स्टन्ट शोको आकर्षण

जावलाखेलस्थित मैदानमा राइडर्स युनिफाइडले स्टन्ट शो सम्पन्न गरेको छ । हजारौं दर्शकबीच बाइकहरू विभिन्न शैलीमा बेतोडका साथ हुइँकिएको देख्दा धेरैले आश्चर्य माने । ती बाइकमा सवार राइडरहरू भने निर्धक्कसँग हात फैलाएर वा खुट्टा मोटरसाइकलको माथि राखेर हाँसिरहेका थिए ।

उक्त अवसरमा भारतको सिक्किमबाट आएका मिलन प्रधानले विशेष प्रकारको स्टन्ट प्रदर्शन गरेका थिए । बाइकलाई उनले विभिन्न शैलीमा कुदाएर दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरे ।

स्टन्ट शोका क्रममा राइडर्स युनिफाइडका दीपेश श्रेष्ठ, अशोक महर्जन, अनिश महर्जन, अनिल महर्जन तथा निल महर्जनले पनि विभिन्न कला प्रस्तुत गरे । त्यति मात्र होइन, महिला राइडरहरू सुभानी थापा, नीता डिसी तथा आज्ञा खनालको प्रस्तुति पनि कम रोचक थिएन ।

बाइकलाई यसरी विभिन्न शैलीमा कुदाउनु वा उडाउनुलाई बाइक स्टन्ट भनिन्छ । राइडर्स युनिफाइडले आयोजना गरेको उक्त कार्यक्रममा साइकल स्टन्ट समेत गरिएको थियो । लुज डंगोल आदिले गरेको साइकल स्टन्टको रौनक पनि छुट्टै थियो ।

नेपालमा पहिलो पटक यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको साइकल तथा बाइक स्टन्टको आयोजना गरिएको हो । यसबाट दर्शकहरूले नि:शुल्क रूपमा भरपुर मनोरञ्जन प्राप्त गरे । जावलाखेल युथ क्लबको सहयोगमा राइडर्स युनिफाइडले उक्त स्टन्ट प्रदर्शन गरेको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects