प्रतिबन्ध फुकुवाको प्रतीक्षामा ड्रोन


खासै समय बितेको छैन, नेपाली आकाशमा ‘ड्रोन’ले प्रवेश पाएको । विडम्बना भनौं, जसै यो मानवरहित नवीनतम हवाई यन्त्र नेपाली आकाशमा उड्न थाल्यो, सँगसँगै यसले संशय र सन्त्रास पैदा गर्‍यो । परिणामत: ड्रोन नेपाली आकाशमा स्वच्छन्द उड्न पाएन । यसको पछाडि ड्रोनले भंग गर्न सक्ने सुरक्षा गोपनीयता प्रमुख कारण बन्यो ।

गत वैशाखमा महाभूकम्पले सर्वत्र संन्त्रास फैलाइरहेका बेला नेपाली आकाशमा यो सानो यन्त्र देखिएको थियो । त्यो भूकम्पको विनाशलीला दृश्यांकन गर्न कसैले उडाएको ‘ड्रोन क्यामेरा’ थियो । लगत्तै ड्रोन केही यस्ता संवेदनशील क्षेत्रमा प्रवेश गर्‍यो, जसले सुरक्षा संयन्त्रलाई सतर्क हुन बाध्य तुल्यायो । कहिले मन्त्री क्वार्टरमा ड्रोन खसेको त, कहिले सेनाको हेडक्वार्टरमाथि ड्रोन उडेको खबरले सनसनी मच्चायो । यसले सुरक्षा खतरा बढेको धेरैले लख काटे । अन्तत: नागरिक उड्डयन प्राधिकरणले ड्रोनको उडानमाथि ‘रेड लाइट’ बालिदियो ।

‘भूकम्पको मौका छोपी संवेदनशील क्षेत्रका गोप्य सूचना संकलन गरेको’ भन्दै पुरातात्त्विक महत्त्वका स्थल, मठ–मन्दिर, संवेदनशील क्षेत्र आदिमा ड्रोनलाई निषेध गरियो । परिणामत: निश्चित आकाश र निर्धारित उचाइमा मात्र त्यसले उडान भर्न पाउने भयो, त्यो पनि उड्डयन प्राधिकरण एवं सञ्चार मन्त्रालयको लिखित अनुमतिमा ।

प्राधिकरणले ‘कुनै पनि अध्ययन–अनुसन्धानका लागि मात्र ड्रोन उडाउन पाइने’ सर्त राख्यो । यो सर्त उल्लंघन गरिएको खण्डमा ‘नेपाल नागरिक उड्डयन प्रधिकरण ऐन–२०५३ को दफा २५ को उपदफा ३ बमोजिम’ कारबाही हुने चेतावनी दिइयो ।

यद्यपि त्यसपछि पनि ‘ड्रोन आतंक’ कायम रह्यो । कहिले दुई देशको सीमावर्ती क्षेत्रमा त कहिले पर्यटकीय स्थलमा ड्रोन उडाएको भन्दै प्रहरीले स्वदेशी तथा विदेशी नागरिकहरूलाई पक्राउ गर्‍यो । यसरी एकाएक नेपाली आकाशमा खैलाबैला मच्चाउने ड्रोन के घातक यन्त्र हो ? पछिल्लो घटनाक्रमले यस्तै प्रश्न गर्न बाध्य तुल्यायो ।

आधुनिक युगको नवीनतम् हवाई यन्त्र हो— ड्रोन अर्थात् ‘अनम्यान्ड एरियल भेहिकल’ । ड्रोन सन् २००० को दशकको मध्यदेखि प्रचलनमा आएको पाइन्छ । त्यतिबेला सामरिक उद्देश्यले बेलायती सेनाले युरोपको बाल्कन लडाइँमा ड्रोन क्यामेरा प्रयोग गरेको पाइन्छ । पछि अमेरिका र बेलायतले इराक एवं अफगानिस्तानको युद्धमा जासुसीका निम्ति यो मानवरहित विमान उडाएका थिए । यस हिसाबले हेर्दा ड्रोन ‘बम खसाल्ने र जासुसी गर्ने’ यन्त्रका रूपमा प्रचलनमा आएको हो ।

यद्यपि पछिल्लो समय ड्रोनले त्यस्ता कार्यमा पनि सहयोगी भूमिका खेलिरहेको छ, जसले मानवजीवनलाई थप सहज र सुरक्षित बनाएको छ । विश्व परिवेशको कुरा छाडौं, यस किसिमको अभ्यास नेपालमै पनि भैरहेको छ । वन्यजन्तु निगरानीदेखि भौगोलिक अध्ययनसम्मका काममा ड्रोनले अतुलनीय सहयोग गरेको छ । मनोरञ्जन क्षेत्रका निम्ति पनि यो ‘वरदान’ सावित भएको छ । अहिले नेपाली चलचित्र एवं म्युजिक भिडियोलाई फरक कोण र फ्रेममा दृश्यांकन गर्न ड्रोन क्यामेरा प्रयोग हुन थालेको छ । ड्रोन क्यामेराले जुन उचाइ र कोणबाट भिडियो तथा फोटो खिच्न सक्छ, त्यो सामान्य क्यामेराबाट कल्पना पनि गर्न सकिँदैन । यसले ५ देखि १० वर्गकिलोमिटर उचाइबाट दृश्यहरू कैद गर्ने सामथ्र्य राख्छ । हेलिकप्टरबाट समेत सम्भव नहुने दृश्यांकन ड्रोन क्यामेराले सम्भव तुल्याएको छ ।

त्यसो त नेपालमा ड्रोन क्यामेरा भित्रिएको करिब एक दशक पुग्न लागिसकेको छ । त्यतिबेला सीतापाइलामाथिको सेतो गुम्बामाथि उद्यमी शेखर गोल्छाले ड्रोन उडाएका थिए । कहिल्यै नदेखिएको सानो हवाई यन्त्र एकाएक आकाशमाथि देखा परेपछि त्यसले ठूलै हलचल मच्चाएको थियो । सन् २०१५ मा ड्रोनले भक्तपुरको विस्केट जात्राको तस्बिर खिचेको थियो । पछि महाभूकम्पको विनाशलीला दृश्यांकन गर्न ड्रोन नेपाली आकाशमा प्रवेश गर्‍यो । तीन वर्षअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले पुर्‍याएको क्षति र त्यसले निम्त्याउन सक्ने सम्भावित खतराका सम्बन्धमा अध्ययन/अनुसन्धानका लागि ड्रोन प्रयोग गरिएको थियो । त्यही आधारमा सरकारले उद्धार रणनीति अपनाएको थियो । उक्त कार्यमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) का विज्ञहरू सम्मिलित थिए ।

त्यसो त इसिमोडकै सक्रियतामा ड्रोनबाट वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनको असरजस्ता विषयमा अध्ययन गर्ने काम पनि भए । इसिमोडले काठमाडौं विश्वविद्यालयको साझेदारीमा चितवनको शक्तिखोरस्थित एक सामुदायिक वनमा कार्बन व्यापारको अध्ययन गर्न ड्रोन क्यामेराको सहयोग लिएको थियो । इनफ्रारेड क्यामेराजडित उक्त ड्रोनले रूखको उचाइ तथा अवस्थासम्बन्धी तस्बिर लिएको थियो । यो अध्ययनले सामुदायिक वनले कार्बन उत्सर्जन रोक्न पुर्‍याइरहेको योगदानको अध्ययन एवं विश्लेषण गर्ने बताइन्छ । त्यस्तै इसिमोडले खुम्बुक्षेत्रको हिउँ र ग्लेसियरमा जलवायु परिवर्तनले पारिरहेको असरको अध्ययन गर्न ड्रोन प्रयोग गरेको थियो ।

वनपैदावार एवं वन्यजन्तु चोरी–निकासीको गस्ती गर्नसमेत ड्रोन प्रयोग भएको छ, चितवनको राष्ट्रिय निकुञ्जमा । केही प्राविधिक समस्या भए पनि यस किसिमको अभ्यास विश्वका अरू क्षेत्रमा सफल भैसकेको छ । यसरी धेरै क्षेत्रको अध्ययन–अनुसन्धानमा ड्रोन क्यामेराको प्रयोग बढ्दैछ र यो उत्तिकै फलदायी पनि सावित हँुदै गएको छ ।
ड्रोनको आगमनले विश्व सिनेमाको परिदृश्य नै बदलिदिएको छ । अहिलेसम्म उपलब्ध प्रविधि र हेलिकप्टरको माध्यमबाट समेत कैद गर्न नसकिने दृश्य ड्रोनले खिच्न थालेको छ । यसले चलचित्रको स्तरलाई ह्वात्तै उकासेको छ । यस किसिमको अभ्यास नेपाली मनोरञ्जन क्षेत्रमा समेत भैरहेको छ । पछिल्लो अवधिमा बनेका केही चलचित्रमा ड्रोन क्यामेराबाट लिइएको आकर्षक दृश्य हेर्न पाइन्छ । अहिले म्युजिक भिडियो, टेलिभिजन विज्ञापन तथा वृत्तचित्र छायांकनका लागि पनि ड्रोन क्यामेराको प्रयोग बढिरहेको छ । पत्रकारिता क्षेत्रमा समेत ड्रोन निकै उपयोगी हुन सक्ने अनुमान गर्न थालिएको छ । गत वैशाखमा भूकम्प गएका बेला विदेशी पत्रकारहरूले ड्रोन क्यामेरा प्रयोग गरेका थिए ।

भूकम्पपछि ड्रोन क्यामेरा नेपाली आकाशमा यसरी उड्न थाले कि त्यसलाई नियन्त्रण गर्न सरकारले कडै कदम चाल्नुपर्‍यो । यस अवधिमा ड्रोन उडाउनेहरू पक्राउ पर्ने र छुट्ने क्रम जारी रह्यो । किनभने ड्रोन उडानलाई नियन्त्रण गर्ने स्पष्ट कानुन नेपाल सरकारसँग थिएन । उनीहरूलाई कुन मुद्दा चलाउने ? स्पष्ट छैन ।

२०७२ वैशाख १२ गतेको भूकम्पपश्चात् जथाभावी ड्रोन प्रयोग हुन थालेपछि सरकारले ड्रोन प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको थियो । यसको प्रयोगले गोपनीयता भंग हुन सक्ने भएकाले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ । गृहमन्त्रालयले सुरक्षाका हिसाबले संवेदनशील मानिएका क्षेत्र, सांस्कृतिक सम्पदा आदिमा ड्रोन क्यामेरा उडाउन नपाइने व्यवस्था गरेको छ । 
 कस्तो द्विविधा छ भने यो आधुनिक प्रविधिलाई आकाशमा पूर्णत: बन्देज पनि लगाउन सकिँदैन र स्वच्छन्द उडाउन दिन पनि मिल्दैन । किनभने एकातिर यसले सुरक्षा खतरा बढाइरहेको छ भने अर्कातिर अध्ययन–अनुसन्धानमा सहयोग पनि पुर्‍याइहेको छ । 
अर्को खालको ड्रोनचाहिँ हेलिकप्टरको जस्तो पंखा भएको मल्टिरोटर हुन्छ । यो हेलिकप्टरजस्तै सीधै माथि उड्छ । यसमा जति धेरै पंखा जडान गरिएको छ, त्यति नै बढी क्षमता हुन्छ । ६ पंखेलाई हेम्जाकप्टर र ८ पंखेलाई अक्टोकप्टर भनिन्छ । यसलाई आकाशमै स्थिर राख्न सकिन्छ । आफूले पहिल्यै तय गरेको बाटोमा ड्रोन उडाउन सकिन्छ । यसलाई रिमोटबाट पनि नियन्त्रण गर्न सकिन्छ । मोबाइल वा ट्याब्लेटको अपरेटिङ सिस्टम आईओएस एवं एन्ड्रोइडमार्फत आफ्नो रोजाइको तस्बिर खिच्न सकिन्छ । 
नेपालमा ड्रोन खेलौनाका रूपमा भित्रिइरहेको छ । कतिपय पर्यटकले ड्रोन आफैंले बोकेर ल्याएको पाइन्छ । नेपालमा अहिले कतिवटा ड्रोन छन् ? त्यसको कुनै स्पष्ट तथ्यांक छैन । किनभने यो आधिकारिक बाटोभन्दा पनि चोर बाटोबाट बढी भित्रिइरहेको छ । एक अनुमानअनुसार दैनिक दर्जनौं ड्रोन नेपाली बजारमा भित्रिरहेका छन् । यसरी भित्रिने ड्रोनको गलत प्रयोग हुन सक्ने भय पनि छ । यसले राष्ट्रिय सुरक्षादेखि निजी गोपनीयतासम्म भंग गर्न सक्ने सम्भावना छ ।

नेपाली परिवेशमा ड्रोन निकै उपयोगी सावित हुन सक्छ । भौगोलिक अध्ययन अनुसन्धानका लागि मात्र नभई विकट क्षेत्रको तत्काल सूचना प्रवाह गर्न र उद्वार कार्य सञ्चालन गर्न यसको प्रयोग गर्न सकिन्छ । विकट क्षेत्रमा कम तौलका औषधी ढुवानी गर्नसमेत यसको सहारा लिन सकिन्छ । किनभने विश्वमा यस किसिमको सफल अभ्यास भैसकेको छ । विदेशमा कृषि अनुसन्धानदेखि पिज्जा, बर्गर होम डेलिभरी गर्नसम्म ड्रोन प्रयोग भएको पाइन्छ । यस हिसाबले विश्वमा ड्रोनको प्रयोग एवं उपयोगिता बढ्दै गएको छ । यसको कारोबार पनि अपत्यारिलो ढंगले अकासिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects