सगुनको नयाँ फिचर

अमेरिकामा बस्ने नेपालीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले एकपछि अर्को फिचर सार्वजनिक गर्दै फेसबुक र ट्विटरसँग प्रतिस्पर्धा गर्न महत्त्वाकांक्षी योजना अघि सारेको छ । पछिल्लो समयमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा व्यापक अनुसन्धान गरेर बनाइएको फरक र नयाँ फिचरसहितको ‘सोसल साइट’ सगुनले नयाँ वर्ष २०१६ लाई लक्षित गर्दै नयाँ फिचरहरू तयार पारेको छ ।

सगुनको ‘१.० बेटा भर्सन’ गत वर्ष अमेरिकाबाट अभिनेत्री मनिषा कोइरालाले ‘लन्च’ गरेकी थिइन् । गत कात्तिक २२ मा नेपालमै आयोजित कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको ‘२.० भर्सन’ ‘ग्लोबल लन्च’ गरेका छन् । नयाँ भर्सन नयाँ वर्षको उपहारस्वरूप ल्याइएको नेपालका आइटी प्रमुख राजु कट्टेलले बताए ।

अहिलेसम्म यसका प्रयोगकर्ता ३ लाखको हाराहारी पुगिसकेको पनि कट्टेलले जानकारी दिए । उनका अनुसार यसका प्रयोगकर्ता नेपालीका साथै भारत र विश्वका विभिन्न मुलुकका नागरिक छन् । विश्वभर चर्चामा रहेका अन्य सोसल साइटहरूभन्दा पृथक् फिचर र विविध सुविधाका कारण सगुन डटकमले केही वर्षमै फेसबुक तथा ट्विटरसँग प्रतिस्पर्धा गर्ने सगुन टिमको दाबी छ ।

सामाजिक सञ्जालमा सेयर गरिने ‘न्युज लिंक’का लागि छुट्टै ‘अप्सन’ निर्माण गर्न लागिएको सगुनका मिडिया संयोजक शिवाकोटीले जानकारी दिए । ‘अहिले अनलाइन मिडियाले आफ्नो न्युज सेयर गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन् । त्यसका लागि छुट्टै अप्सनमार्फत सहज बनाउने कार्य हुँदैछ,’ शिवाकोटीले भने ।

मुड टक र सुरक्षित च्याटिङ
सगुनले च्याटिङ सिस्टमलाई ‘मुड टक’ नाम दिएको छ । यसमा मान्छेको मुड नबुझी कुरा गर्न खोज्नेलाई निरुत्साहित गर्न खोजिएको छ । यसमा मुड सेट गर्न मिल्छ । त्यसैअनुसार अरूले कुरा गर्दा जुनसुकै बेला जे विषयमा पनि कुरा गरेर दिक्क पार्ने च्याटिङ प्रवृत्ति निरुत्साहित हुन्छ भन्ने विश्वास लिइएको छ । यसमा च्याट र म्यासेजमा गोपनियतालाई विशेष जोड दिइएको छ । व्यक्तिगत रूपमा पठाइएको म्यासेज सम्बन्धितले व्यक्ति हेरिसकेपछि आफैं मेटिन्छ ।

माइ डे
सामाजिक सञ्जालमा जुन लतको विकास भैरहेको छ, त्यसलाई निरुत्साहित गर्ने योजना सगुनको छ । अनावश्यक रूपमा सञ्जालमा अल्झिरहने भन्दा पनि दैनिक काममा सहायक हुने ‘टुल्स’ यसमा विकास गरिएको छ । यसमा दैनिक गर्नुपर्ने काम सम्झाउने टुल्सहरू प्रयोग गरिएको छ । यसअन्तर्गत गर्नुपर्ने कामको सूची, समय सूची र सम्झाउने ‘रिमाइन्डर’ सेट गर्न मिल्छ । अहिले त्यस्तो ‘नोटिफिकेसन’ इमेलमा पठाउने बनाइएको छ । पछि एसएमएस नै जाने प्रणालीसमेत विकास हुनेछ ।

सेक्रेट्स सेयरिङ
सगुनमार्फत व्यक्त गरिने विचार वा सूचनालाई ‘सेक्रेट्स’ नाम दिएको छ । ‘सेक्रेट्स’ दुई तरिकाले पोस्ट गर्न सकिन्छ, सबैले हेर्न मिल्ने गरी र निश्चित व्यक्ति, परिवार वा समूहले मात्र हेर्न मिल्ने गरी । ‘परिवारका सदस्यलाई मात्र कुनै जानकारी दिनुपरे वा आफ्नो कुनै समूहमा मात्र सूचना दिनुपरे यो सुविधा बढी प्रभावकारी हुन्छ ।

त्यसका लागि साथी बनाउँदा नै त्यसको वर्गीकरण गर्ने सुविधा छ । यसमा साथी बन्दा फ्यामिली, को–वर्कर्स वा फ्रेन्ड्समध्ये एउटा वर्गमा राख्ने सुविधा छ । त्यसैका आधारमा लक्षित सेक्रेट्स लेख्न सकिन्छ । फ्यामिलीलाई लक्षित गरिएको सेक्रेट्स फ्रेन्ड्स वा को–वर्कर्सले हेर्न पाउँदैनन् । त्यसैगरी आफूले अभिव्यक्त गरेको विचारलाई यसले एकै ठाउँमा संकलन गरिदिन्छ । ती सबै ‘माइ सेक्रेट्स’ अन्तर्गत हेर्न सकिन्छ । अरूको विचारचाहिँ ‘ओपन सेक्रेट्स’मा देखिन्छ ।

त्यसैगरी यसमा आफूले व्यक्त गरेको विचारलाई सहजै वर्गीकरण गर्न पूवनिर्धारित ह्यासट्यागको सहज प्रयोग गर्न सकिन्छ । त्यस्ता ह्यास ट्यागको सूची ‘हट सेक्रेटस’ अन्तर्गत खाताको दायाँतर्फ छ ।

कनेक्ट, सेयर एन्ड अर्न
सगुनको नारा हो— ‘कनेक्ट, सेयर एन्ड अर्न’ । यसको अर्थ यसमा सामाजिकीकरणका गतिविधिमात्र हुनेछैनन्, आम्दानीको स्रोत पनि हुनेछ । ‘अन्य सामाजिक सञ्जालले केवल आफ्ना भावना सेयर गर्ने अप्सन मात्र दिन्छन्, तर सगुनले ई–कमर्सलाई पनि साथै अघि बढाउँदै छ’ आईटी प्रमुख कट्टेल भन्छन्, ‘यसमा धेरै केही गर्न लागिएको होइन, सामाजिक सञ्जालबाट प्राप्त हुने आम्दानीको केही प्रतिशत सदस्यलाई पनि बाँड्ने अवधारणा हो । त्यसका लागि स्मार्ट कार्डमार्फत सुविधा प्रदान गर्ने योजनामा छौं ।’

डिस्लाइक अप्सन
सामाजिक सञ्जालमा पहिलो पटक सगुनले डिस्लाइक अप्सन दिएको छ । सेयर गर्ने र लाइक गर्ने अप्सनलाई अन्यमा जस्तै निरन्तरता दिइएको छ ।
२०१६ मा एप्स पनि
प्रारम्भिक चरणमा सिमित एप्स भएपनि यसलाई छिट्टै विस्तार गर्ने अभियानमा कम्पनी छ । मोबाइल एप्स सन् २०१६ को सुरुवातमै लन्च हुँदैछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects