सेमजोङको आकर्षण

धादिङ, सेमजोङ वागास्थित टाकुराहरू यतिबेला ध्वजापताकाहरूले सिंगारिएका छन् । बौद्धमार्गीहरूका विशेष मन्त्र लेखिएका ‘लुङ्गद’ र टाढैबाट फरफराइरहेको देखिने आलम ‘संग्दर’ पनि डाँडैभरि गाडिएका छन् ।

नुवाकोटको सीमाना सामरीसँग जोडिएको वागाको ठाडो उकालोमा लहरै निर्मित नमोबुद्धका अष्ट छोर्तेन चैत्यहरू अहिले बौद्धमार्गीहरूको नयाँ गन्तव्य बन्दैछ । समुद्र सतहबाट २ हजार २ सय मिटर उचाइमा रहेको रमणीय स्थल वागा जनजातिहरूको सुन्दरबस्ती सेमजोङको सिरानमै छ । सेमजोङबाट एक घण्टामा र नुवाकोटको विदुरबाट सामरी भन्ज्याङ हँुदै वागा पुगिन्छ । वागा रह क्षेत्रमा निर्मित महाअष्ट चैत्य सर्व–साधारणका लागि पनि खुला गरिएपछि यो नयाँ धार्मिक गन्तव्यका रूपमा देखा परेको छ ।

भगवान् गौतम बुद्धले संसारका आठ ठाउँमा गरेका चर्चित आठवटा कार्यको प्रतीक स्वरूप ती आठवटा चैत्य निर्माण गरिएको हो ।

एकै ठाउँमा आठवटा चैत्य बनाइएपछि त्यहाँ सबै ठाउँ गए बराबरको पुण्य मिल्ने बौद्धमार्गीहरूको विश्वास छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म गरेको धर्मदेशनापश्चात् प्राणीहितका लागि गरेका हजारौं काममध्ये उत्कृष्ट आठवटा कामको सम्झनाका लागि जुन–जुन ठाउँमा काम गरेका थिए त्यही–त्यही ठाउँमा चैत्यको निर्माण गरिएको थियो । त्यही आठवटा चैत्यको प्रतीकस्वरूप अहिले धादिङ जिल्लाको सेमजोङ वागा रह क्षेत्रमा ती आठवटै ठाउँको माटो मिसाएर एकै ठाउँमा महाअष्ट चैत्यक निर्माण गरिएको हो । बुद्धको अस्तु समावेश गरेर बनाइएका यी अष्ट चैत्यको एकसाथ दर्शन गरे प्राणीजगतले चट्याङ, भुइँचालो र प्राकृतिक प्रकोपहरूको विपत्ति खेप्न नपर्ने तथा कल्प–कल्पसम्मको पाप पखालिने विश्वास गरिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects