लगातार फिल्म आउँदा पनि रुपा ओझेलमा

केकीको अभिनय सुन्दर, प्रियंका स्टाइलिस
काठमाडौं । धेरैले ठान्छन्, रुपा राना नेपाली चलचित्रबाट उहिल्यै पलायन भइसकिन् । जवकि उनले अभिनय गरेका फिल्महरु लगातार रिलिज भइरहेका छन् ।

हरेक वर्ष दुई-तीनवटा चलचित्रमा काम गर्दा पनि रुपा ओझेलमा छिन् । उनी पुरानो समयकी चल्तिकी नायिका हुन् भन्ने अहिलेका धेरै दर्शकलाई थाहा पनि छैन । न त मिडियाले नै उनलाई पछ्याएका छन् ।

केही महिनाअघि प्रदर्शन भएको ‘लुटेरा’ मा अभिनय गरेकी रुपा प्रदर्शनको तयारीमा रहेको प्रेमगीतमा पनि देखिनेछिन् । ‘लुटेरा सफल नै भयो, प्रेमगीतले पनि राम्रै गर्छ भन्ने लागेको छ,’ उनले भनिन् ।

रुपालाई थाह छ अहिलेका दर्शकले उनलाई मार्क गर्दैनन् । ‘हामीभन्दा नयाँ पुस्ताका कलाकार धेरै सक्रिय छन्, त्यसकारण हाम्रो हिसाब कम हुँदै गएको छ,’ उनले भनिन् । रुपाको चर्चा नहुनुको कारण फेरिएको भूमिका पनि हो । पहिले नायिका वा सहनायिकामा खेल्ने उनी अहिले चरित्र अभिनेत्रीका रुपमा अभिनय गर्छिन् ।

प्रियंका र केकीकी प्रशंसक

उनी आफैं पनि नयाँ पुस्ताका हिरोइनहरु देखेर लोभिन्छिन् । रुपालाई अहिलेकी नम्बर एक नायिका पि्रयंका कार्की निकै स्टाइलिस लाग्छ । अर्की चर्चित नायिका केकी अधिकारीको अभिनयबाट प्रभावित छिन् उनी । रुपाले छुल्ठिम गुरुङलाई क्षमता भएकी कलाकारको रुपमा हेरेकी छिन् । उनी भन्छिन्, ‘नोभेम्बर रेन हेर्दा छुल्ठिमले राम्रो गर्छिन् भन्ने अपेक्षा गर्न सकिन्छ ।’

निर्माता डुबेकोमा चिन्ता

नेपाली फिल्मले नै आफुलाई धेरै चिज दिएको बताउने रुपा अहिले पनि कतिपय राम्रा निर्माता डुब्ने क्रम जारी रहेकोमा चिन्तित् छिन् ।

‘सबैले राम्रो भनेको फिल्म पनि कहिलेकाहीँ चल्दैन । त्यस्तो सुन्दा मलाई निकै नमज्जा लाग्छ । त्यस्ता घटनाले राम्रा निर्मातालाई निरास बनाउँदो रहेछ,’ उनले भनिन् । पुराना निर्माता विनोद शेरचनसँग उनको केही महिनाअघि मात्रै कुराकानी भएको रहेछ । लामो कुरा भए पनि फिल्मको विषयमा शेरचनले कुरै गर्न नचाहेको उनले बताइन् ।

अहिलेका कलाकार भाग्यमानी

जतिबेला रुपा चम्केकी थिइन्, आफूले गरेको काम कस्तो भयो भनेर हेर्नका लागि कम्तिमा छ महिना कुर्नुपथ्र्यो ।

उनी भन्छिन्, ‘काम कस्तो भयो भनेर जान्नका लागि ६ महिना कुर्नुको विकल्प थिएन । यस अर्थमा अहिलेका कलाकार निकै भाग्यमानी छन् । तत्कालै हेरेर रिटेक गर्न पाइन्छ ।’ प्रविधीमा आएको परिवर्तनले निर्माता एवं प्राविधकलाई धेरै सजिलो भएको बुझेकी छिन् उनले ।

महिला कलाकारको पक्षमा

नेपाली फिल्ममा पुरुषहरुको तुलनामा महिला कलाकारको पारिश्रमिक निकै कम हुने गरेको छ । महिलालाई पारिश्रमिक कम हुनुमा सामाजिक प्रभाव हावी भएको धारणा राख्छिन् रुपा ।

हाल चलचित्र विकास बोर्डकी सदस्य रहेकी उनले आफ्नो पालामा महिलाको पक्षमा केही काम गर्ने योजना बनाएकी छिन् ।

‘महिलाकै पक्षमा केही काम गरौं भनेर लागेकी छु । हेरौं कति गर्न सक्छौं,’ उनले भनिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects