सीप भए, कमाइ राम्रो

काम गरेर पैसा कमाउने, घरको ऋण तिर्ने, केही पैसा बचत गर्ने, स्वदेश फर्किएर सानोतिनो उद्यम गर्ने । यस्तै सपना बोकेर थुप्रै युवा श्रम भिसामा बिदेसिन्छन् । यद्यपि उनीहरूको सपना त्यतिवेला तुहिन्छ, जब रोजगारदाता कम्पनीले तोकिएको पारिश्रमिक दिँदैन । त्यसो हुनुको पछाडि दलालको झूटो आश्वासन मात्र होइन, स्वयं कामदारमा आवश्यक सीप एवं दक्षताको अभाव पनि हो । पछिल्ला अध्ययनहरूले यस्तै देखाएको छ ।

अधिकांश युवा आधारभूत जानकारी र सीपबिना नै वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष ०७१/७२ मा रोजगारीमा गएकामध्ये ४६ हजार ६ सयले मात्र सीप सिकेका थिए । वैदेशिक रोजगार विभागका अनुसार उक्त आर्थिक वर्षमा ५ लाख १२ हजार कामदार श्रम भिसामा बिदेसिए । यसबाट प्रस्ट हुन्छ, धेरैजसो अदक्ष कामदार नै वैदेशिक रोजगारीमा गएका छन् ।

विज्ञहरू भन्छन्– ‘हातमा सीप नभई विदेश जानु भनेको आफैं ठगिनु हो । उनीहरूले श्रमिकका रूपमा न्यून पारिश्रमिकमा कठिन काम गर्नुपर्ने हुन्छ ।’ यसरी बिदेसिनेहरूको न त कामको प्रकृति तोकिएको हुन्छ, न पारिश्रमिक नै । जबकि काम गर्ने कम्पनी, आफूले गर्नुपर्ने काम, पाउने पारिश्रमिक आदिका सम्बन्धमा स्पष्ट भैसकेपछि मात्र वैदेशिक रोजगारीमा जान सरकारी निकायले बारम्बार आह्वान गर्दै आएका छन् । यद्यपि, आवश्यक सूचनाको अभाव र दलालको वहकाउमा लागेर अधिकांश युवा बिनाकुनै सीप बिदेसिने गरेका छन् ।

कतिपय म्यानपावर कम्पनी वा दलालहरूले झूटो प्रलोभनमा कामदारलाई विदेश पठाउने गरेका छन् । उनीहरूले श्रमिकको क्षमताको आँकलन नगरी ‘यस्तो काम गर्नुपर्ने र यति पारिश्रमिक पाइने’ भनेर फसाउने गरेको पाइन्छ । यद्यपि यसरी लहलहैमा बिदेसिनुअघि आफूले गर्नुपर्ने कामका सम्बन्धमा पूरा जानकारी लिनुपर्ने विज्ञहरू बताउँछन् । उक्त काममा आफू दक्ष भएमात्र आवेदन दिनु राम्रो हुन्छ । आफूले काम गर्ने कम्पनीको प्रकृति, त्यसमा आफ्नो भूमिका र प्राप्त हुने पारिश्रमिकका सम्बन्धमा विश्वस्त भैसकेपछि मात्र रोजगारीमा जानु राम्रो हो ।

विदेशका कम्पनीहरूले अदक्ष र दक्ष दुवै किसिमका कामदार माग गर्ने गरेका छन् । अदक्ष कामदारको पारिश्रमिक एकदमै न्यून हुने गरेको छ भने उनीहरूले गर्नुपर्ने काम पनि कठिन र जोखिमयुक्त हुन्छ । उनीहरूले जतिसुकै मेहनत गरे पनि सुरुको पारिश्रमिकमा खासै वृद्धि हुँदैन । सेवा–सुविधा सन्तोषजनक हुँदैन । त्यसको तुलनामा दक्ष कामदारका लागि विदेशमा पनि धेरै सम्भावना हुन्छ । तोकिएको कामका लागि आवश्यक सीप लिएर बिदेसिनेहरूले सर्तबमोजिमकै पारिश्रमिक पाउँछन् । उनीहरूको कामको पर्फमेन्सअनुसार पारिश्रमिक वृद्धि हुनुका साथै र सेवा सुविधा पनि थपिन्छ ।

वैदेशिक रोजगारीमा सामान्यत: इलेक्ट्रिसियन, सेक्युरिटी गार्ड, कुक, वेटर, केयर गिभर, प्लम्बर, क्लिनर, सेल्स ब्वाइ, ड्राइभर, सिकर्मी, डकर्मीजस्ता कामका लागि जनशक्ति माग हुन्छ । यस्ता काममा दक्षता हासिल गरेपछि रोजगारीमा जाँदा ठगिने सम्भावना हुँदैन ।

वैदेशिक रोजगारीलाई केन्द्रित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) आदि सरकारी तथा गैरसरकारी संस्थाहरूले यस्ता तालिम उपलव्ध गराउने गरेका छन् । कामको प्रकृतिअनुसार छोटो तथा लामो अवधिको तालिम लिन सकिन्छ ।

श्रम मन्त्रालयले आधारभूत तालिमबिना वैदेशिक रोजगारीमा जान नपाइने नीतिगत व्यवस्था गरेको छ । यद्यपि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । महँगो ब्याजमा ऋण लिएर बिदेसिन हतारिएका युवाहरू सीपबिना नै वैदेशिक श्रम बजारमा पुग्ने गरेका छन् । यता दलालहरूले समेत युवाहरूलाई तालिम दिलाउने झन्झट मोल्न चाहँदैनन् ।

वैदेशिक रोजगारीमा जोखिमबाट बच्न र तोकिएको पारिश्रमिक प्राप्त गर्न कामदार दक्ष हुनुपर्ने विज्ञहरू बताउँछन् । विदेशमा दक्ष कामदारको उच्च माग छ । यता विदेशमा गर्ने कामको प्रकृतिअनुसारको दक्षता नेपाली कामदारमा छैन । उनीहरूले विदेशमा जुन काम गर्नुपर्ने हो, त्यही अनुसार ज्ञान र सीप आवश्यक हुनु स्वाभाविक हो ।

वैदेशिक रोजगारीमा जाने कामका लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यसका साथै मान्यताप्राप्त संस्थाबाट अनिवार्य रुपले अभिमुखीकरण तालिम लिएको हुनुपर्छ । अभिमूखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रमसम्बन्धी कानुनी प्रावधान आदिका सम्बन्धमा जानकारी पाइन्छ ।

न्यूनतम पारिश्रमिक र लागत खर्च

१.मलेसिया-  रु. ८० हजार ५ सय ४६ मलेसियन रिंगिट

२. कतार-  रु. ७० हजार ६ सय कतारी रियाल

३. सउदी अरेयिबा-  रु. ७० हजार ८ सय साउदी रियाल

४. कुवेत-  रु. ७० हजार ६० कुवेती दिनार

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects