सामान्यत: दम्पती एवं प्रेम जोडीले चुम्बन गर्नु अनौठो होइन । कुनै अवसर पाउनसाथ एकअर्कालाई उन्मुक्त चुम्बन गर्न सक्छन् । यद्यपि संसारमा त्यस्तो पनि ठाँउ छ, जहाँ आफ्नो जोडीसँग चुम्बन गर्न ठूलै घम्साघम्सी चल्छ । त्यहाँ घन्टौं पंक्तिबद्ध भएर बस्नुपर्छ । तैपनि उनीहरू धैर्यतासाथ उक्त क्षणको प्रतिक्षा गर्छन् ।
प्रसंग हो, मेक्सिकोको राजधानी मेक्सिको सिटीको । मेक्सिको सिटीमा एउटा त्यस्तो स्थान छ, जहाँ दम्पती जोडी चुम्बन गर्न लाइन लाग्ने गरेका छन् । त्यसका निम्ति उनीहरूले पालो पर्खनुपर्छ । हरेक फेब्रुअरी महिनामा उक्त स्थानमा थुप्रै जोडी भेला हुने गरेका छन् । उक्त स्थानको नाम हो– एल क्यालेजन डेल बेसो । यसको अर्थ ‘चुम्बनको गल्ली’ भन्ने हुन्छ । यो गल्ली सेन्ट्रल मेक्सिको सिटीको गुआनाजुआतोमा छ । उक्त स्थानका घरहरू यति नजिक छन् कि, एउटा घरको झ्यालबाट अर्को घरमा सजिलै जान सकिन्छ । यो गल्लीमा चुम्बन गर्नाले दाम्पत्य जोडी १५ वर्षसम्म सुखी रहन सक्छन् भन्ने मान्यता छ । यसको पछाडि दुई प्रेमजोडीको मार्मिक कथा जोडिएको छ ।
मार्मिक प्रेमकथा
प्रेम जोडीले यो गल्लीको बालकोनीमा बसेर चुम्बन गरेको इतिहास छ । युवती डोना कार्मेन धनी परिवारकी थिइन्, जबकी युवक लुइस गरिव परिवारका थिए । डोनाका पिताले उक्त गरिब युवासँग प्रेम गर्ने अनुमति दिएनन् । त्यसैले युवतीले आफ्नो घरको झ्याल र बालकोनीको नजिक एउटा कोठा भाडामा लिइन् । त्यही कोठामा बसेर उनीहरू प्रेम साटासाट गर्थे, चुम्बन गर्थे । यद्यपि त्यस विषयमा उनीहरूको परिवारले केही थाहा पाएन ।
पछि युवतीको बुबाले उक्त कुरा थाहा पाए र त्यही रिसमा छोरीको हत्या गरिदिए । बुबाले धारिलो छुराले छोरीको छातीमा प्रहार गरेका थिए । उक्त आक्रमणपछि युवती दौड्दै बालकोनीतिर गइन्, जहाँ उनका प्रेमी पर्खेर बसेका हुन्थे । यद्यपि उनले आफ्नो प्रेमीसँग भेट्न पाइनन्, बीचमै देहत्याग गरिन् । जुन बालकोनीमा प्रेमी बस्थे, त्यहाँ अहिले उपहारको पसल खुलेको छ । दम्पतीहरू त्यहाँ जान्छन् र आफ्नो नाम लेखेर सन्देश छाड्ने गर्छन् ।



0 comments:
Post a Comment