वेस्टर्न गाउनको लोकप्रियता आजभोलि गाउनको चर्चा र लोकप्रियताले बजारको वातावरण नै फरक बनाएको छ । विवाहित हुन् वा अविवाहित, महिलाहरूका लागि गाउन अनिवार्यजस्तै भैसकेको छ ।
गाउन भन्नेबित्तिकै वेस्टर्न हो कि भारतीय, त्यसको खोजी हुन्छ । अहिले भारतीयको तुलनामा वेस्टर्न गाउनले धेरैको मन तानेको छ । वेस्टर्न गाउनको दाँजोमा भारतीय गाउन केही महँगो पर्ने भएकाले पनि वेस्टर्न गाउनले नेपाली युवतीहरूलाई आकर्षित गरेको हो । वेस्टर्न गाउन सस्तो हुने मात्र नभै लगाउन सजिलो तथा आरामदायकसमेत हुन्छ ।
झट्ट हेर्दा रोयल लुक्स दिने गाउन लगाएर हिँडे युवतीहरू सुन्दर मात्र देखिँदैनन्, सानदार व्यक्तित्व समेत कहलिन्छन् । यसले वेस्टर्न फेसनमा सजिएर हिँड्न चाहने पछिल्लो पुस्ताको चाहना पूरा गरिदिएको छ । वेस्टर्न गाउन तयार गर्दा हल्का कपडामा थोरै ह्यान्डवर्क गरिएको हुन्छ । ग्ल्यामरस लुक्स दिने वेस्टर्न गाउनमा किशोरीहरू आफूलाई आकर्षक अनुभव गर्ने भएका कारण पनि अहिले नेपाली फेसन बजारमा वेस्टर्न गाउनले विशेष स्थान प्राप्त गरेको छ ।
विभिन्न कलर कम्बिनेसनमा तयार गर्न सकिने यस्ता गाउनमा विविध फेब्रिक प्रयोग गर्न सकिन्छ । यस्ता गाउन प्राय: गरेर सिल्क, साटर्न सिल्क, एप्पल सिल्क, ब्रोकेट, नेट आदिमा तयार गरिन्छ । अहिले रातो, पहेंलो, नीलो, हरियो, कालो, सेतो, बैजनी आदि रंगका वेस्टर्न गाउनको चलन बढी छ ।
दुई वर्षयता नेपाली बजारमा वेस्टर्न गाउनको माग निकै बढेको छ । लामो कुर्कच्चा ढाक्ने गाउनसँग क्रेप चोली र सल पनि प्रयोग गरिन्छ । कतिपयले सलबिनाको गाउन समेत प्रयोग गर्छन् । गाउनसँग लगाइने चोलीमा हल्का ह्यान्डवर्क अनि बोर्डर हुन्छ । हिजोआज युवतीहरू शारीरिक बनावटअनुरूप जीउमा चिटिक्क देखिने गाउनअनुसारका एसेसरिज पनि प्रयोग गर्छन् । पहिले–पहिले विशेष समारोह वा वैवाहिक कार्यक्रमहरूमा साडी तथा कुर्ता–सुरुवालले बढी महत्त्व पाउँथ्यो भने आजभोलि त्यस्ता कार्यक्रममा गाउनले स्थान पाएको देखिन्छ ।
गाउन सामान्य युवतीदेखि सेलिब्रेटीसम्मले लगाउने गरेका छन् । स्क्रिनमा देखिने स्टाइलदेखि सामान्य अवसरमा लगाएर हिँडेको देखिने वेस्टर्न गाउनको चर्चा नेपालका महत्वपूर्ण सहरहरूसम्म समान ढंगले फैलिएको छ । त्यसै कारण नेपालमा वेस्टर्न गाउनको फेसन लामो समय टिक्ने डिजाइनरहरू बताउँछन् ।



0 comments:
Post a Comment