स्पेनकी मिरियालाई मिस वल्र्डको उपाधि

‘म बाहिरी आवरणबाट सुन्दर भएकी कारणले म भित्रबाट नराम्री छु भन्ने होइन । मेरो विचारमा म नयाँ मिस वल्र्ड हुुनुपर्छ, कारण म शक्तिशाली महिलामा विश्वास गर्छु, म यो पनि विश्वास गर्छु कि म जहिल्यै मेरो उत्कृष्ट प्रस्तुति दिन्छु । म ब्युटी विथ पपर्समा पनि विश्वास गर्छु र यसको विरासतलाई म पनि निरन्तरता दिन चाहन्छु । हामी खुसी अनुभव गर्न सक्छौं जब हामी एक अर्काको सहयोगी बन्छौं ।’

६५औं संस्करणको विश्व सुन्दरी प्रतियोगिताको निर्णायक चरण उल्लेखित प्रभावशाली अभिव्यक्तिले नै बार्सिलोनाकी व्यवसायिक मोडल २३ वर्षिया मिरिया लालागुना रोयोलाई मिस वल्र्डको ताजको हकदार बनायो । उनलाई गत वर्षकी विजेता दक्षिण अफ्रिकाकी रोलिन स्ट्रसले मिस वल्र्ड २०१५ को ताज पहिर्‍याइदिएकी हुन् । मिस वल्र्ड प्रतियोगितामा विजेताको ताज जित्ने पहिलो स्पेनी सुन्दरी बन्न पुगेकी मिरियाले प्रतियोगितामा टप मोडलको उपाधि पनि आफ्नो नाममा सुरक्षित गर्न सफल भइन् । हाल फर्माकोलोजी अध्ययरनत उनी भविष्यमा पोषणसम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहन्छिन् । उनी फुर्सदको समयमा पढ्न, दौडन र भ्रमण गर्न मन पराउँछिन् । जाडो याममा उनी स्केइङ गर्न उत्तिकै रुचाउँछिन् ।

मिस वल्र्ड–२०१५ प्रतियोगिताको ग्रान्ड फिनाले गत १९ डिसेम्बरमा चीनको सान्या सहरस्थित क्राउन अफ ब्युटी थिएटरमा सम्मपन्न भएको थियो । विश्वका १ सय १४ मुलुकका सुन्दरीहरूको उपाधि दौडको यात्रामा रूसकी २२ वर्षीया सोफिया निकिचुक फस्ट रनर अप तथा इन्डोनेसियाकी २४ वर्षिया मारिया हार्फान्टी सेकेन्ड रनर्सअप विजेता बने । जमैकाकी सानिता माइरी चौथो स्थानमा आउँदा लेबनानकी भालेरी अबाउ चाक्रले पाँचौं स्थानमा चिक्त बुझाइन् ।

नेपालको तर्फबाट प्रतिनिधि बनेकी मिस नेपाल वल्र्ड–२०१५ इभाना मानन्धरले स्पष्ट रूपमा कुनै उपाधि हात नपारे पनि उनले डान्सेस अफ द वल्र्ड खण्डमा चयन भएर ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गरिन् । उनले नेवारी र नेपाली झ्याउरे नृत्यको फ्युजन प्रस्तुति दिएकी थिइन् । ब्युटी विथ पपर्स उपाधिमा इभाना पाँचौं स्थानमा रहिन् । प्रतियोगितामा ब्युटी विथ पर्पसको उपाधि इन्डोनेसियाकी मारिया हार्फान्तिले प्राप्त गरिन् । अन्य उपाधितर्फ गुयानाकी लिसा पुन्चले ट्यालेन्ट, फिलिपिन्सकी हिलारी पारुन्गाओले मल्टिमिडिया, भियतनामकी ट्रान जोक लान खुइले पिपुल्स च्वाइस अवार्ड प्राप्त गरे । यसैगरी वल्र्ड फेसन डिजाइनर ड्रेसेस् तर्फ भने इटालीकी ग्रेटी गलासी, मंगोलियाकी अनु नामस्रिन र पिअर्टो रिकोकी केसी भर्गास उत्कृष्ट ठहरिए । नयाँ विश्वसुन्दरी चयन गर्ने प्रतियोगिताका लागि निर्णायकहरूमा पूर्व विश्व सुन्दरीहरूको बाहुल्यता थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects