आशा नमार है

पानी आउँछ    
हाम्रो त जसोतसो चल्छ
कंक्रिटको घर छ
ढलानको छानो छ
जाडो हुँदा ओढ्ने सिरक छ
आङ ढाक्नलाई रोजी–रोजी कपडा पनि छ
बत्ती नहुँदा मैनबत्तीले पनि चलेकै छ
खाना पकाउनलाई जसोतसो ग्याँस छ
बोराभरि चामल छ
नजिकै तरकारी पसल पनि छ
लाइटर प्याट्ट बाल्यो, खाना सजिलै पाक्छ
जीवन चलेकै छ ।

सुन्यौ !!! एउटा भूकम्पले खाएको गाउँ पनि छ
टहरो र पालैपालको घर छ
भोकभन्दा बढी
पानी र आँधीले तर्साउने हजारौं मनहरू छन्
आशैआशमा सास फेर्ने मान्छेहरू छन् 
न घर छ 
न बलियो टहरो छ 
न त पालको कुनै भर छ 
आँधीले च्यात्छ, पानीले भिजाउँछ 
पानीले भन्दा पहिरोले झस्काउँछ 
बिरामी हुँदा न सिटामोल छ, न जीवनजल 
विडम्बना पोसिलो आहार भन्या 
चाउचाउको झोल छ 
आफ्नो केही छैन, 
जे छ छरप्रस्ट सम्झनाको अंश मात्र बाँकी छ 
आँधीको वेगभन्दा, 
दु:खको वेगले आत्तिएका मनहरू छन् ।

ए !!! सरकार तिमी मौन नबस केही गर
तिमीले खाने भातको हरेक सितामा 
अलिकति हिलो छ
किसानको पसिना छ, सपना छ
त्योभन्दा पनि ठूलो कुरा 
हजारौं जनताको आशा छ
आशा नमार है ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects