पहिलो पटक

जीवनमा जेसुकै गरोस्, जहाँसुकै पुगोस्, अनुभवका खातहरू जति भरोस्, मान्छेलाई पहिलो पटक गरेका कुराको स्मृतिले कहिल्यै छाड्दैन । त्यसको नूतनता स्मृतिमा मीठो स्वाद बनेर आजीवन बसिरहन्छ । त्यसले बेला–बेलामा उसलाई कोट्याइरहन्छ, चिमोटिरहन्छ, घोचिरहन्छ र मान्छे त्यसमै रमाउँछ पनि ।
यसमा केही स्मृतिहरू बाल्यकालबाट निस्कन्छन्, केही जवानीकै अनुभवहरू पनि हुन सक्छन् । यद्यपि प्रकृतिलाई चिन्ने, बुझ्ने उमेर बाल्यकाल नै भएकाले अधिकतम पहिलो अनुभव बाल्यकालमै हुन्छ । स्मृतिले टिप्न भ्याएसम्मको पहिलो अनुभवमा जति रोमाञ्चकता मिसिएको हुन्छ, त्यो हदको रोमाञ्चकता दोस्रो, तेस्रो वा चौथो अनुभवमा हुँदैन । भोक लागेका बेलामा मुखमा पर्ने पहिलो गाँसको अनुभव जुन किसिमको हुन्छ, त्यसपछिका गाँसहरूमा नरहन सक्छ । एउटा नौलो ठाउँ छ, जहाँ जाने क्रममा देखा पर्ने कौतूहल र रोचकता जुन किसिमको हुन्छ, त्यो भाव त्यसउप्रान्तका भ्रमणहरूमा रहन सक्दैन । अक्सर मानिसहरू बाल्यकाल सम्झेर नोस्टाल्जिक पनि यसै कारण हुन्छन्, किनभने धेरै भन्दा धेरै पहिलो अनुभव बाल्यकालमै प्राप्त हुन्छ ।

छयालीस सालताकाको कुरा हो । त्यतिबेला महाभारत सिरियल खुबै प्रचलित थियो । टोलमा एक–दुई घरमा मात्र टिभी हुन्थे । हामी बासँग दिनहुँ किचकिच गथ्र्यों टिभीको माग गर्दै । एक दिन बाले बडो सरप्राइजका साथ घरमा १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी ल्याइदिनुभयो । केबुल जोडिएको थिएन । नेपाल टेलिभिजन, त्यो पनि बिहान केही घण्टा र बेलुकी केही घण्टा प्रसारित हुन्थ्यो । दिनभरि टिभी बेकम्मा । नेपाल टिभीका कार्यक्रमहरू सबै हेरिभ्याइसकेपछि टिभी झ्यार–झ्यारको मोडमा जान्थ्यो । हामी त्यो झ्यार–झ्यार पनि हेथ्र्यौं । गाली खाइन्थ्यो र टिभी बन्द गरिन्थ्यो । म बन्द टिभीको स्क्रिनमा आफ्नो अनुहार हेरेर पनि रमाउँथँे ।

त्यो खुसीको बयान म कसरी गरौँ ? त्यसको केही वर्षपछि बीस इन्चको रंगीन टिभी किनियो । एलसिडी, एलडिडीको जमाना आयो । ती पनि एवं प्रकारले किनिए । यद्यपि पहिलो पटक घरमा टेलिभिजन भित्रिँदाको खुसी जुन हदको थियो, त्यस्तो अनुभव त्यसउप्रान्त आउनै सकेन ।

सुरुमा कसैलाई छुँदाको तरङ्गले उसलाई जेजति हुन्छ, त्यसैलाई छोइरहँदा तरङ्ग–तरङ्ग रहँदैन । त्यो पनि धुमिल र फुङ्ग हुँदै जान्छ । पहिलो पटक चितवन राष्ट्रिय निकुञ्ज गएर हात्ती चढ्दा जुन किसिमको मज्जा आयो, त्यो मज्जा दोस्रो पटक त्यहाँ पुगेर हात्ती चढ्दा आएन । पहलोपटक घरमा रेफिजेरेटर किनेर ल्याउँदा चरम गर्मीमा त्यहीँभित्र छिरेर शीतलता प्राप्त गर्ने बेवकुफी गर्नुको मज्जा अहिले सम्झँदा अलि बढी नै जस्तो लाग्छ । लाखौँ कमाइयो, लाखौँ उडाइयो, तर पहिलोपटक नोकरी गरेर हातमा परेको पाँच सयको केवल एउटै नोट सम्झँदाको क्षणको सुखको खै के बयान गरौँ ? पहिलो पटक रेल वा हवाईजहाज चढ्दा जुन तहको मनोरञ्जन वा कौतूहलको अनुभव हुन्छ, त्यो दोस्रो, तेस्रो पटकमा हुनै सक्दैन । जवानीमा सेक्सको अग्र्यानिज्ममा पुग्दाको मज्जाभन्दा जीवनमै पहिलो पटक प्रेमको स्वाद थाहा पाउन किशोरवयमा हाई स्कुलतिरकी क्लासमेटलाई लभ लेटर दिएको प्रसङ्गले ज्यादा मिठास दिन्छ ।

शरीरमा नयाँ पहिरन लगाएको दिन मानिसले आफूलाई हिरो सम्झन्छ । जसै पहिरन मैलिँदै जान्छ, थोत्रिँदै जान्छ उसको मस्तिष्कको ताजगी पनि सड्दै जान थाल्छ ।

पहिलोपटक अनुभव गरेका कुराहरू जीवनमा दोहोरिरहँदैनन् । हामी लाचार छौँ । त्यस्तै चाहियो भनेर आफैँसँग ढिपी गर्नुको कुनै तूक छैन, तर अनुभवहरू भनेका आखिर हुन् नै यस्तै । तिनलाई स्मृतिको कुनामा सजाएर राखिराख्नु र मन लागेका बेला मस्तिष्कका पर्दा उघारेर सम्झी बस्नुमा पनि त आनन्द छ । अनुभव दोहोर्‍याउन नसकिएला तर त्यो अनुभवको स्मृति दोहोरिन्छन्, तेहरिन्छन् र यसो गरिरहँदा स्मृतिमा तिनको ताजगी मर्दैन भने पनि हामी जीवनमा धेरथोर खुसी हुन सक्छौँ । कतिपय अनुभव यस्ता हुन्छन्, जुन वर्तमानमा झिँजोलाग्दा भए पनि सुदूर भविष्यमा एउटा मीठो स्मृति बन्ने हैसियत राख्छन् ।

हो, पुराना अनुभवहरू उस्तै घनत्वका साथ, उत्तिकै रोमाञ्चकता लिएर हामी सामुन्ने हुँदैनन्, तर हामी नयाँ अनुभव पक्कै बनाउन सक्छौँ, नयाँ काम गरेर । कमसेकम आफूले जीवनमा कहिल्यै नगरेको केही गर्न सक्छौँ अथवा पुरानै काम गरे पनि नयाँ सोचबाट, नयाँ ढंगबाट, नयाँ शैलीबाट । जुन जीवनमा पहिलो पटक गरेजस्तै हुन सक्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects