योग म्याराथुनमा विश्व कीर्तिमानी मोक्तानलाई गिनिज प्रमाणपत्र

काठमाडौँ– योग म्याराथुनमा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई आज गिनिज वल्र्ड रेकर्डसबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यहाँ आज विश्व दर्शन अभियानले आयोजना गरेको कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका प्रमुख डा हरिप्रसाद पोखरेल र मनोक्रान्तिका गुरु डा योगी विकासानन्दले संयुक्त रुपमा मोक्तानलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

सो अवसरमा प्राकृतिक चिकित्साविद् डा पोखरेलले योगको जन्मभूमि नेपाल भएको कुरा संविधानमा लेख्न चुकेको उल्लेख गर्दै नेपालका शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता सबै योगको धरातल भई आएकाले योगको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । मोक्तानको सफलताले विश्वमा नेपालको नाम अझ उँचो भएको बताउँदै उनले नेपालमा योगको भविष्यको प्रचुर सम्भावना रहेकाले यसको प्रचारप्रसारमा जोड दिए।

मनोक्रान्तिका गुरु डा विकासानन्दले महान् बन्नका लागि महत्वाकाङ्क्षाले सकारात्मक भूमिका खेल्ने हुँदा सधैँ नयाँ काम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भने।

राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईले मोक्तानले युवाले चाहेमा आफ्नो र देशको गरिमालाई विश्वसामु बढाउन सक्ने उदाहरण मोक्तान भएको विचार राखे ।

कीर्तिमानी मोक्तानले आफूले आठ वर्षदेखिको कडा मिहेनतका कारणले सफलता पाएको बताए । उनले भने, “मैले यसका लागि निरन्तरण प्रयास गरेको थिएँ, योगी विकासानन्दको प्रेरणाले देशलाई विश्वमा चिनाउन पाएँ ।” ‘गिनिज वल्र्ड बुक अफ रेकडर्स’का अनुसार यसअघि २०१५ फेबु्रअरी १५ मा भारतका योगराज सिपीले ४० घन्टा १५ मिनेट योगासन गरी विश्व कीर्तिमान राखेका थिए ।

मोक्तानले राखेको कीर्तिमान सिपीभन्दा १० घन्टा बढी हो । वाल्मीकि विद्यापीठमा २०७२ पुस २ गते बिहान ११ बजेदेखि सुरु भएको सो म्याराथुन असार ४ गते अपराह्न १ बजेर १५ मिनेटसम्म गरी उनले कीर्तिमान राखेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects