२०१५ मा पढिएका पाँच उत्कृष्ट उपन्यास

आ–आफ्नो सोच हो । बितेको वर्षलाई हरकोहीले आ–आफ्नै ढंगले विश्लेषण गर्छन् । एक वर्षभरिमा धेरै उतारचढाव देखा पर्छ जसलाई सम्झेर वा केलाएर साध्य हुँदैन । कहिलेकाहीं कुनै वर्षलाई कुन–कुन गतिला पुस्तक पढियो भनेर पनि हेर्नुपर्ने रहेछ । यसपालि मैले पढेकामध्ये पाँचवटा राम्रा उपन्यासको नाम सम्झिन चाहेँ । आशा छ यी उपन्यासले मलाई जस्तै यहाँहरूको पनि मन छोएको छ वा छुनेछ ।

१. द गाइड
आर के नारायण मलाई मन पर्ने लेखक हुन् । उनको मालगुडी डेज भारतमा निकै लोकप्रिय छ । द गाइड उनको सफल उपन्यास हो । यो पुस्तकमा राजु नाम गरेको गाइडको वाल्यावस्थादेखि जवानी अनि जीवनका थुप्रै आरोह–अवरोह केलाइएको छ । राजुको जीवनको कायापलट रोजी जो मार्को नाम गरेको व्यक्तिकी श्रीमती हुन्छिन्, आएपछि हुन्छ । रोजी डान्सर हुन्छिन्, जोसँग राजुको प्रेम हुन्छ । राजुले उसलाई सपना देखाउँछ र पूरा गर्दै पनि जान्छ । ऊ रोजीसँगै बस्न थाल्छ । केही फर्जी कामको अभियोगमा जेल पनि जान्छ र पछि ऊ संयोगवश धार्मिक व्यक्तित्वका रूपमा एउटा गाउँमा पुग्छ र उक्त गाउँलाई खडेरीबाट मुक्त गर्न उपवास बस्छ ।

२. दब्रिजेस अफ म्याडिसन कन्टी
यसका लेखक हुन्— रोबट जेम्स वालर । यो विशुद्ध प्रेमकथा हो । रोबर्ट किनकेड र फ्रान्सेस्का जोनसनको विवाहेत्तर सम्बन्ध भए पनि उनीहरूको प्रेमलाई निकै मार्मिक र जायज सम्बन्धका रूपमा प्रस्तुत गरिएको छ । वालर घटनालाई विस्तारपूर्वक बयान गर्न खप्पिस छन् । कोही बाँचुन्जेलको आनन्दका लागि प्रेम गर्छन् । कोही मरेपछि पनि कसैको स्मृतिमा बाँचिरहने गरी प्रेम गर्छन् । यस्तै भाव बोकेको कथाको अन्त्यले जो–कोहीलाई भावुक बनाउँछ ।

३. नर्वेजियन उड
हारुकी मुराकामी जापानका प्रख्यात लेखक हुन् । नर्वेजियन उड प्रकाशित भैसकेपछि उनी रातारात सेलिब्रिटी भए । आफ्नो स्टारडम थेग्न गाह्रो भएपछि उनले जापानै छाडेर भाग्नुपरेको थियो रे । नर्वेजियन उड पनि प्रेमकथा नै हो । तोरु, नाओको र मिदोरी नाम गरेका तीन पात्रबीच घुम्ने यो कथा निराशामा गएर टुङ्गिन्छ । टोकियो युनिभर्सिटीलाई लेखकले जुन हिसाबले बयान गरेका छन्, पढ्ने मान्छे पनि त्यहीँ पुग्छ । नर्वेजियन उडमा यौनको मात्रा धेरै छ । लेखकलाई यौन बेच्यो भन्ने आरोप पनि नलागेको होइन । यद्यपि यौन यदि प्रेमसँगै आयो भने त्यो सुन्दर देखिन्छ, जबरजस्ती आयो भने अश्लील हुन्छ । प्रेमलाई बुझ्ने मानिसहरूलाई यो लाग्दै लाग्दैन कि नर्वेजियन उड अश्लील छ ।

४. वे दिन
वे दिनका लेखक हुन् भारतीय उपन्यासकार निर्मल वर्मा । यसमा चेक रिपब्लिकको राजधानी प्रागमा विद्यार्थी जीवन बिताइरहेको पात्रको वरिपरि कथा घुम्छ । विदेश गएर पढ्दाका अप्ठेराहरू अनि एक जना विदेशीसँगको सम्बन्धलाई निर्मल वर्माले यो पुस्तकमा उजागर गरेका छन् । निर्मल बर्मा पनि कथालाई अघि बढाउन हतार गर्दैनन्, प्रत्येक कुरालाई सूक्ष्म रूपमा वर्णन गर्नु उनको विशेषता हो । यद्यपि उनको लेखनमा बढी नैराश्यता झल्कन्छ ।

५. कम्पनी अफ वुमन
भारतीय लेखक खुसवन्त सिंहको कम्पनी अफ वुमन यौन कथा हो भन्दा फरक पर्दैन । विवाह हुनुअघि र पछिका यौनसम्बन्धहरू केलाइएको यो पुस्तक कसैको बायोग्राफीजस्तो लाग्छ । असुरक्षित यौन सम्पर्कका कथाको मुख्य कारण पात्र अन्त्यमा एचआईभी पीडित हुन्छ र आत्महत्या गरेर मर्छ । यो पुस्तक धेरैलाई अश्लील लाग्न सक्छ र पुरुषपात्रले जुन तरिकाले महिलाको खोजी गर्छ त्यो पनि अपत्यारिलो छ । सरल भाषा एवं प्रस्तुतिका कारण भने यो पुस्तक पठनीय छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects