माघ ३, २०७२- बंगलादेशमा आयोजना हुनलागेको १९ बर्ष मुनिका क्रिकेट खेलाडीहरुलाई विभिन्न क्षेत्रमा सक्रिय रहेका ब्यक्तिहरुले सम्मान गर्नुका साथै प्रतियोगितालाई अग्रिम शुभकामना दिएका छन् ।
वि वील राईज फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा मलेसियामा भएको विश्वकप छनोट प्रतियोगितामा नेपाललाई छनोट गराउन सफल भएका खेलाडी र यस विश्वकपका लागि छनोट भएका २४ जना खेलाडी, प्रशिक्षक, प्राविधिज्ञ र ब्यवस्थापनलाई सम्मान गरिएको थियो । सम्मानमा सबैलाई प्रशंसा पत्रका साथ जनही नगद १० हजार रुपैंया प्रदान गरिएको थियो ।
गायक उदय सोताङ र मनिला सोताङले गाएको हामी उठ्ने छौंको अफिसियल गीत गाएर प्रारम्भ भएको उक्त कार्यक्रममा खेलाडीहरुको आत्मबल बढाउन रंजीत आचार्यद्धारा उत्प्रेरण गराइएको थियो । कार्यक्रममा हाँस्य कलाकार जितु नेपालले क्रिकेटको प्रहसन देखाएका थिए भने, कुमारी नृत्य मार्फत् धार्मिक शुभकामना दिइएको थियो । यस्तैगरी गायक सुमनकुमार श्रेष्ठले राष्ट्रिय गीत गाउनु भएको थियो ।
१९ बर्ष मुनिका खेलाडीहरुलाई सम्मान गर्दै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले तपाईहरुले देशलाई पून: एक ढिक्का बनाउने जिम्मा पाउनु भएको कारण हामी जस्ताको सपनालाई ढाकामा साकार पार्नुहुने छ भन्ने शुभकामना दिनु भयो । यस्तैगरी हाँस्यकलाकार दीपकराज गिरीले आफु लगायत धेरैजना पत्रिकाको पहिलो पानाको समाचारवाट निराश भएको अवस्थामा तपाईहरुको अन्तिमपृष्ठवाट आशाको संचार हुने हुनाले तपाईहरुले पनि सुखद समाचार दिनु हुनेछ भन्ने आशा राखेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले नेपाली खेलकुदले भावनात्मक रुपमा सबै नेपालीहरुलाई जोड्ने हुनाले र युवा क्रिकेटरहरुको अहिलेको सफलतालाई आगामी दिनमा पनि निरन्तरता दिने छ भन्ने विश्वास ब्यक्त गर्नुभयो । यस्तैगरी गायिका कोमल वलीले हामी उठ्ने छौं फाउण्डेसनले कसरी सबै नेपालीलाई जोड्दै लगेको विषयमा प्रकाश पार्नु भएको थियो । सम्मानित ब्यक्तिहरुको तर्फवाट बोल्दै प्रशिक्षक जगत टमाटाले क्रिकेटरहरुलाई यसरी विभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिहरु उपस्थित भएर दिएको हौसलालाई ढाकामा सुखद रुपमा देखाउने प्रतिबद्धता देखाउनु भयो ।








0 comments:
Post a Comment