Ncell to Ncell Free Call

आजको राशिफल

राजेश, दिपक, दीपा, केकी र संजोगलाई नचाउँदै सकियो ‘नाई नभन्नु ल ४’


निर्देशक विकास आचार्यले करिब ३५ दिनमा आफ्नो नयाँ चलचित्र ‘नाई नभन्नु ल ४’को छायांकन
सकाएका छन् । चितवन र काठमाण्डौमा यो चलचित्रको छायांकन भएको छ । यसपटक चलचित्रमा
५ वटा गीत समावेश गरिएको आचार्यले बताए ।
वुधबार काठमाण्डौमा नेपाली चलचित्रका चर्चित कलाकारलाई राखेर एक लोकगीतको
छायांकन गरिएको छ । वसन्त सापकोटाको संगीतमा रहेको ‘उत्तरमा छन् है वुढाहाङ्’ बोलको गीत
खिच्दै छायांकन सकिएको घोषणा गरियो । यो गीतमा गायक राजेश पायल राई, कलाकारहरु
दिपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र संजोग कोइरालालाई पनि अतिथी
भूमिकामा देखाइएको छ । हाल चलचित्रको सम्पादन भैरहेको विकासको भनाई छ ।
यसपटक अघिल्ला ३ सिरिज भन्दा चलचित्रमा के फरक छ भन्ने प्रश्नमा विकासले भने-‘प्राविधिक
रुपमा त चलचित्र उत्कृष्ट बनेको छ । साथमा पारिवारिक बिषयवस्तु र कमेडीलाई यसपटक महत्व
दिइएको छ ।’
चलचित्रमा पि्रयंका कार्की, अनुभव रेग्मीलाई निरन्तरता दिइएको छ । साथमा पल शाह, बर्षा
राउत, आँचललाई नयाँ अनुहारको रुपमा चलचित्रमा लिइएको छ ।
निर्देशक आचार्यले म्यूजिक भिडियोमा काम गरिसकेका कलाकार भएकाले पनि काम गर्न गाह्रो
नभएको बताए । चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

दसैंमा चहलपहल बजारको


लत्ताकपडादेखि खाद्यान्न जोहो गर्नेसम्म, घरमा घोर्ले खसीदेखि टेलिभिजन
भित्र्याउनेसम्म, नयाँ मोबाइलदेखि गाडी फेर्नेसम्म सबैलाई चटारो छ, किनमेलको ।
त्यसैले त तराई बन्द र भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण
सुस्ताएको बजार क्रमश: तङ्ग्रिँदैछ । ठूला सपिङ मलदेखि फुटपाथका खुद्रा
व्यवसायी बेफुर्सदिला बन्दैछन् । शरद ऋतुको मनमोहक मौसममा खरिद–बिक्रीको
यो उपक्रमले दसैंको आगमनको छनक दिएको छ ।
अहिले नयाँ लुगा लगाउन र मीठो खान दसैं कुरिरहनुपर्ने बाध्यता छैन । यद्यपि दसैंकै
मेसोमा एक जोर नयाँ लुगा फेर्ने र इष्टमित्रको उपस्थितिमा मीठो–मसिनो खाने
आममनोविज्ञानले यतिबेला बजारमा क्रय–विक्रयको उपक्रम दोहोरिन्छ । दसैं
यस्तो अवसर पनि हो, जतिबेला नेपालीहरू आफ्नो घरमा सुख–समृद्धि भित्र्याउन
उद्यत् रहन्छन् । कर्मचारीले पाउने ‘दसैं भत्ता’, रेमिट्यान्स आदि कारणले नगद प्रवाह
पनि बढ्ने भएकाले यो लत्ताकपडा, खाद्यान्न मात्र होइन घरायसीदेखि
विलासिताका सामग्री जोड्ने राम्रो साइत बन्छ ।
यसैकारण चोक–गल्लीका खुद्रा व्यवसायीदेखि ठूला कम्पनीहरू ‘दसैं अफर’ सहित
प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्छन् । छुट, सेल, उपहार र विभिन्न अफरको
होडबाजीले उपभोक्तालाई आकर्षित गर्छ । परिणमत: दसैंको तिथि नजिकिएसँगै
बजारमा घुइँचो लाग्न थाल्छ । वर्षभरि हुने कारोबारको ३० प्रतिशत दसैं–
तिहारमा हुने व्यवसायीहरूको भनाइ छ ।
यतिबेला राजधानीका असन, इन्द्रचोक, न्युरोडजस्ता होलसेल तथा खुद्रा
पसलहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ । लुगाफाटो, खानेकुरा, पूजा
सामग्री आदि खरिद गर्नेहरूको त्यहाँ निकै ठूलो चहलपहल देखिन्छ । दरबारमार्ग,
पुतलीसडक, जावलाखेल जस्ता ब्रान्डेड आउटलेटमा ‘सेल’ सुरु भैसकेको छ । सामान्य
दिनमा भन्दा ४० प्रतिशतसम्म छुट पाइने भएकाले ती आउटलेटमा ब्रान्डेड
लुगाफाटा किन्ने उपभोक्ताको लस्कर लाग्न थालेको छ । चीनबाट आयात हुने
लुगाफाटा तथा जुत्ता–चप्पल किन्नेहरूको घुइँचोले पुरानो बसपार्कको सिटी
मार्केट, प्रदर्शनीमार्गस्थित हङकङ बजारमा छुट्टै रौनक थपेको छ । न्युरोड,
विशालबजारलगायतका ज्वेलरी पसलहरूमा पनि मनग्य कारोबार हुन थालेको
बताइन्छ । ठूला सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केटहरूमा पनि दसैंको रमझम
सुरु भएको छ । राजधानीका आधा दर्जनभन्दा बढी मलले उपभोक्ताका निम्ति
अतिरिक्त मनोरञ्जनसहित थुप्रै उपहार योजना सञ्चालनमा ल्याएका छन् । यस्तो
होडबाजीमा अन्तर्राष्ट्रिय कम्पनीहरू छुट्ने कुरै भएन । यी कम्पनीहरूले दसैं–
तिहारलाई लक्षित गरेर ‘वम्पर योजना’ सहित विशेष छुटमा आफ्ना उत्पादनलाई
बजारमा प्रस्तुत गरेका छन् । यसमा मोबाइलदेखि अटोमोबाइलसम्म
सामेल छन् ।
घर रंगाउने होस् वा झ्याल–ढोकाको पर्दा, बेडकभर फेर्ने, दसैं राम्रो बहाना हो ।
त्यसैले यतिबेला घरेलु सजावटका सामग्रीको कारोबार पनि उचाइमा पुग्छ ।
भाँडावर्तन, विद्युतीय सामग्री, मरमसला, फलफूल तथा माछामासुको खरिद–
बिक्री पनि चम्किएको छ ।
‘मीठो खाने’ यो पर्वमा मासुको कारोबार ह्वात्तै बढ्छ । यतिबेला राजधानीको
बागबजार, बल्खुजस्ता ठाउँका खसीबजारको रौनक पनि बढेको छ । दसैंमा नेपालभर
करिब २ अर्बको कुखुरा, खसी, बंगुर माछाको कारोबार हुने तथ्यांक छ ।

म कसैसँग पनि झूटो बोल्दिनँ


बेनिशा हमाल, अभिनेत्री
नेपाली चलचित्र तथा म्युजिक भिडियोमा यतिबेला नयाँ पुस्ताका केही
नायिकाको व्यस्तता लोभलाग्दो छ । नयाँ पुस्ताका प्रतिभाशाली
नायिकाहरूमा बेनिशा हमालको नाम अग्रपंक्तिमा आउँछ । एक सय ५० भन्दा बढी
म्युजिक भिडियोमा अभिनय गरिसकेकी बेनिशाले प्रसन्न पौडेलद्वारा निर्देशित
चलचित्र ‘स्वर’ मार्फत नायिकाका रूपमा पदार्पण गरेकी हुन् । उनले अभिनय गरेका
चलचित्रमध्ये ‘मोक्ष’ ले राम्रो चर्चा पाएको थियो । ज्यान हाजिर छ, म अनि
तिमी तथा महसुस चलचित्रमा समेत अभिनय गरेकी यी नायिकाले भरखरै
स्नातकोत्तर तह उत्तीर्ण गरेकी बेनिशाले आफ्ना गोप्य कुरा साप्ताहिकमार्फत
सार्वजनिक गरेकी छिन् ।
झूट बोल्ने संकेत
म प्राय: कसैसँग पनि झूटो बोल्दिनँ । म झूटो बोल्नु नपरोस् भन्ने कामना पनि
गरिरहन्छु तर कहिलेकाहीं परिस्थिति त्यस्तो आइपर्छ, झूटो नबोली हुँदैन । मैले कुनै
कुरा झूटो बोलिरहेकी छु भने म त्यसको संकेत पनि दिइरहेकी हुन्छु । झूटो बोल्ने
क्रममा मैले कुनै बेला फिंगर क्रस गरें भने बुझे हुन्छ, म झूटो बोल्दैछु ।
गिटार
म संगीतकी पारखी हुँ । गिटार मलाई सबैभन्दा मन पर्ने वाद्ययन्त्र हो ।
कहिलेकाहीं गिटार बजाउँछु पनि तर राम्रोसँग बजाउन आउँदैन । बजाउन नआए पनि
मलाई गिटारका सबै कर्ड्सका बारेमा राम्रो जानकारी छ । तिनै जानकारीका
आधारमा म कहिलेकाहीं घरमा गिटार बजाउने अभ्यास पनि गर्छु ।
कुक
म असाध्यै मीठो पकाउँछु, तर घरमा मात्र । अर्को शब्दमा भन्नुपर्दा म आफ्नो घरका
लागि बेस्ट कुक नै हुँ ।
मोबाइल अनलक
मलाई मेरा नजिकका केही साथीको मोबाइलको पासवर्ड कण्ठस्थ छ । अझ अचेल
मोबाइलमा प्याटर्नमार्फत अनलक गर्ने सुविधासमेत उपलब्ध छ । मलाई केही
साथीको मोबाइलको प्याटर्न समेत थाहा छ । रमाइलो कुरा के छ भने ती
साथीहरूलाई म उनीहरूको मोबाइल खोल्न सक्छु भन्ने कुराको जानकारी छैन ।
त्योभन्दा पनि रमाइलो कुरा म कहिलेकाहीँ उनीहरूको मोबाइल अनलक गरिदिन्छु
तर मोबाइलका कुनै पनि फङ्सन चलाउँदिनँ ।
अंग्रेजी साहित्य
मैले यही वर्ष अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेकी छु । नेपाली चलचित्र
तथा मोडलिङ क्षेत्रका थोरै शिक्षित कलाकारहरूको सूचीमा आफूलाई उभ्याउन
पाउँदा खुसी लागेको छ । अंग्रेजीमा स्नातकोत्तर गरेपछि अध्यापन पेसामा व्यस्त
हुन सकिन्छ भन्ने थाहा छ तर कलाकारितामा व्यस्त भएका कारण अहिले नै त्यो
पेसामा जान असमर्थ छु ।
६ देखि १२
म हरेक दिन बिहान ६ बजे उठ्छु । जति नै थकित भए पनि बिहान ६ बजे उठ्ने बानी नै
परेको छ । म मर्निङ वाक तथा योग गर्दिनँ । काममै यति धेरै व्यस्त भइन्छ कि फिट
हुन ती दुई काम गर्नै परेको छैन । म राति सुत्दा १२ बजिसकेको हुन्छ । कामै नभए पनि
टिभी हेरेर, इन्टरनेट चलाएर तथा पुस्तक पढेर कति बेला रातको १२ बज्छ, पत्तै हुँदैन ।
गायन
मेरा नजिकका साथीहरू मेरो स्वरको प्रशंसा गर्छन् तर म गीत गाउन सक्षम छु जस्तो
लाग्दैन । जीवनमा पहिलो पटक मैले एउटा बर्थपार्टीमा गीत गाएकी थिएँ ।
साथी रीमा विश्वकर्माले लेखेको ‘तिमी छौ र माया छ’ गाउँदा श्रोताहरूबाट
पाएको प्रशंसा अविस्मरणीय छ, तर व्यवसायिक गायिका बन्ने कुनै योजना छैन ।

चंखे शंखे पंखे अब विदेशमा


सुदर्शन थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन
हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रको
निर्माण संस्था आसुसेन फिल्म्स प्रोडक्सन तथा यूथ फर यूथ मिडियाबीच विदेशमा
चलचित्र प्रदर्शन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चलचित्रका निर्माता
सन्तोष सेन तथा मिडियाका अध्यक्ष बिजु बज्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका
हुन् ।
नेपालमा असोज ८ गते नै प्रदर्शन भएको यो चलचित्रलाई यूथ फर यूथ मिडियाले
अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया तथा कतारमा प्रदर्शन गर्ने अधिकार
पाएको हो । मिडियाले एक वर्षसम्म यी चार देशमा चलचित्र प्रदर्शन गर्नेछ ।
समारोहमा चलचित्रका निर्देशक तथा मुख्य अभिनेता सुदर्शन थापा र अभिनेत्री
पूजा शर्मा पनि उपस्थित थिए । सम्झौता अनुसार यूथ फर यूथ मिडिया हाउसले यो
चलचित्रले विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गर्नेछ । सम्झौता अनुसार
अष्ट्रेलियामा यो चलचित्रको पहिलो प्रदर्शन हुनेछ । दसैं तथा तिहारको बीचमा
अष्ट्रेलियामा प्रदर्शन प्रारम्भ गरिनेछ । अष्ट्रेलियापछि दक्षिण कोरिया,
अमेरिका तथा कतारमा पालैपालो यो चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
सुदर्शन थापाको निर्देशनमा सन्तोष सेनद्वारा निर्मित यो चलचित्रमा
भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाइएको यो चलचित्रमा युवा पुस्ताको
देशप्रेमको भावनालाई चित्रण गरिएको छ । चलचित्र सुदर्शन थापा, सुवास थापा,
पूजा शर्मा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, रविन्द्र खड्का, ध्रुव
कोइराला, राजाराम पौडेल, श्याम राई, रबिन्द्र झा आदि कलाकारले अभिनय
गरेका छन् । रामशरण पाठकको पटकथा–संवादको यो चलचत्रिमा ताराप्रकाश
लिम्बुको संगीत, अष्ट महर्जनको द्वन्द्व तथा गोविन्द राईको नृत्य निर्देशन छ ।

चाडपर्वमा घरको सुरक्षा कसरी गर्ने

चाडपर्वका बेला चोरी–डकैती हुने सम्भावना बढी हुन्छ । त्यसैले यतिबेला बढी
सर्तक रहनुपर्छ ।
– घरको झ्याल–ढोका राम्रोसँग लगाउनुपर्छ । महत्वपूर्ण सामग्रीहरू सुरक्षित ढंगले
राख्नुपर्छ ।
– घरबाहिर निस्कनुअघि टिभी, कम्प्युटर, पङ्खाजस्ता विद्युतीय सामग्री र
ग्याँस बन्द गर्नुपर्छ ।
– घरबाहिर जाँदा छिमेकी, आफन्तलाई
जानकारी दिनुपर्छ ।
– सम्भव भएसम्म नगद, गरगहनाजस्ता मूल्यावन् सामग्री घरमा राख्दा त्यति
सुरक्षित नहुन सक्छ ।

तिन बर्षमा तिनपटक ब्रेकअप


निर्देशक प्रभु देवाको चलचित्र सिंह इज ब्लिंगमा अक्षयकुमारकी कोस्टार एमी
ज्याक्सन आफ्नो लभलाइफका कारण सधैं चर्चामा रहिन् ।
तीन वर्षभित्र तीन पटक ब्रेकअपको सिकार भएकी एमी सन् १९९१ मा जन्मिएकी
हुन् । सेन्ट एडबर्ड्स कलेजबाट अध्ययन पूरा गरेर सिक्स्थ फार्मबाट इङ्लिस लिट्रेचरमा
उच्च शिक्षा लिएकी एमिले सन् २००८ मा मिस टिन वल्र्ड र सन् २००९ मा मिस
लिभरपुलको उपाधि जितेकी थिइन् । सन् २०१२ मा एमीले चलचित्र एक दिवाना
थाका कोस्टार प्रतीक बब्बरका साथमा डेटिङ सुरु गरेकी थिइन् । त्यसपश्चात्
उनीहरू मुम्बईको ब्रान्द्रास्थित एक अपार्टमेन्टमा साथै बसे । यद्यपी यी दुईको
सम्बन्ध धेरै टिकेन । सन् २०१३ मा एमीले बक्सर जोय सेलकिर्कका साथ डेटिङ गरिन्
तर जोयको रिसाहा स्वभावका कारण एमीले उक्त सम्बन्ध पनि तोडिन् । त्यसपछि
सन् २०१४ मा रयान थोमसका साथमा डेटिङ सुरु गरिन्, तर त्यो सम्बन्ध पनि नोभेम्बर
२०१४ सम्म मात्र टिक्यो । सन् २००९ मा एक इन्डियन फिल्म प्रोड्युसर्सले वेबसाइटमा
उनलाई देखेपछि अडिसन लिएर तमिल चलचित्र मद्रासापत्तिनममा काम गराए । सन्
२०१० मा यो चलचित्रबाटै उनले बेस्ट डेब्यु एक्टेसको एवार्ड हात पारिन् । बलिउडमा
भने सन् २०१२ मा निर्देशक गौतम मेननको चलचित्र एक दिवाना थाबाट करियर सुरु
गरेकी एमी सिंह इज किङ पश्चात् चाँडै भिआइपी–२ तथा गेथु और विजयजस्ता
चलचित्रमा देखिँदैछिन् ।

इनास एवार्डमा आर्यन र केकी


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले नेपालमा पहिलो पटक १४
विधामा ‘इनास एवार्ड–२०१४’ वितरण गरेको छ । तेस्रो इनास एवार्डमा अभिनेता
आर्यन सिग्देलले चलचित्र ‘नोभेम्बर रेन’ बाट उत्कृष्ट नायकको एवार्ड जितेका छन् भने
केकी अधिकारीले चलचित्र ‘बितेका पल’ बाट उत्कृष्ट नायिकको एवार्ड जितेकी
छिन् ।
करिब चार घण्टा चलेको समारोहमा ‘टलक जंग भर्सेस टुल्के’ ले उत्कृष्ट चलचित्रको
एवार्ड जित्यो । यही चलचित्रबाट निश्चल श्रेष्ठले उत्कृष्ट निर्देशकको एवार्ड हात
पारे । निर्देशक तुलसी घिमिरेलाई नगद १ लाख रुपैयाँ सहितको ‘लाइफ टाइम
एचिभमेन्ट एवार्ड’ प्रदान गरिएको समारोहमा दिवंगत अभिनेता श्रीकृष्ण
श्रेष्ठलाई ‘अमरतारा सम्मान’ प्रदान गरियो । नायिका तथा श्रीकृष्णकी
जीवनसंगिनी श्वेता खड्काले उक्त सम्मान ग्रहण गरेकी थिइन् ।
समारोहमा उत्कृष्ट छायाँकारको एवार्ड चलचित्र ‘कबड्डी’ का लागि पुरुषोत्तम
प्रधानले पाए भने ‘बितेका पल’ बाट विपिन मल्ल उत्कृष्ट सम्पादकका रूपमा पुरस्कृत
भए । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले चलचित्र ‘कबड्डी’बाट उत्कृष्ट लेखकको एवार्ड
पाए भने अर्जुन पोखरेलले चलचित्र ‘स्टुपिड मन’ बाट उत्कृष्ट संगीतकारको एवार्ड
हात पारे । यही चलचित्रबाट स्वरूपराज आचार्यले उत्कृष्ट पाश्र्व गायकको एवार्ड
जिते भने अञ्जु पन्तलाई पनि यही चलचित्रले पुरस्कृत बनायो । उत्कृष्ट गीतकारतर्फ
डा. कृष्णहरि बराल चलचित्र ‘नाइँ नभन्नु ल–२’ बाट पुरस्कृट भए । वसन्त श्रेष्ठले
चलचित्र ‘कोहिनूर’ बाट उत्कृष्ट नृत्य निर्देशकको एवार्ड जिते । चन्द्र पन्त चलचित्र
‘लज्जा’ बाट उत्कृष्ट द्वन्द्वको एवार्डको हकदार बनेको इनास एवार्डमा संगम
विष्टले चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट बाल कलाकारको एवार्ड हात पारिन् ।
मनोनयनमा परेर पनि एवार्ड नलिने घोषणा गरेका अभिनेता तथा गायक बाबु
बोगटी तथा नृत्य निर्देशक शंकर वीसी सम्मान गरिएको थियो । कलाकार
मुरलीधरलाई ‘विशेष सम्मान’ प्रदान गरिएको थियो । उक्त अवसरमा पपुलर
एवार्डतर्फ अभिनेत्री अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा तथा
चलचित्र ‘६ एकान ६’ पुरस्कृत भए । एवार्ड वितरण समारोहमा विदेशमा बसेर नेपाल
चलचित्रको क्षेत्रमा योगदान पुर्याउने निर्माता रमेश त्वयनालाई सम्मान गरिएको
थियो ।
केकी अधिकारी, नीता ढुंगाना, पवित्रा आचार्य, शंकर बीसी आदिको
रोमाञ्चक नृत्यले समारोह मनोरञ्जक बनेको थियो भने हास्यकलाकार विल्सन
विक्रम राई तथा शैलेन्द्र सिम्खडाको प्रस्तुति पनि आकर्षक रह्यो । कार्यक्रममा
कोमल वली, इन्दिरा थापा, प्रशान्त तामाङ तथा कपिल थापाले गायनमार्फत
दर्शकको मन जिते ।

भोली प्रदर्शितहुने चलचित्र स्नेह


मोडलिङबाट चलचित्र क्षेत्रमा आएका अभिनेता विकास चापागाईं मुख्य
भूमिकामा प्रस्तुत भएको चलचित्र ‘स्नेह’ को सार्वजनिक प्रदर्शन भोली शुक्रबार
प्रारम्भ हुँदैछ ।
दसैंको पूर्वसन्ध्या पारेर प्रदर्शन हुन लागेको यो चलचित्र सामाजिक प्रेमकथामा
आधारित छ । यो चलचित्रमार्फत प्रीति शाही ठकुरी नायिकाका रूपमा पदार्पण
गर्दैछिन् । अभ्युदय खनालले छायांकन गरेको यो चलचित्रमार्फत महेश र रमेशले
संगीतकारका रूपमा डेब्यु गर्दैछन् । राजेन्द्र कार्कीको संवाद रहेको यो चलचित्रमा
प्रशान्त तामाङको नृत्य निर्देशन छ भने सम्राट थापा यो चलचित्रका पाश्र्व
संगीतकार हुन् ।
निर्देशक : इन्द्र परियार
कलाकार : विकास चापागाईं, प्रीति शाही ठकुरी, देशभक्त खनाल, राजकुमार
शाह, देवी पाण्डे, विनोद दुगड, पंकज विश्वास आदि ।
संगीतकार : महेश/रमेश

वेनिशालाई मनपर्छ श्रृष्टीको फिगर, दैनिक जीमले बनायो फिट


चलचित्र ‘स्वर’ वाट रजतपटमा डेब्यु गरेकी नायिका बेनिशा हमालले ‘मोक्ष, कालोपोथी’ लगायतका चलचित्रमा काम गरेकी छिन् । म्युजिक भिडियोमा काम गर्दा गर्दै चलचित्रमा प्रवेश गरेकी बेनिशाको ब्यस्तता अहिले पनि म्युजिक भिडियोमै बढी छ ।

आफ्नो शरीर मेन्टनका लागि हरेक दिन क्लब जाने गरेकी बेनिशा डाईटिङ भने गर्दिनन् । अनलाइनखबरको ‘कलाकारको फिटनेश’ स्तम्भ अन्तर्गत उनीसँग गरिएको कुराकानीः

तपाईको उचाई र तौल कति छ ?
उचाई ५.५ इन्च र तौल ५३ केजी ।

दुब्लाउने सोचमा हुनुहुन्छ कि मोटाउने ?
मोटाउने वा दुब्लाउने दुबै सोच छैन । फिट भए पुग्छ । आफुलाई फिट बनाउन प्रयासरत छु ।

एक्सरसाईज के-के गर्नु हुन्छ ?
म बिहानै क्लब जान्छु । त्यही एक्सरसाइज गर्छु । फिजिकल एक्सरसाइजदेखि मर्निङवाकका विधी समेत त्यही पूरा हुन्छ ।

जिम जाने गर्नु भएको छ ?
क्लबमै हरेक दिन ४५ मिनेटजति जिम गर्छु ।

योगा गर्नुहुन्छ कि हुन्न ?
अहिले गर्दिन । पहिला प्लस टु पढ्दा अंकलको घरमा बसेको थिएँ । अंकल अन्टीले योगा गर्नुहुन्थ्यो । उहाँहरुले गरेको देखेपछि मैले पनि गरेकी थिएँ ।

पानी कति पिउनुहुन्छ ?
शरिरलाई आवश्यक पर्ने पानी पिउछु । दिनमा ५ लिटर पानी पिउने गर्छु ।

कुन सेलीब्रेटीको फिगर मन पर्छ ?
मलाई श्रृष्टी श्रेष्टको फिगर मन पर्छ ।

डाईटिङ गर्नुहुन्छ कि हुन्न ?
डाईटिङ गर्दिन । किनकी म शरिरलाइ मेन्टन गर्नुपर्ने मान्यता राख्छु । मेन्टनमा ध्यान दिने हो भने डाईटिङ जरुरी छैन ।

कति घण्टा सुन्तुहुन्छ ?
सात देखि आठ घण्टा ।

हरेक मान्छेले स्वस्थ हुनका लागि गर्नैपर्ने कुरा के-के हुन् ?
सबै भन्दा पहिला त खाली पेट बस्नु भएन । थोरै किन नहोस् केही न केही खानु पर्छ । अर्को कुरा हरेकले सामान्य भएपनि एक्सरसाईज गरेकै हुनुपर्छ ।

राजेश र शिवको टकराव, छोटो लुक्समा ‘वागमती’मा अटाएकी केकी


नेपाली चलचित्रका कुनै बेलाका एक्सन नायकद्धय राजेश हमाल र शिव श्रेष्ठलाई लिएर निर्माण भएको चलचित्र ‘बागमती’को ट्रेलर सार्वजनिक गरिएको छ । सबैभन्दा महंगो नेपाली चलचित्र भन्दै प्रचार गरिएको यो चलचित्रको ट्रेलरमा नायक हमाल नै हाबी छन् ।
राजेश हमालको पहिलो अन्तरराष्ट्रिय चलचित्र भन्दै ट्रेलरमा प्रचार गरिएको छ । यो चलचित्र पौष २४ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । दक्षिण भारतीय टिमले बनाएका कारणले पनि यसको ट्रेलरमा दक्षिण भारतीय चलचित्रको शैली देखिएको छ ।
सन्नी केरलाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हमालसँग शिव श्रेष्ठ, केकी अधिकारीलाई देखाइएको छ । हमाल र श्रेष्ठको टकराव यसमा देखिएको छ ।
तर, यसपटक पनि ट्रेलरमा हमाल नै हाबी देखिएका छन् । ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा दिनेश दर्शनधारी र विजय सत्यालले यसलाई निर्माण गरेका हुन् । यो चलचित्र चलेको खण्डमा नायक राजेश हमालको दरिलो कमब्याक हुने देखिन्छ । के यसमा राजेश हमाल सफल होलान्, पौष २४ गतेसम्म कुर्नैपर्छ ।

चाडबाड मान्न हवाइ यात्रा


झन्डै दुई महिनादेखि चल्दै आएको तराई–मधेस आन्दोलनका कारण पूर्वपश्चिम
राजमार्गमा यातायात सेवा ठप्प छ भने यात्रा असुरक्षित भएपछि घर पुग्ने भरपर्दो
साधन हवाईजहाज हुन पुगेको छ । अधिकांश यात्रु जिल्ला र घर पुग्न हवाई मार्ग नै
प्रयोग गर्न थालेको सीता एयरकी मंजु धिताल बताउँछिन् । धिताल भन्छिन्–
अहिले त कुनै समस्या छैन, तर दसैंतिहारमा विमान कम्पनीहरूले यात्रुको चाप थेग्न
गाह्रो पर्छ ।
अहिले दैनिक २२ सय यात्रुलाई सेवा दिँदै आएको बुद्ध एयरसँग आन्तरिक उडान गर्ने
आठवटा जहाज छन् । बुद्ध एयरले देशका विभिन्न आठ स्थानमा नियमित सेवा दिँदै
आएको छ । दसैं–तिहारताका बुद्ध एयरबाट यात्रा गर्ने यात्रुको संख्या दैनिक झन्डै
३ हजार ५ सय पुग्छ –बस्नेत बताउँछन् । यसपालिको दसैंतिहारमा यात्रुको चाप थप
बढ्ने बस्नेतको अनुमान छ । यस्तो अवस्थामा यात्रुहरूले बेलैमा टिकट सुरक्षित गर्नुपर्ने
उनको सुझाव छ । होइन भने टिकट नपाइने समस्या आउन सक्छ । बुद्ध एयरले फोन तथा
अनलाइनबाट पनि टिकट काट्न सकिने व्यवस्था मिलाएकाले बुद्ध एयरको टिकटमा
कालोबजारीको कुनै सम्भावना नरहेको उनी बताउँछन् । विराटनगर, धनगढी,
नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर आदि सहरमा नियमित सेवा पुर्याउँदै आएको बुद्ध
एयरको टिकट ‘बुद्ध एयर डककम’ मा गएर बुकिङ गर्न सकिन्छ ।
आन्तरिक उडानमा सबैभन्दा बढी गन्तव्यमा सेवा पुर्याउँदै आएको सरकारी वायु
सेवा कम्पनी नेपाल वायु सेवा निगमसँग अहिले ५ वटा आन्तरिक उडान गर्ने जहाज
छन् । ती पाँचवटा जहाजबाट निगमले देशका विभिन्न २५ स्थानमा सेवा पुर्याउँदै
आएको छ । निगमको काउन्टर, एजेन्ट तथा फोनबाट पनि टिकट बुक गर्न सकिने
व्यवस्था रहेको नेपाल वायु सेवा निगमको निजी विमान कम्पनीको दाँजोमा
सबैभन्दा सस्तो भाडादरमा सेवा पुर्याउँदै आएको छ ।
६ वटा जहाज रहेको यती एयरलाइन्सले देशका विभिन्न ९ वटा गन्तव्यमा सेवा
पुर्याउँदै आएको छ । यति एयरलाइन्सले धनगढी, नेपालगन्ज, भैरहवा, पोखरा, भरतपुर,
विराटनगर, भद्रपुर, तुम्लिङटार, जनकपुर आदि सहरमा दैनिक आतेजाते गरी ३० वटा
हवाई उडान गर्दै आएको छ । त्यस्तै यति एयरलाइन्ससम्बद्ध तारा एयरले ७ वटा
जहाजमार्फत लुक्ला, फाप्लु, जोमसोम, बाजुरा, जुम्ला, रुम्जाटार, लामिडांडा,
खानी डाँडा, सिमिकोट, रारा, डोल्पा, भोजपुर जस्ता ठाउँमा उडान भर्दै
आएको छ । दसैंतिहारमा घर जान चाहने यात्रुले कम्तीमा १५ दिनअघि टिकट
काट्दा सुरक्षित र सहज रूपमा टिकट पाउन सक्ने तथा टिकट महँगो पर्ने समस्याबाट
बच्न सकिने यति एयरका मार्केटिङ प्रमुख भीमराज राईले बताए । राईले यति
एयरलाइन्स र तारा एयरको टिकट ‘यति एयरलाइन्स डटकम’ मा गएर काट्न सकिने
जानकारी पनि दिए ।
चाडबाडमा विभिन्न गन्तव्यहरूमा छिटो पुर्याउन आन्तरिक हवाई सेवाले ठूलो
भूमिका खेल्दै आएको छ । ‘चाडबाडमा सजिलो र छिटो यात्रा गर्न मात्र होइन,
रहर पुर्याउन पनि मानिसहरू हवाई यात्रा गर्छन् ।’ हवाई व्यवसायीहरू अनुभव
सुनाउँछन् । पर्यटन वृद्धिसँगै आन्तरिक हवाई यात्रुहरूको संख्या बढ्दै गएपछि अहिले
देशमा आन्तरिक निजी हवाई कम्पनीहरू पनि बढ्दै गएका छन् । देशका विभिन्न ५१
विमानस्थलमध्ये चालू ३६ विमानस्थलमा विभिन्न १० वटा निजी वायुसेवा
कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects