Second Menu

दक्षिण एसियाली फुटबलको नक्सा फेरिँदै

दक्षिण एसियाली फुटबल अब फेरि उस्तै हुनेछैन । भारतको दक्षिणी राज्य केरलाको त्रिवेन्द्रममा सम्पन्न यसपल्टको साफ च्याम्पिनसिपपछि यही प्रतियोगिताको आउने संस्करणमा सहभागी देशको संख्या घट्नेछ । किनभने अफगानिस्तानले खेल्ने यो नै अन्तिम साफ च्याम्पियनसिप हो र यसपछि ऊ दक्षिण एसियाली फुटबल क्षेत्र छाडेर मध्य एसियाली क्षेत्रमा जानेछ ।

अफगानिस्तानको अनुपस्थिति दक्षिण एसियाली फुटबलका लागि ठूलो धक्का सावित हुने तय छ । लगभग एक दशकअघि दक्षिण एसियाली फुटबलमा प्रवेश गर्दा अफगानिस्तान निकै कमजोर थियो । सबै टिमले उसमाथि ठूलो अन्तरको जित रच्थे तर बिस्तारै टिमले सुधार गर्दै गयो र चाँडै नै आफूलाई दक्षिण एसियाली फुटबलको शक्तिका रूपमा स्थापित गर्‍यो ।

यसको सबैभन्दा राम्रो उदाहरण त साफ च्याम्पिनसिपका पछिल्ला तीन संस्करण नै हुन् र यी सबै संस्करणमा अफगानिस्तानले आफ्नो अलग स्थान बनाएको छ । सन् २०११ मा नयाँ दिल्लीमा सम्पन्न साफ च्याम्पियनसपमा अफगानिस्तानले पहिलोपल्ट फाइनल खेलेको थियो र त्यसयता प्रत्येक संस्करणमा उसको मुख्य प्रतिद्वन्द्वी भारत रह्यो । सन् २०११ को उक्त संस्करणमा भारत विजयी भएको थियो ।

त्यसपछि सन् २०१३ मा काठमाडौंमा भएको प्रतियोगितामा अफगानिस्तान नै विजयी भयो र यो नै उसले प्राप्त गरेको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । यसपल्टको फाइनलमा भने अफगानिस्तान फेरि भारतको हातबाट पराजित भयो । त्रिवेन्द्रममा प्रतियोगिता सुरु हुनुअघि नै यो उसको अन्तिम प्रतियोगिता हुने कुरा तय भैसकेको थियो ।

अफगानिस्तानले किन दक्षिण एसिया छाडेर मध्य एसिया रोज्यो त ? मध्य एसिया यो क्षेत्रको नयाँ समूह हो र यो दक्षिण एसियाभन्दा निकै बलियो छ । यसमा रहेका अरू देश हुन्— इरान, किर्गिस्तान, ताजाकिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान । यसमध्ये ताजाकिस्तान र उज्वेकिस्तान एसियाली फुटबलका शक्ति हुन् भने इरान त अझ महाशक्ति ।

अफगानिस्तानले आफ्नो फुटबलस्तर दक्षिण एसिया छाडेपछि मात्र बढ्ने देखेर यो निर्णय गरेको हो । यसले अफगानिस्तानको फुटबललाई त फाइदा गर्नेछ भने घाटा हुनेचाहिँ दक्षिण एसियाली फुटबललाई नै हो । अफगानिस्तानका लागि एउटै मात्र दु:ख के रहनेछ भने उसले आफू सहभागी अन्तिम प्रतियोगता भने जित्न सकेन । भारत उससँग बदला लिन सफल भयो ।

भारतको प्रभुत्व
दक्षिण एसियाली फुटबलमा भारतको प्रभुत्व लगातार छ र यसको अर्को प्रमाण यसपल्टको साफ च्याम्पियनसिप पनि हो । त्रिवेन्द्रममा पराजित नहुने एक मात्र टिम भारत रह्यो । अहिलेसम्म सार्क गोल्डकपका दुई संस्करण र साफ च्याम्पियनसपका नौ संस्करण गरेर कुल ११ प्रतियोगितामा भारत सातपल्ट विजेता भएको छ । पछिल्ला चार संस्करणमध्ये भारत तीनमा विजयी छ ।

भारतको पछिल्लो सफलताले त्यहाँका फुटबल समर्थकलाई भने पर्याप्त खुसी बनाउन सकेको छैन । यसको कारण कमजोर र अन्यौलपूर्ण घरेलु ढाँचा नै हो । अहिले भारतमा  दुई फरक लिग चलिरहेको छ, एउटा आईएसल, अर्को आई लिग । आईएसएल फ्रान्चाइजका आधारमा हुन्छ भने आई लिग क्लबका आधारमा । दुवै एक अर्काका विपरीत छन् ।

भारतले दक्षिण एसियामा राम्रो गरे पनि त्यसको घेरा बाहिर भने केही गर्न सकेको छैन । त्यसैले पनि भारतीय फुटबललाई ‘अन्डर एचिभर’ मानिन्छ । सन् ६० तिर भारत एसियाली फुटबलको महाशक्ति थियो । भारतीय फुटबलको इतिहास पनि लामो छ । बिस्तारै ओरालो लागेको भारतीय फुटबल फेरि पुरानो लयमा फर्कन सकेको छैन ।

No comments:

Post a Comment