प्रसिद्ध चिन्तक जे. कृष्णमूर्तिले भनेका छन्, ‘हामी कार्यालयमा हाकिम अगाडि आइपुग्दा जुरुक्क उठेर अभिवादन गर्छौं तर दैनिक सेवा दिइरहेको चपरासी अगाडि आइपुग्दा सामान्य शिष्टाचार व्यक्त गर्नसमेत हिचकिचाउँछौं वा कुनै वास्ता गर्दैनौं ।’ यस्तो व्यवहार देखाउनुको पछाडि एक त हाकिमको शक्ति वा आफ्नो अन्नदाता ठानेर हो र चपरासीको कामलाई सानो र शक्तिविहीन ठानेर हो । अब त्यही चपरासी ठूलो हुन्छ जब केही नखाई आएका बेला खानेकुरा पकाएर ल्याइदिन्छ वा आफूले नभ्याएका बेला आफ्नो सामान कतै पुर्याइदिन्छ वा आफूले गल्ती गरेको कुरा हाकिमको अगाडि ढाकछोप गरिदिन्छ । काम परेको बेलामा उसैलाई अनुनय–विनय गर्न कोही पछि पर्दैन ।
समाजले हरेक पेसा र व्यवसायमा लागेका मानिसलाई हेर्ने दृष्टिकोण निर्माण गरेको हुन्छ । मानिसको व्यक्तित्व, हुलिया, लवाइखुवाइ हेरेर पनि सकारात्मक वा नकारात्मक धारणा बनाइन्छ । यो राम्रो कमाइ हुने काम यो सम्मानजनक काम भनेर वर्षौंदेखि समाजले आफ्नो दिमाग भरेको छ । कोही डाक्टर, इन्जिनियर, पाइलट छ भने ऊ स्वत: राम्रो मानिसमा गनिन्छ चाहे आफ्नो काममा जतिसुकै कमजोर वा खराब नै किन नहोस् ।
कसैका छोराछोरीले पढेलेखेर गाउँमै उन्नत तरिकाले कृषि गर्छु भन्यो भने बाआमाको टाउको दुख्छ । पढेर के–के न गर्ला भनेको, नाम राख्ला भनेको त यही धुलोमाटो पो खेल्छु भन्छ भनेर गनगन सुरु हुन्छ । यस्तो किन भयो भने पुरानो पुस्ताले कृषिमा लागेर आर्थिक उन्नति गरेको समाजमा सम्मान पाएको अनुभूति कहिल्यै गर्न पाएन । चलचित्र, पत्रकारिता, गीतसंगीतमा लागेकाले अलिअलि नाम त कमाउँछन् तर पैसा पनि कमाउँछन् भन्ने विश्वास अझै समाजमा छैन । खेल खेलेर पनि जीविकोपार्जन हुन सक्छ भन्ने आत्मविश्वास अझै भैसकेको छैन ।
पुरानो पुस्ताको दिमागमा एउटा गहिरो छाप के परेको छ भने राम्ररी नपढी कुनै नियमित पैसा आउने पेसा नगरी गुजारा चल्दैन । विद्यालयमा पनि पढेर जागिर खानुपर्छ, ठूलो मानिस हुनुपर्छ भनेर सिकाइन्छ । यो काम गर्ने ठूला मानिस हुन्, त्यो काम गर्ने ठीकै वा सानो मानिस हुन् भनेर बालमस्तिष्क भरिन्छ । ठूलो मानिस बन्नु भनिन्छ तर असल पनि बन्नु भन्न बिसिइन्छ । जसरी पनि पैसा कमाउनुपर्छ भनिन्छ । पैसा हुने मानिस ठूलो मानिस हो भन्ने भ्रम पारिन्छ । छोराछोरीको चाहना अरू नै केही गर्ने होला तर ५० औं लाख खर्च गरेर जबर्जस्ती डाक्टरी वा लाखौं खर्चेर अरू विषय पढ्नैपर्छ भन्ने दबाब दिइन्छ । पछि गएर ऊ आफ्नो पेसामा कति दखल राख्ला वा लगानी उठाउन कति इमान्दारी देखाउला, यसै भन्न सकिँदैन वा बीचैमा पढ्न नसकेर परित्याग गर्ने अवस्थासमेत आउन सक्छ ।
हरेक मानिससँग केही न केही विशेषता हुन्छ । कतिले त्यो बेलैमा पत्ता लगाउन सक्छन्, कतिले सक्दैनन् । कसैको गाउने गुण, कसैको नाच्ने गुण, कोही नेतृत्वशाली, कोही अभिनयमा अब्बल, कोही खेल्नमा अब्बल अनेक–अनेक प्रतिभाले मानिस भरिपूर्ण हुन्छ । सबैले आफ्नो स्वभाव, शक्ति र चाहनाको पहिचान गरेर अघि बढे सफल भएरै छोडछ । मन एकातिर काम अर्कातिर गर्ने मानिसले शतप्रतिशत कार्यक्षमता देखाउन सक्दैन र कहिल्यै सन्तोषी पनि हुँदैन । अहिले जमाना बदलिइसकेको छ । जुनसुकै पेसामा लागेर पनि ऊ समाजमा प्रतिष्ठित हुनसक्छ । राम्रो कमाइ पनि गर्न सक्छ । प्रतिभा भएको मानिस देशभित्र मात्र होइन, विदेशमा समेत प्रशंसित हुन्छ । आज संसारमा कलाकार र खेलाडीलाई सबैले माया गर्छन् । उनीहरू प्रतिभाको भरमा विश्वभ्रमण र उच्च कमाइसमेत गर्छन् । देशको नाम राख्छन् । हामीले पनि आफ्ना सन्ततिलाई उनीहरूले चाहेको बाटोमा अघि बढ्न प्रेरित गर्नुपर्छ । खेल्ने पनि काम हो, नाच्ने पनि काम हो, गाउने पनि काम हो भनेर बुझ्नुपर्छ । कृषिमा लागेर लखपति भएका नयाँ उदाहरणहरू देखिन थालिसकेका छन् । दुष्कर्म गर्नु भएन तर जो जसले जेजे काम गरिराखेका छौं हो म यो काम गर्छु र मलाई यो गर्न पाउँदा गर्व महसुस हुन्छ भन्ने भाव हुनु जरुरी छ ।
आफू के काम गर्नको निम्ति जन्मेको हुँ भनेर पहिचान गर्नु जरुरी छ । मेरो कामचाहिँ सानो अर्कोको ठूलो भन्ने लघुताभास र हीन भावबाट उम्किनुपर्छ । हरेक कामको महत्व छ । ड्राइभर, कन्डकटर, पुलिस, सेना, गृहिणी, कृषक, कर्मचारी सबै सम्मानित र आवश्यक मानिस हुन् । सबैको भूमिका छ जसरी शरीरका अनेक अंगहरूका आफ्नै काम र विशेषता छन् ।
कसैले पनि सबै भूमिका निर्वाह गर्न सक्दैन । सबैको ज्ञान र क्षमताको सीमितता हुन्छ । एउटा काममा सबल हुँदैमा अर्कोमा हुँदैन । सबैलाई कुनै न कुनै मोडमा अरूको सहायता अवश्य नै चाहिन्छ । कामको सम्मान गरौं । न यहाँ कोही ठूलो छ न कोही सानो छ ।
संसार जित्ने सम्भावना सबैको उत्तिकै छ । कसैले कर्मले जित्छन्, कसैले व्यवहारले ।



0 comments:
Post a Comment