विदेशी बजारमा नेपाली चेली

सेक्स अर्थात् यौन मानव सभ्यताको उत्थान भएयता चासोको विषय मात्र भएको छैन, अर्थशास्त्रसँग जोडिएको व्यापारका रूपमा विकसित हुँदै गएको छ । पौराणिक कालमा रचिएका आख्यानहरूमा वर्णन गरिएका यौन दासीको परिभाषा अहिलेसम्म पनि परिवर्तन भएको छैन । आधुनिककालमा आएर यसले बृहत् बजारको रूप लिएको छ ।

स्त्रीको यौनलाई पुरुषप्रधान समाजले बजारीकरण गर्ने गरेको छ । यसमा पछिल्लो समयमा स्वेच्छाले कुनै पुरुषसँग सेक्स गर्ने र आफ्नो शरीर आफैं प्रयोग गरेर आर्थिक उपार्जन गर्ने आधुनिक विचार बलियो हुँदै आएको छ । यद्यपि यही विचारको ठीकविपरीत मर्दवादी सोचले महिलाहरूलाई प्रयोग गरेर कालो धन कमाउने काम पनि गरिरहेकै छ । भारतलगायत विदेशी यौन बजारमा नेपाली युवतीहरूको माग अत्यधिक भएको समाचार बेला–बेलामा नआएका होइनन् । पछिल्लो समयमा दलालहरू नयाँ–नयाँ शैलीमा सक्रिय हुनुले यो तथ्यलाई थप पुष्टि गरेको छ ।

फ्रान्सकी विश्व प्रसिद्ध दार्शनिक सिमोन द बोआर, भारतकी प्रभा खेतानहरूले महिलाले आफ्नो शरीरको मालिक हुन पाउनुपर्छ भनेर गरेको वकालतलाई गलत सावित गर्न खोज्ने आधुनिक पुरुषहरू महिलालाई फन्दामा पारेर यौनको कालो बजारमा बिक्री गर्न र स्त्रीदेहको आनन्द लिन लालायित देखिन्छ । यसैको पछिल्लो परिणाम हो नेपालमा गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि स्त्रीयौन बजारका एजेन्टहरू उत्साहित भएर नेपाली युवतीहरूलाई सीमा कटाउने कामको तीव्रता ।

झट्ट विश्लेषण गर्दा गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र यौन बजार तथा मानव तस्करीको सोझो सम्बन्ध देखिँदैन, तर गहिरो गरी समाजशास्त्रीय विश्लेषण गर्दै भित्रसम्म पस्दा दलालहरूले अविकसित नेपालमा भूकम्पको विनाशलाई युवतीहरूलाई झुक्याएर आशा, भरोसा, लोभ लालच देखाएर यौन बजारमा पुर्‍याउने ‘बम्पर उपहार’ का रूपमा लिएको देखिन्छ ।

मानसिक, शारीरिक, भौतिक रूपमा तहसनहस पारेको अवस्थामा अशिक्षित, बेरोजगार समुदायका १० देखि ४० वर्ष उमेरका महिलाहरूलाई विभिन्न यौन बजारमा बिक्री गरेर पैसा कमाउने धन्दा बनाइएको छ ।

भूकम्प प्रभावित जिल्लाका निरीह नेपालीहरू अझै पनि पालमा गुजारा चलाइरहेको अवस्थामा खोक्रो सहानुभूति एवं नक्कली प्रेम प्रदर्शन गर्दै सहयोगको आश्वासन दिएर ‘सहयोग र उद्धार’ गर्ने वहानामा सयौं चेलीबेटी सीमाना कटाइन्छन् ।

भूकम्पले जनधनको कति क्षति गर्‍यो भनेर ठ्याक्क तथ्यगत हिसाब हालसम्म पनि सरकारले सार्वजनिक गर्न सकेको छैन । मोटामोटी रूपमा सरकारले दिएको सूचनाका आधारमा भन्नुपर्दा भूकम्पले ९ हजारको ज्यान लियो । २८ हजार घाइते भए, २८ लाख मानिस विस्थापित भए भने ६ लाख मानिस बेघर भएका छन् । यस्तो अवस्थामा रोजगारी दिने, राम्रो काम दिलाइ दिने भनेर जो–कोहीले राखेको प्रस्ताव तत्काल स्वीकार गर्दै खण्डहर बनेको गाउँ छाड्न बाध्य हुनु कुनै अनौठो कुरा पनि होइन ।
संयुक्त राष्ट्र जनसंख्या कोषलाई मान्ने हो भने नेपालमा २० लाख महिला तथा युवती भूकम्पपछि असुरक्षित अवस्था छन् । तीमध्ये पनि १४ लाख महिला भीडले भरिएको अस्थायी पालको शिविरमा जीवनको सपना साँचेर बसेका छन् ।

महत्वपूर्ण कुरा त करिब २८ हजार युवतीले भूकम्पमा आफ्नो परिवार गुमाएका छन् । परिवार गुमाएर आफन्तविहीन भएपछि आश्रयको खोजीमा भौतारि रहेको अवस्थामा यौनबजारका दलालहरूको पापी नजर उनीहरूमा सोझिएको छ । भूकम्पपछि सबैभन्दा बढी जोखिममा तिनै २८ हजार युवती छन् । उनीहरू कुनै पनि बेला यौन शोषणमा पर्ने, यौन बजारका दलालको तस्करी गर्ने ‘माल’ मा परिणत हुन सक्ने अवस्था छ ।

भूकम्प प्रभावित क्षेत्रमात्र होइन, राजनीतिक कारणले पनि मुलुकको ७५ वटै जिल्ला अस्थिर भएको छ । भूकम्पसँगैको अस्थिरताको मौकामा दलालहरू मानसिक, शारीरिक, आर्थिक रूपमै अति कमजोर अवस्थामा पुगेका युवतीहरूलाई लक्षित गरेर यौन बजारमा धकेल्न अनेक उपाय लिएर आउने तथ्य क्रमश: सार्वजनिक हुँदै आएका छन् ।

चेलीबेटी बेचबिखन हतियार र लागूपदार्थको कारोबारभन्दा तीव्र गतिमा अघि बढेको छ । दलाल तस्करहरू नेपाली चेलीहरूलाई विभिन्न मुलुकको यौन बजारमा बेच्न र सस्तो श्रमका लागि महिलाहरूलाई प्रयोग गरिरहेका छन् । तथापि ती दलालहरू कानुनको फन्दाबाट जोगिइरहेका छन् । तिनीहरूलाई पक्राउ गरेर कारबाही चलाउन राजनैतिक इच्छाशक्तिको आवश्यकता छ ।

नेपाली चेलीहरू भारतीय यौनबजारमा मात्र बेचिएका छैनन् । नेपालका लागि मानव तस्करी कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै अमेरिकी विदेश विभागले मानव तस्करीको रिपोर्ट ‘टिआईपी’मा भनेको छ, ‘प्रत्येक वर्ष १५ हजार युवती नेपालबाट बेचिन्छन् ।’ नेपाली चेलीहरू पछिल्लो समयमा पश्चिम एसिया र चिन तिर तस्करी हुन थालेको पनि सञ्चारमाध्यमहरूमा सार्वजनिक हुन थालेका छन् ।

नेपालबाट आदिवासी जनजाति अनुहार भएका १० वर्ष उमेरदेखि ४० वर्षका महिलालाई यौन बजारका दलालहरूले फकाएर बेच्ने गरेको कुरा एकपछि अर्को गर्दै खुलासा हुँदै आएको छ । बास्तवमा भन्ने हो भने नेपालका लाखौं मानिस भूकम्पपछि केवल बाँच्नलाई मात्र बाँचेका छन् । उनीहरूसँग अहिले पनि कुनै विकल्प छैन । यस्तै युवतीहरूलाई यौन बजारका तस्करहरूले सजिलै फन्दामा पार्ने गरेका छन् ।

लखनउमा मानव तस्करीको विरुद्ध नइ आशा नामक गैरसकारी संस्था सञ्चालन गर्दै आएकी विनितालाई उदृत गर्दै केही अघि प्रकाशित इन्डिया टुडेमा भनिएको छ, ‘भूकम्पपछि नेपालमा राहत पुग्न थाल्यो तर केही साताभित्रै लखनउमा नेपालबाट आएका नेपाली चेलीहरूको संख्या अचानक बढ्यो ।’ अर्थात भारतको स्थानीय बजार, संस्था, व्यक्तिहरूबाट राहत त आयो तर राहतसँगै युवती तस्करी गर्ने दलालहरू पनि आए ।

तस्करहरू भूकम्प प्रभावित गाउँ पुगेपछि त्यहाँबाट युवतीहरूलाई अनेक प्रलोभन देखाएर सीमा सहरसम्म ल्याउने गरेका छन् । त्यहाँबाट रोजगारीको आकर्षण देखाएर भारतीय यौनबजारमा पुर्‍याउँछन् । सीमामा कसैले सोधे दलालहरूले दिने अनेक रेडिमेड उत्तर तयार छन् । ‘मेरो नातेदार भतिजी’ ‘भारतमा घुम्न जान लागेको’ आदि ।

भारतसँगको खुला सीमाकै कारण कतिपय युवतीहरू दलालको फन्दामा परेर नारकीय जीवन बिताउन बाध्य छन् र त्यसलाई भूकम्पको विनाशले थप मलजल गरेको छ । चेलीबेटी तस्करीमाथि सोध अनुसन्धान गरेका राजस्थान विश्वविद्यालयमा विनोदकुमार भारद्वाजले भनेका छन्, ‘एउटै बाटोबाट तस्करहरू नियमित आवत–जावत गर्दा प्रहरी प्रसासनले शंका गर्ने हुँदा पर्यटकीय सिजनमा आधिकारिक सीमा नाका पनि प्रयोग गर्छन्, तर अरू बेला सुरक्षा नभएको खुला सीमाना प्रयोग गर्छन् । त्यतिबेला एउटा गिरोहले तस्कर गरेर ल्याएका युवतीलाई सहर पुर्‍याएर अर्को गिरोहको जिम्मा दिन्छ । तीमध्ये कतिपयलाई भारतीय बजारमै वेश्यावृत्तिमा धकेलिन्छ ।’

नेपालको पश्चिमी क्षेत्रबाट तस्करी हुने युवतीहरूलाई सुनौली गोरखपुरको रुटबाट कानपुर, लखनउ, बनारस, आगरा, दिल्लीजस्ता यौनबजारको ठूलो भीडमा पठाइने भारद्वाजले उल्लेख गरेका छन् । मध्यनेपालबाट तस्करी हुने युवतीलाई जोगवनी र विहारको रक्सौल हुँदै पटनाबाट मुम्बई पुर्‍याइन्छ । पूर्वी नाका काँकडभिट्टा–नक्सलबाढीबाट छिराइएका युवतीलाई ठाकुरगन्ज, सिलिगुडी, गुवाहाटी हुँदै सिलाङसम्म पुर्‍याइने गरेको छ ।

भारद्वाजले गरेको नेपाली चेलीबटी माथि हुने गरेको तस्करीको अनुसन्धान रिपोर्टलाई इन्डिया टुडेले आधिकारिकता दिँदै भनेको छ, ‘तस्करहरूलाई बाटोमा कुनै डर–त्रास हुँदैन । किनभने यो काम भारत र नेपालको सिमा सुरक्षा बलको सहमतिमा सञ्चालित भएको हुन्छ ।’ नेपालबाट तस्करी गरेर भारत पुर्‍याइएका आधाभन्दा बढीलाई स्थानीय यौन बजारमा बिक्री गरिन्छ भने बाँकीलाई दिल्ली, मुम्बई, चेन्नई तथा कोलकातामा बिक्री गरिन्छ । केहीलाई पश्चिम एसिया र मलेसियासम्म पठाइने भारद्धाजको अनुसन्धानले देखाएको छ ।

तस्करहरूले युवतीलाई अपवाद बाहेक सोझै अपहरण गर्दैनन् । गाउँमा युवतीका अभिभावकको मन जित्न दलालले ती अभिभावकलाई ख्वाउने, फकाउने काममा कम्तीमा १५ हजारदेखि २० हजार रुपैयाँ खर्च गर्छन् । त्यतिबेला बिचौलिया जो गाउँकै वा सामान्य चिने जानेका व्यक्ति हुन्छन् उसलाई पनि १५ देखि २० हजार रुपैयाँ दिने गरेका छन् । सीमा पार गर्न भरोसाको ट्याक्सी ड्राइभरलाई प्रति युवती ५ हजारदेखि १० हजार सवारी खर्च दिइन्छ । सीमा पार गरेपछि स्थानीय भारतीय यौन बजारमा ८० हजार रुपैयाँदेखि सवा लाख रुपैयाँमा बेच्ने प्रयास हुन्छ ।

एलाइन्स नइ आषालाई नेतृत्व गर्ने आशिष श्रीवास्तवले भनेका छन्– ‘यो अमानवीय व्यापारमा तस्करी गरिएका युवतीमा एचआईभी एड्स नभए, उसलाई बढी मारपिट नगरिए २० वर्ष पछि ऊ आफैं युवतीको नयाँ तस्कर बन्न पुग्छे ।’ सुनौली सीमामा रहेको थ्री एन्जेल्स नखपाल नामक गैर सरकारी संस्थाका प्रमुख दीपक भट्टका अनुसार भूकम्प अघि दैनिक ५–६ युवतीलाई मुक्त गर्ने गरेकोमा भूकम्पपछि पाँच गुणा बढेको छ ।

पछिल्लो समयमा युवती तस्कर गर्नेहरूमा युवतीहरू नै सहभागी हुने गरेका छन् । उनीहरू युवतीलाई भारतीय यौन बजारमा फसाउन फेसन, मोडलिङ, डान्सबार, ब्युटिपार्लरमा काम गरेर महिनाको ५० औं हजार रुपैयाँ कमाइ हुने जस्ता लोभ देखाउँछन् ।

भारतीय दलालहरूले नेपाली चेलीहरूलाई अब भारतीय बजारमा मात्र बिक्री नगरी पश्चिम एसिया, मलेसिया, हङकङ, जापान, दक्षिण कोरिया, अफ्रिकादेखि स्विडेनसम्म पुर्‍याएको पनि खुलासा हुन थालेको छ । पछिल्लो समयमा सिमा पार गर्न ट्याक्सी प्रयोगसँगै एयरपोर्टसमेत प्रयोग हुने गरेको छ । उनीहरूलाई भारतीय बजारमा पुर्‍याएपछि सोझै अन्य मुलुकमा बढी मूल्यमा बिक्री गर्न थालिएकोमा कसले चिन्ता लिने ?

मानव तस्कर वा चेलीबेटी बचबिखन जस्तो घृणित कारोवार गर्नेहरूलाई संरक्षण गर्ने, मानवीय मुल्य मान्यताको धज्जी उडाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पहल गर्न अधिकार सम्पन्न उच्च स्तरीयको आयोग किन नबनाउने ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects