वर्षका उत्कृष्ट ब्लोअप


साप्ताहिक र मध्यपृष्ठका सुन्दरीहरू एक–अर्काका परिपूरक हुन् । सुन्दरीहरूसँगको साप्ताहिकको नाता २१ वर्ष पुरानो भैसकेको छ । २१ वर्षसम्म साप्ताहिकको मध्यपृष्ठले पाठकहरूको मन सातैपिच्छे जितिरहेको छ । साप्ताहिकको मध्यपृष्ठका बारेमा केही वर्षअघि निर्देशक नारायण पुरीले भनेका थिए– ‘साप्ताहिकको मध्यपृष्ठ र सिनेमाहलको पर्दा मलाई उस्तै लाग्छ । जसरी सिनेमाहलको पर्दामा हरेक शुक्रबार नयाँ चलचित्र आउँछ र दर्शकलाई नयाँ–नयाँ किसिमको मनोरञ्जन दिन्छ, त्यसरी नै साप्ताहिकको मध्यपृष्ठमा पनि हरेक साता नयाँ–नयाँ किसिमका मुहार र स्टाइल देखेर पाठकहरूले मनोरञ्जन प्राप्त गरिरहेका हुन्छन् ।’

साप्ताहिक २१ वर्षको लक्का भैसकेको छ । ‘इन्फोटेन्मेन्ट’ पत्रिकाका रूपमा विभिन्न सूचना तथा मनोरञ्जक सामग्री प्रस्तुत गर्ने क्रममा साप्ताहिकले मध्यपृष्ठलाई अझ आकर्षक ढंगबाट सजाउने गरेको छ । भिन्न–भिन्न कन्सेप्टमा आधारित तस्बिर छनौट गरेर ब्लोअप (मध्यपृष्ठ) मा स्थान दिइँदै आएको छ । यसरी साप्ताहिकले २१ वर्ष पूरा गर्दासम्म मध्यपृष्ठमा प्रकाशित हुने ब्लोअपको स्तरसमेत वृद्धि भैसकेको छ । फोटोग्राफी, मेकअप, पोज, लोकेसन तथा डिजाइनमा समयअनुसार परिवर्तन गर्दै एवं यसको स्तरीयता बढाउँदै पाठकहरूलाई हरेक अंक नयाँ स्वाद पस्कने साप्ताहिकको प्रयास सफल पनि भैरहेको छ । अहिलेका चर्चित कोरियोग्राफर तथा मोडल गम्भीर विष्ट भन्छन्– ‘साप्तहिकको मध्यपृष्ठमा आउन कुन चर्चित मोडल वा युवती बाँकी होलान् र ? भनेर सोच्यो, तर हरेक अंकमा साप्ताहिकले नयाँ ढंगबाट सकेसम्म नयाँ मुहार नभए स्थापित मुहारलाई नयाँ ढंगबाट प्रस्तुत गरिरहेको हुन्छ । २१ वर्षसम्म यसरी मध्यपृष्ठलाई सातापिच्छे आकर्षक किसिमबाट प्रस्तुत गरेर पनि साप्ताहिकले एउटा कीर्तिमान नै राखेको मान्नुपर्छ ।’

भूकम्पमा मध्यपृष्ठ
साप्ताहिकले आफ्नो २१ औं वर्षमा ५१ वटा ब्लोअप प्रकाशन गर्‍यो । वर्ष २१ को पहिलो अंक प्रकाशन गर्दा वैशाख १२ को भूकम्पले सारा नेपालीलाई त्रस्त पारेको थियो । भूकम्पपीडितहरूका लागि सकारात्मक सन्देश प्रवाह गर्ने र त्यसबाट त्रसित सबैमा ऊर्जा थप्ने हेतुले मध्यपृष्ठलाई कुनै तडकभडक बिना सामान्य किसिमबाट प्रस्तुत गरियो । भूकम्पबाट ध्वस्त बालमन्दिरको परिसरमा २०१२ की मिस नेपाल अर्थ नगमा श्रेष्ठ तथा २०१२ की मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले हातमा मैनबत्ती बालेको तस्बिर भरियो । भूकम्पपीडितहरूका लागि राहत वितरण एवं भूकम्पग्रस्त बस्तीका त्रस्त बालबालिकाहरूलाई सकारात्मक ढंगबाट सन्देश दिने काममा जुटेका यी दुई सुन्दरीको ब्लोअपले सकारात्मक प्रतिक्रिया पायो । त्यसपछिको अंकमा पाँच जना मोडलले हातमा हात समातेको मध्यपृष्ठको तस्बिरमा ‘पुनस्र्थापना र पुनर्निर्माणमा जुटौं, भूकम्पपीडितहरूलाई मन खोलेर सहयोग गरौं’ भन्ने नारा अंकित थियो । त्यसले पनि भूकम्पपीडितहरूको पक्षमा सकारात्मक सन्देश प्रवाह गरेको थियो । त्यतिबेला भूकम्पपीडितहरूका लागि अस्थायी घर–टहरा बनाउने कार्यमा जुटेका नायिका तथा मोडलहरू नन्दिता केसी, बेनिशा हमाल एवं प्रशंसा भट्टराईले एउटा अस्थायी टहरासामु हातमा निर्माण सामग्री बोकेर ‘पुन:स्थापना र पुनर्निर्माणमा जुटौं, भूकम्पपीडितहरूलाई मन खोलेर सहयोग गरौं’ भन्ने नारालाई सार्थक तुल्याउँदै दिएको पोजले पनि पीडितहरूलाई सहयोग गर्न खटेका सहयोगी मनहरूमा ऊर्जा थप्ने काम गर्‍यो । वर्ष २१ अंक ४ अर्थात् जेठ २२ गतेको अंकसम्म आइपुग्दा सहयोगी मनहरू भूकम्पग्रस्त क्षेत्रहरूमा पुग्न थालिसकेका थिए । नायिका शिल्पा पोखरेल पनि हङकङबाट आएका दुई युवा निर्मल श्रेष्ठ र सुरज गुरुङहरूको पहलमा सिन्धुपाल्चोकको दुर्गम गाउँ कर्थलीमा निर्माण भएको घर–टहरा तथा बालउद्यानको हस्तान्तरण कार्यक्रममा पुगेकी थिइन् । साप्ताहिकका फोटोग्राफर महेश प्रधानले ‘प्रे फोर नेपाल’ अंकित टिसर्ट लगाएकी शिल्पालाई कर्थलीको बालउद्यानमा आफ्नो क्यामेरामा कैद गरे र त्यसपछिको अंकको मध्यपृष्ठमा उक्त तस्बिरले स्थान पायो ।
उत्कृष्ट ब्लोअप सुन्दरी
वर्ष २१ को ५१ हप्ताभरिमा कुल ३७ वटा सिंगल ब्लोअप प्रकाशित भए । ती ३७ जनाको ब्लोअपमा पाठकबाट प्राप्त एसएमएस मत तथा फेसबुक लाइकका आधारमा उत्कृष्ट २८ वटा ब्लोअपको सर्ट लिस्टिङ गरियो । उत्कृष्ट २८ बाट उत्कृष्ट १२ छनौट गर्न ९ जना निर्णायकको सहयोग लिइयो, जसमा चलचित्र निर्देशक तथा हिमालय टेलिभिजनका सिइओ नारायण पुरी, कायरा बुटिककी सञ्चालक तथा फेसन डिजाइनर रोजिना श्रेष्ठ, युवा फोटोग्राफर तथा छायांकार राजन काफ्ले, टेलिभिजन तथा रेडियो कार्यक्रम सञ्चालक राज श्रेष्ठ, कानुन व्यवसायी तथा टेलिभिजन कलाकार कृष्ण ढुंगाना, पलेँटी म्युजिकल क्याफेका सञ्चालक तथा गीतकार किशोर घिमिरे, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्मा एवं गीतकार तथा भ्वाइस अफ नेपाल उपाधिबाट विभूषित रेडियोकर्मी नरेश भट्टराई थिए । निर्णायकहरूको मतका आधारमा यो वर्ष चलचित्र ‘रामप्यारी’बाट थप चर्चा पाएकी नायिका रेखा थापाको ‘रामप्यारी पोज’ सबैभन्दा बढी मत पाएर सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

निर्णायकहरूकै मतका आधारमा वर्ष २१ का १२ उत्कृष्ट ब्लोअप पनि छनौट भएका छन् । त्यसअनुसार नम्बर २ देखि १२ सम्म क्रमश: कुबेर तामाङद्वारा खिचिएको असार महिनाको रोपाइँमा आधारित नायिका बेनिशा हमाल, महेश प्रधानले खिचेका केकी अधिकारीको रोमान्टिक पोज, मिस नेपाल २०१६ अस्मी श्रेष्ठको स्टाइल, महेश प्रधानले नै खिचेको नायिका नीता ढुंगानाको पोज, साउनमा लगाइने मेहन्दीको कन्सेप्टमा महेश प्रधानले खिचेको नायिका वर्षा राउतको पोज, महेश प्रधानले नै खिचेको मिस नेपाल २०१५ इभाना मानन्धरको स्टाइल, तीजको पहिरनमा खिचिएको मोडल तथा नायिका अकेशा विष्टको पोज, पोखराकी मोडल अञ्जना दासको ग्ल्यामर फोटोग्राफर सुरज श्रेष्ठले खिचेको आकर्षक स्टाइल, सुरज श्रेष्ठले नै खिचेको मोडल वर्षा श्रेष्ठको ग्ल्यामरस पोज, महेश प्रधानले खिचेको मोडल सरिना स्थापित तथा अर्की मोडल बिपना थापाको पोज परेका छन् ।
१. रेखा थापा / तस्बिर : महेश प्रधान

नायिका रेखा थापाले विगत डेढ दशकदेखि नेपाली चलचित्रमा एकछत्र राज गरिरहेकी छिन् । उनले बोलेका हरेक भनाइ वा उनले गरेका हरेक क्रियाकलाप समाचार वा गसिप बन्ने गरेका छन् । वर्ष ०७२ को अन्तिम साता रेखाले आफ्नै होम प्रोडक्सनमार्फत चलचित्र ‘रामप्यारी’ प्रदर्शनमा ल्याइन् । चलचित्र ‘रामप्यारी’ प्रदर्शन भएर चर्चा आउनुभन्दा पनि रेखाले निर्माण गरेको चलचित्रका रुपमा यसको बढी चर्चा भयो । चलचित्र ‘रामप्यारी’मा नायिका रेखा थापा विद्युतीय रिक्सा तथा टेम्पो चालकको भूमिकामा छिन् । रामप्यारी प्रदर्शनको केही साताअघि साप्ताहिकका फोटोग्राफर महेश प्रधानले रेखाको एउटा फोटोसुट गरे । उक्त तस्बिर साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित भएपछि पाठकहरूको एसएमएस भोट पनि उनकै आयो । उक्त ब्लोअपलाई ८६ प्रतिशत पाठकले राम्रो भनेका थिए । त्यही आधारमा प्रारम्भिक छनौटमा परेको उनको ब्लोअपलाई ९ जना निर्णायकको समूहले पनि सबैभन्दा राम्रो मान्यो र रेखाको सुन्दरताले पहिलो स्थान ओगट्यो । यस विषयमा जानकारी गराउँदा रेखाले भनिन्– ‘साप्ताहिकले मेरो हरेक पाइलामा साथ दिएको छ । यसरी वर्षभरिका ब्लोअपमध्ये मेरो तस्बिरले पहिलो स्थान पाउँदा खुसी लाग्नु स्वभाविक हो । त्यसमा पनि म त्यति राम्रो तस्बिर खिच्ने महेश दाइ तथा मध्यपृष्ठमा स्थान दिने साप्ताहिकको सम्पादकीय समूहलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु 

२. बेनिशा हमाल / तस्बिर : कुबेर तामाङ

असार महिनामा पानी परेपछि कृषकहरू खेतमा धान रोप्न व्यस्त हुन्छन् । यतिबेला खेतमा हिलो खेल्दै धान रोप्दाको क्षण निकै रमाइलो हुन्छ । त्यही रमाइलोलाई फोटोग्राफर कुबेर तामाङले क्यामेरामा कैद गरे । चौबन्दी चोलो र फरिया लगाएकी नायिका बेनिशा हमाल खेतमा धानका बेर्ना हातमा लिई रमाइलो गरिरहेको मुडमा फोटोग्राफर तामाङले खिचेको उक्त तस्बिरले ब्लोअप सुन्दरीहरूको यो प्रतिस्पर्धामा दोस्रो स्थान ओगट्यो । 

३. केकी अधिकारी / तस्बिर : महेश प्रधान 

नायिका केकी अधिकारीलाई छोटो वानपिस वा स्कर्ट निकै सुहाउँछ । उक्त पहिरनमा उनी फुर्तिली र फरासिली देखिन्छिन् । फोटोग्राफर महेश प्रधानले त्यस्तै पहिरनमा खिचेको केकीको तस्बिर पाठकहरूले मात्र होइन, निर्णायकहरूले पनि मन पराए । त्यसैले उक्त तस्बिर तेस्रो स्थान ओगट्न सफल भयो । 
४. अस्मी श्रेष्ठ / तस्बिर : महेश प्रधान

यो वर्षको मिस नेपाल भएलगत्तै साप्ताहिकका लागि अस्मी श्रेष्ठको फोटोसुट गरियो । मिस नेपाल प्रतियोगितासम्बन्धी विस्तृत विवरणसहित उक्त अंकको मध्यपृष्ठमा श्रेष्ठका तीनवटा पोज समाविष्ट थिए । ती तीनवटा पोजमा उनले तीनजना डिजाइनरले डिजाइन गरेको पहिरन लगाएकी थिइन् । पाँचतारे होटल डेला अन्नपूर्णको सुन्दर परिसरमा क्यामेरामा कैद गरिएका मिस नेपाल–२०१६ का स्टाइलले चौथो स्थान ओगटे । 

४. अस्मी श्रेष्ठ / तस्बिर : महेश प्रधान

यो वर्षको मिस नेपाल भएलगत्तै साप्ताहिकका लागि अस्मी श्रेष्ठको फोटोसुट गरियो । मिस नेपाल प्रतियोगितासम्बन्धी विस्तृत विवरणसहित उक्त अंकको मध्यपृष्ठमा श्रेष्ठका तीनवटा पोज समाविष्ट थिए । ती तीनवटा पोजमा उनले तीनजना डिजाइनरले डिजाइन गरेको पहिरन लगाएकी थिइन् । पाँचतारे होटल डेला अन्नपूर्णको सुन्दर परिसरमा क्यामेरामा कैद गरिएका मिस नेपाल–२०१६ का स्टाइलले चौथो स्थान ओगटे । 

५. नीता ढुंगाना / तस्बिर : महेश प्रधान

नायिका नीता ढुंगाना अभिनीत चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शनको सँघारमा थियो । नीताले साप्ताहिकका लागि हातमा फूलको गुच्छा लिएर तस्बिर खिचाउने इच्छा व्यक्त गरिन् । पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको रमणीय बगैंचामा फोटोग्राफर महेश प्रधानले उनको सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गरे । आईएएएफ डिजाइन स्टुडियोको पहिरन तथा नन्दा अधिकारीको केशविन्यास एवं श्रृंगार कलाले सिंगारिकी नीता तस्बिरमा अझ सुन्दर देखिइन् । उनका ती पोजले निर्णायकको नजरमा पाँचौं स्थान प्राप्त गरे । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects