माथिको तस्बीर हेर्नुहोस् ।एक बालकलाई उनकी आमाले लिइरहेकी छन् । उनको तस्बीर हेर्दा जो कोहिलाई स्तब्ध तुल्याउँछ ।
बालकको टाउको ठूलो छ । ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । यस अवधिमा बच्चाको तौल करिब पाँच वा छ केजीसम्मको हुनुपर्ने हुन्छ । तर उनको तौल दुई किलोग्राम ५०० ग्राम मात्र छ ।
बालक धादिङको जोगीमारा–७, धुसराङकी ४० वर्षीया विष्णुमाया चेपाङका छोरा हुन् । पाँच महिना जन्मिएका उनी कुपोषणको सिकार भएका हुन् ।
हुन पनि चेपाङको अवस्था निकै दयनीय रहेको छ । एकसरो लगाउने लुगा छैन । खानेकुरा सकिएको छ । ज्याला गरेर मात्र उनीहरुको परिवार पालिएको अवस्था छ ।
आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ । तर उसले आफ्नो दूध चुस्न नपाएकै कारण यस्तो अवस्था भएको चेपाङले बताइन् ।
नौ शिशु जन्माएकी विष्णुमायाका हाल पाँच शिशु मात्र जीवित छन । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको अनुभव विष्णुमायासँग छ ।
कुपोषणको सिकार भएका बालकको जिल्ला अस्पतालमा उपचार हुँदैछ अहिले । पोषणसम्बन्धी काम गर्ने संस्था एसडिपिसीको सहयोगमा उनको उपचार भइरहेको हो ।

No comments:
Post a Comment