काठमाडौंको पानी

बुढापाका भन्नी गर्थे सुन बाबु नानी
जस्तो खानी पानी उस्तै हुनी बानी
मुहानको पानी खानी बुद्धिमानी
चुहानको पानी खानी भ्रष्ट बानी ।

यस्ता कुरा जानी आइयो राजधानी
धाराबाट आउनी राजधानीमा पानी
कता मुहान भन्नी कता चुहान ठान्नी ?
मुहान चुहान एकै ठाउँ धारा टुटी मान्नी

किन होला सोध्नी ‘खानी हो यो पानी ?’
पानी पनि हुनी नखानी र खानी
ठेगान हुन्न धारो आउनी र जानी
जान्निपनि सोध्नी रै’छन् ‘कहिले आउनी पानी ?‘

आउँछ भन्या दिन आउँदो रै’नछ पानी
आउन्न भन्या दिन आउनी सुट्ट जानी
कहिले राति आउनी, कहिले दिउँसै आउनी
दौडी–दौडी पुग्दा पानी सुकी जानी

रातभरि कुर्दा–कुर्दा नआउनी पानी
यस्सो आँखा लाग्यो कि त ‘आयो आयो पानी’
भाँडाकुँडा भएजति बटुलेर लानी
तर पाइपसम्म मात्रै आउनी पानी

के गरेर थुतनी प्वाल भित्रको पानी ?
न डोरीले तान्नी न मुठी समाउनी ।
मिसिन हुँदो रै’छ तान्नलाई पानी
यता मिसिन जोड्यो उता विद्युत् जानी ।

ताने बाहिर आउनी, नत्र भित्रै जानी
जता फोर्स धेरै भो उतै जानी पानी
लुकामारी खेल्नी विद्युत् र पानी
एउटा आयो भने अर्को फुत्तै जानी

दुवै भेट भए ठूलो साइत मानी
सिङ्गै जनसंख्या टुटी घेर्न जानी ।
कोही टुटी मिच्नी कोही पाइप थिच्नी
कोही भाँडा थाप्नी, कोही बाझ्न थाल्नी

बल बुद्धि तागत जे छ सबैले देखाउनी
पानीको मात लागेजस्तो सप्पै नै बहुलाउनी
धाराबाट जे–जे झर्छ त्यै त हो नि पानी
परिभाषा नौलो लाग्नी राजधानीको पानी

ढल नाली मिसिएको भनि जानी जानी
झोल–चोक्टा छुट्याएर छानी–छानी खानी
नउमाली खाए सोझै स्वर्ग जानी
उमालेर खाँदा तिर्खा चैं नजानी

बिल तिर्न जाँदा मोटर भाडा जानी
‘खानी पानी’ अफिसमा किन्नी बोतलको पानी ।
दूध भन्दा महँगो यो राजधानीको पानी
माग्नी चोर्नी झैझगडा गर्न सक्नी खानी

धारो जोड्नी, पालो छोड्नी, खोजनी घुसै खानी
पानी बरू नखानी यी घुस भत्ता खानी
मर्का सहनी मर्का पार्नी यहाँ सबको बानी
भ्रष्टाचारकी जननी यो राजधानीको पानी

बुढापाका भन्ने गर्थे सुन बाबु नानी
जस्तो खायो पानी उस्तै हुन्छ बानी ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects