कमल काफ्ले, लेखा शिक्षक
शान्ति विद्यागृह उच्च मावि, लैनचौर
अतिरिक्त विषयका रूपमा पढाइ हुने एकाउन्ट उपयोगी विषय हो । यो व्यवहारिक विषय पनि हो । बैंक तथा वित्तीय, विभिन्न कार्यालयको हिसाबकिताब सञ्चालनका साथै व्यापारिक प्रयोजनका लागि यो विषय उपयोगी मानिन्छ । विशेषत: यो निरन्तर अभ्यास गरेपछि सिक्न सकिने विषय हो । यसका सूत्रहरूका साथै विषयवस्तु बुझेपछि लेख्न सहज हुन्छ । प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले यसका नौवटा पाठ्यवस्तुलाई ध्यान दिनुपर्छ । जस्तो: कार्यालय कार्यविधि, व्यापार, फाइलिङ, वित्तीय संस्था, सन्तुलन परीक्षण, अन्तिम खाता, सरकारी लेखा प्रणाली, गोश्वारा भौचर, बैंक नगदी किताब, बजेट हिसाब र मास्केबारी पढ्नै पर्ने विषय हुन् । यसैभित्रबाट परीक्षाका लागि प्रश्न तयार हुन्छन् ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले यो विषयका लागि दैनिक एक घन्टा समय छुट्टयाए पर्याप्त हुन्छ । यसमा अति छोटो उत्तर, छोटो उत्तर तथा लामो उत्तर सोधिने भएकाले सबै पाठ्यवस्तु बुझेर पढ्नुपर्छ । सैद्धान्तिक रूपमा मौलिक उत्तर लेख्ने र हिसाब नै गर्ने किसिमका प्रश्न सोधिने भएकाले निरन्तर अभ्यास गर्ने बानी बसाल्नुपर्छ । यो विषयमा उत्तर ठ्याक्कै मिलेको छ भने अंक पनि तोकिएअनुसार प्राप्त गर्न सकिन्छ । सफा अक्षर र विधिहरूको सही प्रयोग गरी निरन्तर अभ्यास गर्नुपर्छ । वित्तीय संस्था, अन्तिम खाता, सरकारी लेखा प्रणाली एवं बजेट हिसाब र मास्केबारीको तयारी राम्रो गर्नुपर्छ । किनभने यिनै पाठ्यवस्तुबाट धेरै अंकका प्रश्न सोधिन्छन् ।
यो विषयमा ब्याकरण शुद्धीकरणको खासै महत्व हुँदैन । सफा र बुझिने अक्षरमा उत्तर लेखे पुग्छ । विद्यालय स्वयमले लिने २५ अंकको प्रयोगात्मक परीक्षाबाहेक २ घन्टा १५ मिनेटमा ७५ अंकको प्रश्नको उत्तर दिन समयको राम्रो ख्याल गर्नुपर्छ । परीक्षामा समयको व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । परीक्षामा गोश्वारा भौचरको नमुना पनि बनाउनुपर्ने भएकाले विशेष ख्याल राख्नुपर्छ । निरन्तर अभ्यास गर्दै साथीहरूबीच छलफल गरेर पढियो भने छिटो सिक्न सकिन्छ । नबुझेको खण्डमा विषयगत शिक्षकको सहायता लिनुपर्छ ।
लेखा अनुत्तीर्ण भैहाल्ने विषय होइन तर बुझ्ने गरी निरन्तर अभ्यास गरिएको छ भने परीक्षामा सहजै उत्तर लेख्न सकिन्छ । छोटा र लामा उत्तर लेख्दा प्रस्टसँग बुझेर मात्र लेख्नुपर्छ । यही विषयको सहयोगले उच्च अंक हासिल गर्न सकिन्छ । विद्यार्थीहरूले शतप्रतिशत अंक प्राप्त नगरे पनि ९८ अंकसम्म ल्याएका उदाहरण छन् । कार्यालय सञ्चालन तथा लेखा विषयमा प्रश्नले खोजेको संक्षिप्त उत्तर लेखे सजिलै उत्तीर्ण हुन सकिन्छ । प्रयोगात्मक परीक्षामा पनि अध्ययन प्रतिवेदनलाई विशेष प्राथमिकता दिनुपर्छ ।



0 comments:
Post a Comment