राष्ट्रपतिकी छोरी अनिताको आनीबानी

'म त सामान्य मानिस हुँ ।’ राष्ट्रपति पुत्री अनिता यादव आफैंले भने जस्तै उनीसँग शीतल निवासमा भेट्दा उनको आनिबानी, व्यवहार र सोच आमनागरिकको भन्दा कत्ति फरक थिएन । ‘शीतल निवास आउँदा नै मलाई थाहा थियो, निश्चित समयपछि मैले यो ठाउँ छाड्नुपर्नेछ ।’ उनका ओठहरू चल्मलाए, ‘यहाँ बस्दा मेरो जीवनशैली हाइफाइ रहेन ।’
सरल जीवन जिउन चाहने अनिता ठूला–ठूला रेस्टुराँ, क्याफे छिर्न रुचाउँदिनन् । काठमाडौंमा हुँदा साइकल चढ्न मन पराउने अनिता जन्मथलो जनकपुर पुग्दा रिक्सा चढ्छिन् । क्याजुअल पहिरनमा हिँड्ने यादव ममस् भनेपछि हुरुक्कै हुन्छिन् । जनकपुरको स्थानीय परिकार छोलामुरी पनि असाध्यै मन पर्छ । ‘त्यहाँ पुग्यो कि तलतल लाग्छ ।’ अनिता भन्छिन्, ‘एक प्लेटले पुग्दैन । दुई प्लेट अर्डर गर्छु ।’ नियमित खानपानमा भने उनी निकै सचेत छिन् । मन पर्दैमा धेरै खाने उनको बानी छैन । ‘बढी खायो भने एकातिर मोटोपन बढ्छ, अर्कातिर इन्द्रियहरूमाथि नियन्त्रण गर्न सकिँदैन,’ –अनिताले भनिन् ।
अनिता बिहान ६ बजे ब्युँझन्छिन् । जगिङ, शारीरिक अभ्यास र योग गर्नु उनको दैनिकी हो । एक–दुई गिलास पानी पिएपछि लेमन चिया पिउँछिन् । अनितालाई ग्रिन टी एकदम मन पर्छ । हरेक दिन ५ कप पिउँछिन् । दिउँसो आफ्नो रुचिका कार्यक्रमहरूमा सहभागी हुन्छिन् । फुर्सदमा शान्तसँग कोठामा बस्ने, संगीत सुन्ने, पुस्तक पढ्ने तथा चलचित्र हेर्ने अनिता मुडअनुसार हिन्दी, अंग्रेजी, नेपाली सबै खाले गीत सुन्छिन् । अन्जु पन्तको नर्बिर्से तिमीलाई, नपाए तिमीलाई उनलाई सबैभन्दा मनपर्ने गीत हो । सोधियो, ‘कतै आफ्नो जीवनमा मेल खाने भएर त होइन रु’ ‘होइन, अन्जुको स्वरमा मिठास छ ।’ अनिताले भनिन्, ‘म उनका गीतको भाव महसुस गर्न सक्छु ।’ केही अघि इन्दिरा गान्धीको जीवनी छिचोलेकी अनिता यतिबेला जवाहरलाल नेहरूको गिल्म्पिस् अफ वल्र्ड हिस्ट्री पढ्दैछिन् । त्यो पुस्तक उनकै बुबाले दिनुभएको हो । अनिताको जीवनमा सबैभन्दा बढी प्रभाव गीताले पारेको छ । जब जीवनमा कठिनाइ आइपर्छ तब उनी गीता पल्टाउँछिन् । त्यसो गर्दा आफूलाई सम्हाल्न, समस्याबाट बाहिर निस्किन मद्दत पुग्छ । उनलाई आफ्नो कर्मप्रति प्रतिबद्ध हुन गीताले आँखा खोलिदिए जस्तो लाग्छ । यादवले भनिन्, ‘गीताले अरूलाई सधैं राम्रो गर्न र आफ्नो रक्षा आफंै गर्न प्रेरित गर्छ ।’ ओशो र गान्धीका पुस्तकहरूले पनि उनलाई आकर्षित गर्छन् ।
बेलायतबाट स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी अनिता योग शिक्षक पनि हुन् । केमेन्डिस् कलेजबाट फेसन डिजाइनिङमा स्नातक तथा युनिभर्सिटी अफ सरेबाट हेल्थ एन्ड पोलिसीमा स्नातकोत्तर गरेकी यादवले ८ वर्ष बेलायतमा बिताइन् । कुराकानीको बीचबीचमा अंग्रेजी घुसाउँदै बोल्ने बानी लागेकी अनिता सुरुमा विदेश पुगेपछि निकै रोइन् । घरको यति सम्झना आउँथ्यो कि नेपाल फर्कन मन लाग्थ्यो । यताबाट बुबाको फोन आउँथ्यो, ‘कस्ती छौ छोरी रु’ उता अनिताका आँखाभरि आँसु हुन्थे । उनी मुख पुछ्थिन् । एकछिनपछि फोनमा बोल्थिन्, ‘ठीकै छु बुबा, ठीकै छु ।’ यसो भन्दा उनी भावुक भइन् र केही सम्झेजस्तो गरेर एकछिन् टोलाइन् ।
सामसुङको नोट थ्री मोबाइल प्रयोग गर्ने अनिता अचेल सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । तराईका घटनाहरूले उनको मन बिथोलेको छ । जातभात एवं सम्प्रदायका नाममा भैरहेका घटनाले तनाव थपिरहेको छ । हिंसात्मक घटनाबाट परिवर्तन होइन, ध्वंसमात्र हुने कुरामा जोड दिँदै उनी केही न केही लेखिरहन्छिन् । सबै कुरा बिर्सेर हामी नेपाली हौं भन्ने भावनाको खाँचो भएको उनले बताइन् । बीपी ग्रामीण सेवा केन्द्रकी अध्यक्ष अनिता सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । अनुज योग नामक संस्था खोलेकी अनितालाई योग सिकाउन मन छ तर के–के नमिलेको जस्तो लागिरहन्छ । खासगरी मुलुकको परिस्थितिका कारण काम गर्ने मुड छैन ।
अनितामा ब्रान्डेड सामान नै प्रयोग गर्नुपर्छ भन्ने भावना छैन । मनलाग्दा सस्तो सामान पनि किनिहाल्छिन् । आफूले २ सय रुपैयाँ पर्ने टिसर्ट पनि लगाएको उनले बताइन् । जिन्स र टिसर्टमा हिँड्न रुचाउने यादवलाई सारी र लेहेंगा पनि उत्तिकै मनपर्छ । लिपिस्टिक र गाजल प्रायस् नछुटाउने अनिता हरेक महिना ब्युटिपार्लर जान्छिन् । पूजाआजामा पनि उनको रुचि छ । भगवानमा विश्वास राख्ने अनिता साथीसंगी तथा बुबासँग बेला–बेला मन्दिर जान्छिन् । उनी भाग्यमा विश्वास गर्छिन् । कहिलेकाहीँ नसोचेको कुरा पनि पाइन्छ, कुनै कुरा पाउन जत्ति प्रयास गरे पनि सकिँदैन । यो सब भाग्यकै कारण भएको हो भन्ने उनको ठम्याइ छ । उनको नजरमा प्रेम रु दुस्मनलाई पनि जित्ने संसारमा कुनै कुरा छ भने त्यो हो, प्रेम । अनिताले प्रस्ट्याइन्, ‘प्रेमले एकअर्कालाई बाँध्छ ।’ अहिलेसम्म कुनै व्यक्तिको प्रेममा नपरेको बताउने अनिता विवाह आफ्नो हातमा हुँदैन भन्छिन्– भगवानले आफैं जोडी मिलाउँछन् ।
अबको केही समयपछि उनले शीतल निवास छाड्नुपर्नेछ । राजधानीमै बस्ने कि जनकपुर जाने कुनै योजना बनिसकेको छैन । ‘हामीलाई न पहाडले पत्यायो, न मधेसले ।’ अनिता भन्छिन्, ‘कोही विभाजित नहोस् । हामीबाट हाम्रो नेपालीपन कसैले खोस्न पाउँदैन ।’ बुबा राष्ट्रपति भएपछि चीन, जापान, कतार, कुवेत आदि देश घुमेकी अनितालाई अन्ततस् जनकपुर नै सबैभन्दा प्यारो लाग्छ ।
अनिता राति १० बजेतिर ओछ्यानमा पुग्छिन् । बिहान छिट्टै ब्युँझिन, ओछ्यानमा छिट्टै गए पनि कतिपय समयमा निदाउन सक्दिनन् । गीत सुन्दै, पुस्तक पढ्दै निदाउँदा ११ बजिसक्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects