसिक र रोचक बनाउन खप्पिस
तथा खरो स्वभावका केपी ओली मुलुकको ३८औं प्रधानमन्त्री बनेका छन् । संसदको दोस्रो
ठूलो पार्टी नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका उनी
व्यवस्थापिका संसदमा आईतबार भएको निर्वाचनमा अर्का प्रत्यासी काँग्रेस सभापित
एवम् निवर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा
निर्वाचित भएको हुन् । निर्वाचनमा ओलीको पक्षमा ३ सय ३८ र कोइरालाको पक्षमा
२४९ मत खस्यो । जम्मा ५ सय ८७ मत खसेको थियो । ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा
तेस्रो ठूलो दल एमाओवादी र चौंथो ठूलो दल राप्रपा नेपालको सहयोग निर्णायक रह्यो ।
को हुन् केपी ओली ?
नेपाली राजनीतिमा केपी ओलीको नामले परिचित रहेपनि उनको वास्तविक नाम
खड्गप्रसाद ओली हो । उनको जन्म वि.सं.२००७ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा
भएको थियो । उनका बुबाको नाम मोहनप्रसाद तथा आमाको नाम मधु ओली हो । २०२२
सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट
पार्टीको सदस्यता लिएका थिए ।
उनी २०२८ सालको झापा आन्दोलनको नेतृत्वकर्ता मध्ये एक हुन् । ओली तत्कालिन नेकपा
(माले) को संस्थापक मध्येका एक नेतासमेत हुन् । उनले लामो समयसम्म जेल जीवन बिताएका
थिए । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट
प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए ।
२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा
पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी
झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन् । हाल उनी नेकपा
एमालेको संसदीय दलका नेता पनि हुन् ।
आफ्नो साढे ४ दशक लामो राजनीतिक यात्रामा ओलीले उपप्रधानमन्त्री, गृहमन्त्री तथा
एवं परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
सुकुम्बासीदेखि प्रधानमन्त्रीसम्मको यात्रा !
डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल हजुरबा र हजुरआमाको काखमा
जन्मस्थान इवामा नै बित्यो । उनले प्रारम्भिक शिक्षा त्यहीँको इवा प्रणामी उच्च
माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि)बाट लिए । २०२२ सालमा उनको
परिवार तेह्रथुमबाट झापा बसाईं सर्यो । झापाको सुरुङ्गास्थिन कन्काइ नदी किनारमा
बसोबास गर्ने उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । झापा झरेको केही
वर्षमै कन्काई नदीले घरजग्गा सबै बगाएर लग्यो । त्यसपछि ओली परिवार सुकुम्बासी बन्न
पुग्यो ।
पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो ।
चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए ।
दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो । विद्यार्थी छँदादेखि नै ओली
मीठो र प्रष्ट ढंगले बोल्न खप्पिस थिए । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक
विद्यालयमा पढाउन थाले । तर राजनीतिक सक्रियतासँगै उनले त्यो पेशालाई निरन्तरता
दिन सकेनन् ।
झापा झरेदेखि नै राजनीतिसँग नजिकिएका ओलीले औपचारिक रुपमा कम्युनिष्ट पार्टीको
सदस्यता भने २०२६ सालमा लिएका हुन् । त्यसपछि उनी भूमिगत भए । पञ्चायती शासन
विरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे । त्यसपछि निरन्तर १४
वर्षसम्म जेल जिवन बिताए ।
२०४८ सालदेखि उनले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा काम गर्दै आए ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी भएपछि ओली पार्टीको आन्तरिक
पदमा हरेकपटक सफल हुँदै आएका छन् । पार्टी अध्यक्षदेखि संसदीय दलको नेताबन्दै
प्रधानमन्त्रीसम्म हुने क्रममा ओलीले तीन जना पूर्वप्रधानमन्त्रीलाई पराजित गरे ।
सुरुमा तत्कालीन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै
संसदीय दलको नेता चयन भएका ओलीले पार्टी अध्यक्ष बन्नेक्रममा अर्का पूर्वप्रधानमन्त्री
माधव नेपाललाई निरास पारे । त्यसपछि यसपटकको प्रधानमन्त्री निर्वाचनमा ओलीले
निर्वाचनमा निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालालाई
पराजित गरेका छन् ।
अबको चुनौती
संविधान जारी भइसके पनि तराई मधेसमा जारी आन्दोलन र भारतीय अघोषित
नाकाबन्दीको सामना गर्नु ओलीको पहिलो चुनौती हुनेछ । मधेसी दलहरुको जायज
मागलाई संबोधन गर्दै उनीहरुलाई सहमतिमा ल्याउने जिम्मेवारी ओलीको काँधमा आएको
छ ।
यसका अलावा भारतको अघोषित नाकाबन्दीको समाधान खोज्नु पनि ओलीको अर्को
चुनौती हो । भारतीय संस्थापन ओलीप्रति अहिले निकै अनुदार देखिएकाले यो चुनौती
सामना गर्नु उनका लागि फलामको च्यूरा चपाउनु सरह हुनेछ ।
अर्कोतर्फ ओलीको सत्ता गठबन्धन पनि कम्ति आश्चर्य लाग्दो छैन । जनयुद्धबाट आएको
माओवादी र उग्र दक्षिणपन्थी धारको नेतृत्व गर्ने राप्रपा नेपाललाई संगै नार्न सफल
भएपनि मेलो सक्ने हुन् कि होइनन्, त्यसले ओलीको सफलता र असफलता निर्धारण गर्ने छ । दुई
बिलकुल फरक ध्रुवको नेतृत्व गर्ने दलहरुलाई संगै लिएर हिँड्नु उनका लागि चानचुने चूनौती
होइन ।
यी सबै परिस्थितिका बाबजुद् पनि उनको सबैभन्दा महत्वपूर्ण र दीर्घकालीन चुनौती
भनेको संविधानको सफल कार्यान्वयन नै हो । संसदको पहिलो दल तथा शान्ति
प्रक्रियामा यहाँसम्म आउँदाको प्रमूख सहयात्री नेपाली काँग्रेस प्रतिपक्षमा रहँदा
संविधानको सफल कार्यान्वयन गर्नु ओलीललाई निकै चुनौतीपूर्ण छ ।
मुलुकका ३८औं प्रधानमन्त्री केपी ओलीलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई !

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects