Second Menu

गायिका र प्रस्तोताको अर्को नाम रुपा जीएम

बुवा इन्द्र बहादुर मगर तथा आमा दिल कुमारी मगरको कोखबाट कान्छी सुपुत्रीको रुपमा यस धर्तीमा पाईला टेकेकी रुपा जीएम मगर अहिले गायिका तथा उद्घोषिकाका रुपमा आफुलाई अघि बढाउँदैछिन् ।
उनलाई थाहा छ, यो युग संचारको युग हो, सामाजिक संजालको युग हो र विश्वग्रामको युग हो । यसै कुरालाई आत्मसात् गर्दै उनी प्रतिस्पर्धात्मक युगको चुनौतीलाई स्वीकार गर्दै अघि बढिरहेकी छिन् ।
गुल्मी जिल्लाको हाडहाडे–६मा जन्मिएर अहिले स्थायी रुपमा बुटवलमा आफूलाई अब्बल बनाउँदै गरेकी मगर ‘घात गर्ने साथी हुँदैन’, ‘रोइला दोहोरी’, कम्मरै भाँचौला’, ‘मेरो मुटु पुरस्कार फस्र्ट हुनेलाई’, ‘कति रुम्ला र म’, ‘जय शिवजी शंकर’ जस्ता आधा दर्जनभन्दा बढी लोकप्रिय गीतमा छाईसकेकी छिन् ।
जसमध्ये ‘घात गर्ने साथी हुँदैन’, ‘कति रुम्ला र म’ ‘रोइला दोहोरी’ लोकदोहोरी अन्तर्गत पर्दछन् भने ‘मेरो मुटु पुरस्कार फस्र्ट हुनेलाई’, कम्मरै भाँचौला’ ‘जय शिवजी शंकर’ तीजको गीत अन्तर्गत पर्दछन् ।

दर्शक र श्रोताको मत जित्न सफल ‘घात गर्ने साथी हुँदैन’ भन्ने गीतबाट २०६८ सालमा आफ्नो सांगीतिक यात्रा सुरु गरेकी रुपा अहिले ‘सालैजो’ एल्वमको यात्रामा जोडतोडले लागिरहेकी छिन् । अहिलेसम्म साँगीतिक प्रस्तुति तथा उद्घोषिकाको रुपमा रुपन्देही, कैलाली, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, स्याङ्जा, काठमाडौं तथा कञ्जनपुर जस्ता जिल्लाहरुमा आफ्नो प्रस्तुति पस्किसकेकी रुपाले स्वदेशमा मात्रै होइन, विदेशमा समेत नेपाली दाजुभाई तथा दिदीबहिनीबिच आफ्नो छाप छोड्न सफल भइसकेकी छिन् ।
आफ्नो कला देखाउने सवालमा छिमेकी मुलुक भारतको विभिन्न प्रान्तहरु मुम्वई, गोवा, कलकत्ता, दिल्ली जस्ता शहरहरुमा छाईसकेकी लाहुरेकी छोरी उनी अब मध्यपूर्व, युरोपेली मुलुकतिर समेत आफ्नो प्रतिभा प्रस्तुत गर्न लम्कँदैछिन् ।
गायनमा मात्र होइन, कार्यक्रम प्रस्तोताको रुपमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरेर एउटा छुट्टै पहिचान बनाउन सफल २० वर्षे यी नेपाली चेली आफ्नो अध्ययनलाई कलासंगसंगै अघि बढाउन चाहन्छिन् । धर्यता, सहनशीलता र मिलनशार स्वभावकी यिनी दर्शकको मनोविज्ञानअनुसार स्टेज तताउन माहिर छिन् । आन्तरिक र बाह्य सौन्दर्यकी धनी मगर पश्चिम नेपालको लोकप्रिय टिभी ‘लुम्बिनी टेलिभिजन’की भिजे तथा रेडियो तिनहूँकी लोकप्रिय आरजे समेत हुन् ।
सुरुका दिनमा स्टेज समेत नपाउने, उद्घोषण गर्छु भन्दा नपत्याउने जस्ता दुःखको क्षण र अहिले जसले पनि कार्यक्रमहरुमा बोलाउने अवस्थबीचको तुलना गर्दा उनी त्यसलाई आकास पातालबीचको फरक भन्छिन् ।
उनलाई अहिले पश्चिम नेपालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न तथा कार्यक्रममा उपस्थित भई गायन प्रस्तुत गरिदिन थुप्रै प्रस्तावहरु आउने गरेका छन् । यसरी उनको माग बढ्दै जानुमा उनकै प्रतिभा हो । किनकि उनलाई कार्यक्रम प्रस्तोताको रुपमा बोलाएमा गायिकाको भूमिका समेत उनैले निभाइदिने भएकाले आयोजकको पहिलो रोजाईको पात्र बन्छिन् ।
भर्खरै २० वर्षे वैंसमा दौडिइसहेकी पश्चिम नेपालकी यी सुन्दरी गायिकालाई थुप्रै प्रेम प्रस्ताव मात्र होइन, विवाहको प्रस्ताव समेत आउने गरेका छन् । तर यिनी आफ्नो बिहे अघिको आफ्नो लक्ष्य पुरा भइनसकेको भन्दै यस्ता प्रस्तावहरुलाई हाँसेर टारिदिन्छिन् । यस संवाददाताको तपार्इं कार्यक्रम प्रस्तोता कि गायिका भन्ने प्रश्नमा उनले सटिक जवाफ दिइन्– ‘यि दुवै क्षेत्र एक अर्काका परिपुरक भएकोले म गायिका र कार्यक्रम प्रस्तोता दुबै हूँ ।’ बाह्य तथा आन्तरिकरुपले दर्शक श्रोताका मन लोभ्याउने यी मिजासीली रुपा गीत संगीतलाई जीवनको पर्यायको रुपमा अथ्र्याउँछिन् । कलिलो उमेरमै गीत संगीतमा होकिएकी रुपा आफ्नो सम्पूर्ण जीवनलाई यसै क्षेत्रमा समर्पित गर्न चाहन्छिन।

No comments:

Post a Comment