अर्जुन घिमिरे ‘पाँडे’, कलाकार
पहिलो पटक उनलाई २०६७ सालमा म्हैपीस्थित उनकै ब्युटिपार्लरमा देखेको थिए । राम्री लाग्यो, एकतर्फी प्रेम भैहाल्यो । अब त्यसलाई दुइतर्फी बनाउने चुनौती थियो । सुनिता मल्ल मेरी अर्धाङ्गिनी, जसलाई साँचो प्रेम गरेर जीवनसाथी बनाउन म सफल भएँ । म ब्राह्मण अनि उनी नेवार । विवाह गर्न सजिलो थिएन ।
मैले सुनितासमक्ष प्रेमप्रस्ताव राखें, उनलाई पनि म मन पर्ने रहेछु, त्यसैले उनलाई प्रेममा पार्न खासै गाह्रो भएन । त्यसपछि उनको परिवारमा गएर सुनितासँग विवाह गर्ने प्रस्ताव राखें । सुरुमा बाहुनलाई छोरी नदिने भनेर ठाडै अस्वीकार गर्नुभयो । त्यसबीच सुनिताले पनि विवाह गर्नुपर्ने भए अर्जुनसँगै गर्छु भनेर अड्डी कसिन् । दुवै परिवार शिक्षित भएरै हुन सक्छ, सुनिताको बुबा र दाइहरूले फेरि कुराकानी गर्न बोलाउनुभयो, म आफ्नो बुबालाई लिएर गएँ । एक–अर्कालाई मन पराएर विवाह नै गर्ने निर्णय लिएको भए, हामी सकारात्मक हुन्छौं भन्नुभयो । सुनिताले घरमा त्यो बाहुनबिना म बाँच्न सक्दिनँ भनेकी थिइन् । सुनिताकी ममीले सुरुमा केही विरोध गर्नुभएको रहेछ, तर अहिले ममीले मलाई एकदमै माया गर्नुहुन्छ ।
म त्यतिबेला एनटिभी प्लसमा ‘सिस्नुपानी’ शीर्षकको हास्यटेलिश्रृंखला लेखन, निर्देशन एवं निर्माणमा सक्रिय थिए । मिडियामा काम गर्नेहरू बिग्रिएका हुन्छन्, तिनलाई छोरी दिनुहुन्न भन्ने सोच पनि रहेछ । प्रेम भएको २ वर्ष पछि ०६९ फागुन ४ गते झ्याइँ–झ्याइँ बाजा बजाएर हाम्रो विवाह भयो । हुन त मेरो पनि ब्राह्मण परिवार भएकाले बुबा–आमाले नेवार बुहारी स्वीकार गर्नु हुन्न कि भन्ने चिन्ता थियो, तर तैंले मन पराएकै होस् भने विवाह गर्, हाम्रो अनुमति छ भन्नुभयो ।
विवाह नगर्ने हिसाबले प्रेम मात्र गरेको भएचाहिँ मलाई सुनिताको परिवारले कुटेरै मार्ने रहेछन्, तर हाम्रो प्रेम विवाह गरेर एकसाथ जीवन चलाउनकै निम्ति थियो । दुवै परिवारले आ–आफ्नै संस्कृति अवलम्बन गरेर विवाह गर्यौं । अहिले हामीसँग २ वर्षकी छोरी छिन् । विवाह भएको पनि ४ वर्ष लागेको छ । हाम्रो प्रेम विवाहमा परिणत भयो, त्यसमा हामी जोईपोइ नै असाध्यै खुसी छौं ।
No comments:
Post a Comment