पालो पर्खेकी मुना

भाद्र २५, २०७२- 
जब तीज नजिकिँदै जान्छ, गायिका मुना थापामगरको व्यस्तता बढ्दै जान्छ । उनका हरेक दिन तीजका नयाँ–नयाँ गीतको रेकर्डिङमै बित्छ । यसपालि मात्र एक दर्जनजति गीतमा स्वर भरिसकेकी मुनालाई अझै तीजका गीत गाउन निरन्तर अफर आइरहेको छ ।

तीज नजिकिँदै जाँदा मुनाको मन उमंगले भरिन्छ । ‘तीजको गीत गाउँदा छुट्टै रमाइलो हुन्छ ।’ मुना भन्छिन्, ‘यो चाडको सुन्दर पक्ष भनेकै यही हो ।’ गाउँमा बिताएका अतीतका केही सम्झनाले उनलाई घरीघरी भाबुक बनाउँछन् ।

मुना जन्मिई, हुर्किएको– बढेको गोरखा मनकामना गाविसस्थित सिलिङ लामाछापमा मनाइने तीजहरू विशेष हुन्थे । तीज आउनुभन्दा १५ दिनअघि नै गाउँभरि उल्लास छाउँथ्यो । हरेक राति खाना खाएर गाउँभरिका मानिस ठूलो आँगनमा जम्मा हुन्थे । घन्टौंसम्म नाचगान चल्थ्यो ।

दिदीको सारी लगाएर घरबाट डेढ घण्टा टाढाको बक्रेश्वरी मन्दिरमा पूजा गर्न पुगेको कुरा पनि उनको मस्तिष्कमा अझै ताजै छ । एकपटक मन्दिर जाँदा फलफूल किन्नु भनेर हजुरबाले १ सय रुपैयाँ दिनुभयो । उक्त नोट बाटोमा कता हरायो पत्तै पाइनन् उनले । ‘मायाले दिइएको त्यो पैसा नभेट्दा रुन मन लाग्यो । केही सम्झेजस्तो गरेर मुनाले भनिन्, ‘त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।’

आफ्नै घरगाउँ पुगेर मुनाले त्यसरी तीज मनाउन नपाएको पनि सात वर्ष भैसकेको छ । यतिबेला देश–विदेशमा मनाएका हरेक तीज उनका लागि विशेष र स्मरणीय बन्दै गएका छन् । गत वर्ष दुबईमा मनाएको तीज त्यस्तै यादगार रह्यो । मुना भन्छिन्–‘परदेशमा रहने दिदीबहिनीहरूसँग दु:ख–सुख साटियो ।’ यसपालि तीजअघि बहराइन जाने कार्यक्रम निश्चित भैसकेको छ । तीज ठ्याक्कै कहाँ मनाउने भन्ने कुराचाहिँ तय भैसकेको छैन । मलेसिया, कोरिया, युके तथा दुबई तीन–तीन पटक पुगेकी मुनाले डेढ दर्जनभन्दा बढी मुलुकको यात्रा गरेकी छिन् भने नेपालका ५० भन्दा बढी जिल्ला घुमिसकेकी छिन् ।

चरी बस्यो वरको डालीमा, बाडुल्ली लाइरहने, पिरतीमा फेल, तिम्रो राम्रो हाँसोले जस्ता चर्चित गीतकी गायिका मुनाको दैनिकी सधैं एउटै रुटिनमा चल्दैन । उनी प्राय:जसो बिहान ६/७ बजेतिर ब्यँुझिन्छिन् । कतै कार्यक्रममा जानुपर्दा बिहान ४/५ बजेतिरै निस्कनुपर्छ । नयाँबजारमा डेरा गरेर एक्लै बसिरहेकी मुना बिहान आफैं खाना बनाउँछिन् । उनको भान्सामा दाल, भात, तरकारी पाक्छ । दिउँसो गीत रेकर्डिङ र स्टेजमा व्यस्त हुन्छिन् । प्रत्येक साताजसो कुनै न कुनै स्टेज कार्यक्रमबाट निम्तो आइरहेकै हुन्छ । आफ्नो सुरिलो स्वरमा गीत सुनाउन उनी दर्शक, श्रोतामाझ पुगिरहेकै हुन्छिन् । उनलाई खाली बस्न मन लाग्दैन । कामबाहेकको समय आइफोन ६ मा फेसबुक, ट्वीटर चलाएर बस्छिन् । धेरै म्यासेज आउने हुनाले उनले फ्यान पेजमा म्यासेज पठाउन नमिल्ने बनाएकी छिन् । मुना ट्विटरमा आउने म्यासेजको भने जवाफ फर्काउँछिन् । उनी अन्तक्र्रियामा पनि भाग लिन्छिन् । मोबाइलमा कहिलेकाहीँ फोन र म्यासेज गरेर प्रेम प्रस्ताव राख्नेहरूलाई उनले ‘दाइ’ भनेर पन्छाइहाल्छिन् । ‘लामो कुरा गर्नै मन लाग्दैन ।’ मुना भन्छिन्– ‘सम्मान गरेर बोल्छु । कसैले नकारात्मक सोच्नै सक्दैनन् ।’

साउन लागेपछि मुनाका हात मेहन्दीले रंगिन्छन् । हातभरि टम्म हरियै चुरा छन् । ‘मेहन्दीले रंग्याएर हातमा कसैको नाम लेखिएन ?’ भन्ने प्रश्नमा लजालु स्वाभावकी मुनाले भनिन्– अहँ छैन, ‘आफूले चाहेर मात्र भएन । भाग्यमा जे लेखिएको छ त्यही हुन्छ । मेरो पनि पालो आउला नि ।’ उनलाई जीवनमा त्यस्तो एक्लोपन महसुस भैसकेको छैन । भाग्यमा विश्वास गर्ने मुना उपयुक्त समय र उपयुक्त व्यक्ति कुरिरहेकी छिन् । अहिले त उनी करियरमै जोड दिइरहेकी छिन् । आफ्नो पेसा बुझिदिने, परिवार र आफूलाई इज्जत गर्ने, दु:ख, सुखमा सधैं साथ दिने जीवनसाथीको खोजीमा छिन् उनी । स्कुटर किनेर पनि यत्तिकै थन्किएको छ । एकपटक दुर्घटनामा परेकाले चलाउनै डर लाग्छ । स्टेजमा उक्लिँदा              

हल्का मेकअप गर्ने तथा गुन्यू–चोली वा कुर्ता–सुरुवालमा ठाँटिने मुना अरू बेला भने मेकअपको वास्ता गर्दिनन्, आफूलाई सजिलो लाग्ने पहिरन लगाउँछिन् । चलचित्र हेर्न हलमा जाने बानी छैन । बरु डिभिडी किनेर ल्यापटपमै चलचित्र हेर्छिन् । झन्डै १ हजार ५ सय गीतमा स्वर भरिसकेकी मुना आधुनिक, लोक, पप सबै किसिमका सुन्न मन पराउँछिन् । यसपालि तीजका लागि उनले सपिङ गर्न भ्याइसकेकी छैनन् । मुनासँग ७ जोर सारी छन् जसलाई तीज र विशेष कार्यक्रममा मात्र लगाउँछिन् ।

मुना प्राय: साँझ ६ बजेतिर आफ्नो कोठा फर्कन्छिन् । दिउँसो बाहिर खाएको हुनाले उतिसारो खाने मन पनि हुँदैन, फलफूल र फास्टफुड खाए पुग्छ । घरमा वाइफाई छ । निद्रा नलाग्दासम्म फेसबुक र ट्विटरमा समय बिताउने मुना वाइफाई नहुँदा थ्रिजीबाट इन्टरनेट चलाउँछिन् । ‘अब त बानी नै भैसक्यो ।’ मुना भन्छिन्– ‘नचलाई बस्नै सकिँदैन ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects