धुर्मुसको गुनासोः २० हजारको मोबाइल बोक्छन्, बाटोमा दिसा गर्छन्

५ माघ, काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल धुर्मुस एक वर्षदेखि एउटा फरकखालको जिम्मेवारी काँधमा बोकेर हिँडिरहेका छन् । सन् २०१७ सम्म सिंगो नेपाललाई खुल्ला दिशामुक्त देश घोषित गर्न उनले सरकारलाई सघाउनुपर्नेछ ।

अघिल्लो वर्षको माघ २७ गते मन्त्रिपरिषद बैठकले धुर्मुस र उनकी पत्नी तथा हास्यकलाकार कुञ्जना घिमिरेलाई राज्यको सरसफाई दूत नियुक्त गरेको थियो । यो उपसचिव सरहको पद हो, तर बेतलबी ।

यसै पनि सामाजिक कार्य भनेपछि मरिहत्ते गर्ने यो जोडी सरकारबाट आधिकारिक जिम्मेवारी पाएपछि हौसिएर मैदानमा भिडिरहेको छ ।
देश बनाउने भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता हँसाइरहेका बेला जनता हँसाउने भूमिकामा रहेका धुर्मुस-सुन्तली चाँहि ‘देश बनाउन’ तल्लीन छन् । ओली सरकारले भर्खरै सय दिन काटेको छ भने सरसफाइ दूतका रुपमा यो जोडी एक वर्ष काट्ने तरखरमा छ ।
‘यो एक वर्षमा के-के गर्नुभयो त ?’ धुर्मुसलाई ठाडो प्रश्न सोधियो, ‘के नेपाल खुल्ला दिशामुक्त हुन सम्भव छ ?’

सरकारले नियुक्ति  दिएको भोलिपल्टैदेखि आफूहरु सरसफाइको जागरणका लागि मेचीदेखि महाकालीसम्म पुगेको जवाफ दिए धुर्मुसले । ‘अहिलेसम्म ३० वटा जिल्लामा पुगिसक्यौं,’ धुर्मुसले सुनाए, ‘घर अगाडि फालिएका फोहोर उठाउनेदेखि सरकारी शौचालय सफा गर्नेसम्मका काममा संलग्न भयौं ।’

विभिन्न जिल्लामा आयोजना हुने गरेका खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा धुर्मुस-सुन्तलीलाई आमन्त्रण गर्ने गरिएको छ । त्यसरी कार्यक्रममा जाँदा सरकारले उनीहरुलाई उपसचिवसरह भत्ता उपलब्ध गराउने व्यवस्था छ । तर, अहिलेसम्म एकपटक पनि आफूहरुले भत्ता नलिएको र माग्दा पनि नमाग्ने धुर्मुसले जानकारी दिए ।

‘हामीले पैसाका लागि यो जिम्मेवारी लिएका होइनौं,’ उनी भन्छन्, ‘देशका निम्ति आफ्नो तर्फबाट केही योगदान दिन सक्छौं कि भनेर हो ।’

भूकम्पमा चम्के

गत बैशाखमा भूकम्प आउँदा यो जोडी सरसफाईकै नारा बोकेर अमेरिका पुगेको थियो । अमेरिकामा एक महिनासम्म सांस्कृतिक कार्यक्रम देखाएर त्यसबाट संकलन हुने पैसा सरसफाइ अभियानमा लगाउने योजना थियो उनीहरुको । तर, नेपालमा भुकम्प आएको खबर पाएपछि उनीहरु कार्यक्रम छोट्याएर नेपाल फर्किए । कार्यक्रमबाट उठेको साढे १६ लाख रुपैयाँ पनि भूकम्पपीडितकै लागि खर्च गरे ।

भूकम्पका बेला यो जोडीले गरेको परिश्रमको चौतर्फी सह्राना भएको थियो । बैशाख २९ को शक्तिशाली पराकम्पनपछि धुर्मुस र सुन्तली हातमा बेल्चा बोकेर भूकम्प अति प्रभावित क्षेत्रमा पुगे ।

सिन्धुपाल्चोकको पिपलडाँडामा उनीहरुले आफैंले श्रम गरेर १० वटा चर्पी निर्माण गरिदिए । त्यसपछि नुवाकोटको ओखरपौवामा ४४ वटा चर्पी र एउटा निमावि भवन निर्माण गरे ।

काभ्रेको पाँचखालमा ‘धुर्मुस-सुन्तली एकीकृत नमूना बस्ती’ निर्माण गरिदिएपछि यो जोडी चर्चाको शिखरमा पुगेको थियो । उक्त वस्तीमा पनि उनीहरुले खुल्ला दिशामुक्त अवधारणा लागू गरेका छन् । ट्वाइलेटबाट निस्कने ढललाई बायोग्यासमा परिणत गरिएको छ भने अन्य फोहोर पानीलाई नजिकैको गोलभेडा खेतीमा पुर्‍याइएको छ । गाईवस्तु पाल्ने ठाउँ वस्तीबाट अलिकति पर बनाइएको छ ।

सरसफाइ वर्ष मनाउन आग्रह

केही समयअघि रामेछाप पुगेर धुर्मुस-सुन्तली राष्ट्रिय सरसफाइ अभियानको घोषणा गरेका छन् उनीहरुले ।सन् २०१७ सालमा देशलाई खुल्ला दिसा मुक्त बनाउन ०७३ साललाई सफाइ वर्षका रुपमा मनाउनुपर्ने धुर्मुसको प्रस्ताव छ ।

आफ्नो यो प्रस्ताव लिखितरुपमै सरकारलाई दिएको उनले बताए । प्रधानमन्त्री कार्यालयमा उनले पेश गरेको ‘क्लिन नेपाल २०१६’ नामक १५ बुँदे प्रस्ताव छ । धुर्मुसले सरकारले घोषणा मात्रै गरिदिए पुग्ने र काम आफूहरुले गर्ने बताएका छन् ।

‘सरकारले घोषणा मात्रै गरिदेओस, कार्यान्वयनको जिम्मा हाम्रो भयो,’ उनले भने, ‘यसमा सरकारले ठूलो धनराशी खर्च पनि गर्नु पर्दैन ।’

थरिथरिका अनुभव

धुर्मुसले दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गएर जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिका शौचालय सफा गर्ने काम पनि गरे । अनि त्यहाँका जिम्मेवार व्यक्तिहरुलाई छातीमा हात राखेर आइन्दा चर्पी फोहोर गर्दैनौं भनेर वाचा पनि गराए ।

एक वर्षको अभियानका क्रममा धुर्मुसले थुप्रै किसिमका अनुभवहरु बटुलेका छन् । बाटोमा दिशापिशाब गर्ने प्रवृत्ति तराईका मधेसी इलाकामा चर्को रहेको उनले बताए । ‘घरमा शौचालय हुनेहरु पनि बाटोमा दिशा पिशाब गर्दा रहेछन्’ धुर्मुस सुनाउँछन्, ‘कसैलाई ट्वाइलेटमा दिशा नै आउँदैन भन्ने त कोही ससुरा-बुहारीले एउटै ट्वाइलेटमा दिशा गर्नुहुँदैन भनेर पनि बुहारीहरु बाटोमा दिशा बस्दा रहेछन् ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects